काठमाडौँ– चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको ६८ वर्षको उमेरमा निधन भएको छ। चिनियाँ सञ्चारमाध्यमले उनलाई हृदयाघात भएको र उपचारका क्रममा निधन भएको जनाएका छन्। चिनियाँ टेलिभिजन सीसीटीभीका अनुसार उनलाई बिहीबार मध्यरातमा हृदयाघात भएको थियो।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वालेले पनि लीलाई बिहीबार राति अचानक हृदयाघात भएको र शुक्रबार बिहान उज्यालो हुनुअघि नै निधन भएको जनाएको छ। ६८ वर्षीय नेता ली गत मार्चमा प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा भएका थिए। उनी नेपालको निकट मित्र थिए।
राष्ट्रपति सी चिनफिङपछि सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाका दोस्रो वरीयतामा रहेका ली पछिल्लो समय सांघाईमा बस्थे। सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका उनले चिनियाँ क्याबिनेटको स्टेट काउन्सिल प्रमुख रहेर पनि काम गरेका थिए।