
बैंकक- इजराइलमाथिको हमलामा हमासद्वारा बन्धक बनाइएका २२ थाई नागरिकका बारेमा कुराकानी गर्न थाइल्यान्डका विदेशमन्त्री पर्णप्री बहिद्धानुकारा कतार गएका छन्।
साथै उनले मंगलबार नै इजिप्टको पनि भ्रमण गर्ने कार्यक्रम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। इजराइली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा गाजापट्टीबाट हमासले इजराइलमा गरेको आक्रमणमा अधिकांश सर्वसाधारणसहित १ हजार ४ सयभन्दा बढी मानिस मारिएका छन्।
जवाफमा इजराइली सेनाले गाजामा हमला गरेको छ। हमलामा ३ हजारभन्दा बढी बालबालिकासहित ८ हजार ३ सय मानिस मारिएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो तथ्यांकअनुसार गाजामा हमासले २ सय ३० जनालाई बन्धक बनाएको छ। थाई विदेश मन्त्रालयका अनुसार तीमध्ये २२ जना थाई नागरिक हुन्। प्रधानमन्त्री श्रेथा थाभिसिनले सोमबार थाई नागरिकहरूलाई स्वदेश फर्काउन पहल गरिरहेको बताएका थिए।
उनले बुधबार इजिप्टका विदेशमन्त्रीसँग कुराकानी गर्नुअघि मंगलबार कतारका प्रधानमन्त्री र विदेशमन्त्रीसँग भेट्नका लागि विदेशमन्त्री पर्णप्रीलाई कतार पठाएका हुन्। पर्णप्रीले इजराइल र गाजामा जारी हिंसाका कारण बन्धक बनाइएका थाई नागरिकको स्थितिबारे कुराकानी गर्ने विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ।
द्वन्द्व सुरु हुँदा इजराइलमा करिब ३० हजार थाईले काम गरिरहेका थिए। तीमध्ये अधिकांश कृषि क्षेत्रमा संलग्न थिए। मन्त्रालयका अनुसार द्वन्द्वमा कम्तीमा ३२ थाई नागरिकको मृत्यु र १९ जना घाइते भएका छन्। रासस/एएफपी