नेपालमा एक शताब्दीभन्दा बढी समयसम्म चलेको राणाकालीन प्रशासनमा चाकडी, दाम राख्ने, दर्शन र वार्षिक पजनीजस्ता शब्द र व्यवहार निकै प्रचलित थिए। राणाकालीन प्रशासनमा कुनै पनि जागिरमा नियुक्त हुनासाथ दर्शनका लागि शासकसमक्ष पुग्ने र दाम राखेर ढोग्ने प्रचलन थियो। दाम राखेर ढोगेपछि मात्र जागिरको वैधानिकता कायम हुन्थ्यो। त्यस्तै नियमित रूपमा विहान बेलुका चाकरीका लागि शासकसमक्ष पुग्नै पर्दथ्यो। अर्को व्यवस्था वार्षिक पजनीको थियो। राजाबाट श्री ३ महाराज र प्रधानमन्त्रीको र श्री ३ महाराजबाट कमान्डर इन चिफसहितका अन्य सबै कर्मचारीको पजनी हुन्थ्यो। उनीहरुको जागिर रहने नरहने भन्ने त्यही पजनीमा थाहा हुन्थ्यो। यहाँ दसैँमा टीका सलामी दर्शनको दाम पठाउने चलनका बारेमा छोटो चर्चा गरिएको छ।
बडादसैँ हामी नेपालीको सबैभन्दा ठूलो चाड हो। राणाकालीन समयमा संसारको एकमात्र हिन्दू अधिराज्य नेपालमा यसको महत्त्व र रौनक अझ बढी थियो। उतिबेला पनि सबै चाडपर्व मनाउने ध्याउन्नमा हुन्थे। नेपाल भ्रमण गर्न चाहने विदेशीलाई पनि यो समयमा स्वागत गर्ने चलन थिएन।
राणाकालमा श्री ३ महाराज एवं प्रधानमन्त्रीलाई बडादसैँको अवसरमा टीकाको दर्शन एवं सलामी पठाउने प्रचलन थियो। पहिलेपहिले नेपाली कागजमा लेखिने त्यस्ता पत्रमा सिक्का टाँसेर पठाइन्थ्यो। पछिपछि भने सिक्का टाँस्न छाडेर त्यसको सट्टा एक रुपैयाँ बराबरको हुलाक टिकट टाँसेर पठाउन थालिएको थियो। विभिन्न माल, जिल्ला, गढी गोश्वारामा खटिएका कर्मचारीले समेत प्रधानमन्त्रीलाई यस्तै सलामी दर्शन भेट पठाउने गर्दथे।
सन् १८८५ मा राणा शासन व्यवस्थामा शमशेर खलकको उदयपछि भारततिर निर्वासित भएका जंगसन्तानले समेत उतैबाट नेपालमा प्रधानमन्त्रीलाई यस्तै दसैँ टीका सलामी पठाउँथे। पछि चन्द्रशमशेरको समयमा भारततर्फ निर्वासित उनका दुई दाजुहरु देवशमशेर र खड्गशमशेरले नेपालमा प्रधानमन्त्रीलाई (भाइ भएकाले) दसैँको आशीर्वादको पत्र पठाएका थिए।
आशीर्वादका पत्रमा भने दाम टाँसेको हुँदैनथ्यो। देवशमशेर र खड्गशमशेरका सन्तानले पनि भारतबाट काठमाडौँमा प्रधानमन्त्रीलाई दाम टाँसेर दसैँ टीका सलामी पठाउँथे। कलकत्ता र ल्हासामा रहने नेपाली वकिल (दूत) हरूले पनि दाम टाँसेर प्रधानमन्त्रीलाई दसैँ टीका सलामी पठाउँदा रहेछन्।
वीरशमशेरको शासनकालमा वि.सं. १९५३ मा खरिदार मेहरमानले प्रधानमन्त्री वीरशमशेरलाई पठाएको यस्तै दाम टाँसेको दसैँ टीका सलामीको पत्र फेला परेको छ। यस पत्रबाट खरिदार मेहरमानको हुन् र उनले आफू कार्यरत कुन ठाउँ र अड्डाबाट यो पत्र पठाए भन्नेचाहिँ खुल्दैन। पत्रमा एउटा सिक्का टाँसिएको ठाउँमा त्यसको छाप भने देख्न सकिन्छ। उनको पत्रमा यस्तो लेखिएको छ :
श्री
बिन्तीपत्र
उप्रान्त महाराज धर्म अवतार करुणानिधान सरकारका गाथ सदा आराम रहिबक्स्या गुलाम् को प्रतिपाल उद्धार होला बडादसैँको टीकाको दर्शनी कम्पनी रु. १ यसै बिन्तीपत्रसाथ चढाई पठायाको छु हरफमा तलमाथि पर्याको माफ पाउनाको आधारमा छु जो हुकुम।
इतगुलाम खरिदार मेहरमानको
कोटि कोटि कुर्णेस कुर्णेस
इतिसम्वत् १९५४ साल मिति कार्तिक सुदी ८ रोज ३ शुभम्।