झापाका सुवास राजवंशी दुई वर्षअघि वैदेशिक रोजगारीमा साउदी अरब पुगेका हुन्। नेपालमा बीबीएको पढाइ पूरा गरेका उनी त्यहाँ ‘फायर फाइटर’ का रूपमा कार्यरत छन्।
२७ वर्षीय उनले परदेशमा दोस्रो दसैँ मनाउँदै छन्। दसैँ नजिकिन थालेदेखि नै घरको यादले सताउन थालेको उनले बताए। ‘यहाँको दसैँ नि के दसैँ!’ उनी भन्छन्, ‘आफ्नो घरमा भए टीका, जमरा लगाइन्थ्यो। मिठोमसिनो खाइन्थ्यो। यहाँको दसैँ त रुक्खासुक्खा पो हुँदो रहेछ।’
पोहोर दसैँका दिन उनको ड्युटी परेको थियो। ‘ड्युटीमा गएँ, आएँ, आफैँ चिकेन पकाएँ अनि खाएँ,’ उनी सुनाउँछन्, ‘यत्ति हो पोहोरको दसैँ।’
यसपालिको दसैँ पनि त्यस्तै भइरहेको उनले सुनाए। नेपालमा दसैँ मनाइरहँदा उनी निओम स्मार्ट सिटी निर्माण साइटमा ड्युटीमा खटिएका छन्। ‘आइसल्यान्डको बास छ,’ उनी सुनाउँछन्, ‘पानीजहाजमा ओहोरदोहोर हुन्छ। भुइँ नटेकेकोपनि कति भइसक्यो। एक दिन ड्युटी एक दिन बिदा। यसपटकको दसैँ झन् सुनसान भइरहेको छ।’
मास्टर्स अफ प्रोफेसनल अकाउन्टिङ पढन् सिड्नी अस्ट्रेलिया पुगेका सुमित सुवेदी पहिलोपटक घरबाट टाढा दसैँ मनाउँदैछन्। ‘ओहो दसैँ आई पो सक्यो है!’ उनी भन्छन्, ‘यहाँ त दसैँ आको–गको थाहै नहुने रैछ। नेपालको जस्तो आनन्दको जीवन नहुने रहेछ यहाँ। जतिखेर नि व्यस्त भइन्छ।’
पढाइ र कामले गर्दा आफूलाई फुर्सदै नहुने उनी बताउँछन्। ‘आफ्नो बारेमा सोच्ने समयसमेत हुँदैन,’ उनी भन्छन्, ‘दसैँमा झन् बिदा पाइएला भन्ने त नसोचे नि भयो।’
सिड्नीमा आफ्ना दाइसँग बस्छन् उनी। केही आफन्त पनि सिड्नीमै छन्। ‘दसैँ मंगलबार परेको रहेछ। त्यो दिन त काममा जानुपर्छ,’ उनी सुनाउँछन्, ‘दाइसँग बस्छु। कामबाट फर्केर दाइको हातबाट टीका लगाउँछु।’ त्यसको भोलिपल्ट बिदा भएकाले अरू आफन्तबाट टीका थापेर, रमाइलो गरेर दसैँ मनाउने उनी बताउँछन्।
भारतको एसियन कलेज अफ जर्नालिज्ममा पत्रकारितासम्बन्धी पढाइका लागि चेन्नई पुगेकी छन्, सिर्जना खड्का। उनी पनि पहिलोपटक दसैँमा परदेशमा छिन्।
‘यसपालि दसैँ यही मनाइन्छ,’ उनी भन्छिन्, ‘त्यो पनि दिनभर पढेर।’ दसैँ टीकाका दिन आफ्नो दिनभर क्लास रहेको उनी बताउँछिन्।
‘घर एकदमै मिस गर्नेछु,’ उनी सुनाउँछिन्, ‘दसैँमा पहिलोपटक परदेशमा छु। न्यास्रो त लाग्ने नै भयो।’ एक जना नेपाली साथीसँग मम खाएर दसैँ ‘सेलिब्रेट’ गर्ने उनको योजना छ।
अमेरिकाको कोलोराडोमा बस्दै आएका विमल अधिकारी दसैँ सधैँ खल्लो हुने बताउँछन्। मनाए पनि बनावटीजस्तो मात्रै हुने उनको अनुभव छ। उनी भन्छन्, ‘काममा जाँदा टीका पुछ्नुपर्छ र जमरा मिल्काउनुपर्छ। अनि यति ठूलो चाडमा पनि काममा जानुपर्दा नमज्जा आउँछ।’
यस्तो पीडा परदेशमा रहेका सबैले भोग्दै आए पनि व्यक्त नगर्ने अधिकारी बताउँछन्। उनी भन्छन्, ‘दसैँका बेला फोनमा आमासँग कुरा गर्दाचाहिँ आँसु थाम्न नसकिँदो रहेछ।’ अधिकांशले फेसबुकमा राख्नका लागि मात्रै तस्बिर खिच्ने गरेको उनी बताउँछन्। छुट्टीको व्यवस्था पहिले नगर्दा समस्या हुने उनको बुझाइ छ।
कतिपय अवस्थामा नेपालबाट आफन्त दसैँ मनाउन अमेरिका पुग्छन् तर त्यहाँ रहेका आफन्त काममा व्यस्त हुँदा नेपालबाट गएकाहरू नै निराश हुने गरेको दृष्टान्त विमल सुनाउँछन्। उनी भन्छन्, ‘एउटा परिवार नेपालबाट आएर यहाँ बसेको सात वर्ष भएछ। घर किनेछन्। घर पनि हेरूँ दसैँ पनि मनाऊँ भनेर उनका सासूससुरा यता आए। तर दसैँका बेला ज्वाइँको बिदा नमिलेपछि सासूससुरा उदास बनेर फर्किएका थिए।’ यस्ता धेरै उदाहरण देखेका छन् अधिकारीले।
नेपाली मात्र कामदार हुने स्टोरमा यस्तो समस्या धेरै रहेको अधिकारी सुनाउँछन्।
दसैँका बेला नेपाली अभिभाककले बालबालिकालाई स्कुल पठाउँदैनन्। अनि स्कुलबाट फोन आएपछि हाम्रो ठूलो चाड हो भनेर स्पष्टीकरण दिने गरिएको अधिकारीले बताए।
यस्तै कुनै चिनजानका नेपालीलाई नाता लागेका मानिस महसुस गर्नुपर्ने अवस्था रहेको उनी सुनाउँछन्। उनी भन्छन्, ‘टीका लगाउन गएमा खुसी हुने गर्छन् नाता नपरे पनि थर एक भए पनि नभए पनि।’