त्रिदेशीय टी-२० सिरिज

हङकङलाई हराउँदै नेपाल फाइनलमा

हिमाल प्रेस ४ कार्तिक २०८० १५:०५ | Saturday, October 21, 2023
हङकङलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौँ- त्रिदेशीय टी-२० सिरिजअन्तर्गत शनिबार भएको खेलमा नेपाल हङकङलाई पराजित गर्दै फाइनलमा पुगेको छ। मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गर्दै एक खेलअगावै फाइनलमा पुगेको हो।

नेपालले यसअघि भएको पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको थियो भने दोस्रो खेलमा हङकङलाई नै ६ विकेटले पराजित गरेको थियो। नेपालले हङकङलाई जितका लागि दुई सय १४ रनको लक्ष्य दिएको थियो। जवाफमा हङकङले निर्धारित २० ओभरमा आठ विकेटका क्षतिमा एक सय ३४ रनमा मात्रै बनाउन सक्यो। हङकङका लागि अंशुमन रथले सर्वाधिक ४५ रनको योगदान दिए। त्यस्तै बाबर हायात २० तथा एजाज खानले २५ रन जोडे।

नेपालका लागि सोमपाल कामी, करण केसी र ललित राजवंशीले समान २-२ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी र प्रतिश जीसीले समान १-१ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय १३ रन बनाएको थियो। नेपालका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए। कुशलले ४१ ब्लमा तीन चौका र नौ छक्काको सहयोगमा ९२ रन बनाए। त्यस्तै दीपेन्द्रले ३४ बलमा छ चौका र दुई छक्काको मद्दतमा ५७ रन बनाए। कुशल मल्ल र दीपेन्द्रले एक सय ४५ रनको साझेदारी गरेका थिए। त्यसैगरी आसिफ सेखले २० रन बनाए भने कप्तान रोहितकुमार पौडेलले ११ रन बनाए।

हङकङका लागि मोहमद घजन्फरले दुई विकेट लिए भने आयुष शुक्ला, हरुन अर्षद र एजाज खानले समान एकएक विकेट लिए। अब नेपालले असोज ६ गते यूएईसँग खेल्नेछ।

प्रकाशित: ४ कार्तिक २०८० १५:०५ | Saturday, October 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast