इटहरी– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोजाग्रत पूर्णिमापछि कोशी प्रदेशमा नयाँ समीकरणअनुसार राजनीतिक गतिविधि अघि बढ्ने बताएका छन्। बडादसैँ, तिहार र छठ पर्वका उपलक्ष्यमा विराटनगरमा शुक्रबार आयोजना गरिएको एक कार्यक्रममा सम्बोधन गर्दै कोइरालाले उक्त कुरा बताएका हुन्।
नेता कोइरालाले नयाँ समीकरणका बारेमा थप केही बताएनन्। कोशीमा हालै कांग्रेस नेता कोइरालाको पहलमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेका छन्। केन्द्रमा माओवादी, काग्रेस, नेकपा एकीकृत समाजवादी गठबन्धन भए पनि कोशीमा कांग्रेसको कोइराला समूह र एमालेबाट सरकार गठन भएको छ। यद्यपि मुख्यमन्त्री कार्कीलाई कांग्रेस, माओवादी, एमालेलगायत अधिकांश दलले विश्वासको मत दिएका छन्।
नेता कोइरालाले कोशी प्रदेशको संसदीय अंकगणित फरक भएकाले फरक समीकरण बनाएर सरकार गठन गरिएको स्पष्ट पारे। उनले भने, ‘कोशी प्रदेशको स्थिति अन्य प्रदेशमा आउँदैन। कोजाग्रत पूर्णिमापछि कोशी प्रदेशमा नयाँ समीकरणअनुसार राजनीतिक गतिविधि अघि बढ्नेछ।’
यसैगरी कोइरालाले सरकार प्रमुखबाट जातीय द्वन्द्व निम्त्याउने प्रयास हुनु गलत भएको टिप्पणी गरे। ‘जातीय र धार्मिक सद्भाव बिथोल्ने प्रयास भइरहेको छ। मुलुक जातीय द्वन्द्वमा फस्यो भने मुलुकको अस्तित्व नै समाप्त हुनेछ। यसमा राजनीतिक दलका नेताहरू संवेदनशील र सचेत हुनुपर्छ।’ कोइरालाले जातीय राज्य कुनै पनि हालतमा सम्भव नभएको स्पष्ट पार्दै मुलुकका प्रधानमन्त्रीबाट जातीय राज्यको आश्वासन आउनु गलत भएको बताए।