काठमाडौँ- ओपनरद्वय डेभिड वारनर र मिचेल मार्सले शतक प्रहार गरेपछि अस्ट्रेलियाले विश्वकप क्रिकेटमा पाकिस्तानलाई ६२ रनले पराजित गरेको छ। शुक्रबार राति भारतको बेंग्लोरस्थित एम चिन्नास्वामी रंगशालामा विजयी टिमका लागि वारनरले १६३ र मार्सले १२१ रन बनाए।
दुई ओपनरले उत्कृष्ट सुरुवात दिलाएपछि अस्ट्रेलियाले नौ रनको क्षतिमा ३६७ रनको योगफल तयार पारेको थियो। टस जितेर फिल्डिङ रोजेको पाकिस्तान ३०५ रनमा सीमित भयो।
अस्ट्रेलियाविरुद्ध पाकिस्तानले खराब बलिङ र फिल्डिङ गर्यो। १० रन बनाएको स्थितिमा शतकधारी वारनरको क्याच छाडिएको थियो।
‘यो जित असाध्यै सुखद रह्यो। पाकिस्तानजस्तो टिमविरुद्ध हामीले यत्तिको रन बनायौँ, पाकिस्तानलाई लक्ष्य पूरा गर्नबाट रोक्यौँ। यो आफैँमा तारिफयोग्य हो,’ वारनरले भने।
पाकिस्तानलाई जितबाट वञ्चित गर्न लेगस्पिनर एडम जाम्पाले चार विकेट लिए। उनले पाकिस्तानी मध्यक्रमलाई चल्न दिएनन्। मोहम्मद रिज्वानले ४६ र साउद सकिलले ३० रन जोडे। उनीहरूले चौथो विकेटका लागि ५७ रनको साझेदारी गरेका थिए। त्यसबेला पाकिस्तानलाई जितका लागि अन्तिम २० ओभरबाट १६८ रन चाहिएको थियो।
रिज्वान जाम्पाको बलमा आउट भए भने साकिल पाट कमिन्सको बलको सिकार बने। मध्यक्रमका अन्य दुई ब्याट्सम्यान इफ्तिकार एहमदले २६ र मोहम्मद नवाजले १४ रन जोडेका थिए।
‘सुरुको ३४ ओभरमा गरेको बलिङ र फिल्डिङले हामीलाई डुबायो। त्यसमाथि वारनरको क्याच छाडियो। यस्ता ब्याट्सम्यानको क्याच छाडेपछि दण्डित हुनैपर्छ। यो धेरै विकेट बढाउने पिच थियो। हामीले अवसर गुमायौँ,’ पाकिस्तानका कप्तान बाबर आजमले भने।
उसो त पाकिस्तानले बलियो ब्याटिङ सुरुवात गरेको थियो। ओपनरद्वय अब्दुल्लाह साफिक र इमाम उल हकले क्रमशः ६४ र ७० रन जोडेका थिए। यी दुईले पहिलो विकेटका लागि १३४ रनको साझेदारी गरे। यस वर्ष पाकिस्तानीले खेलाडीले बनाएको दोस्रो शतकीय साझेदारी हो।
अस्ट्रेलियाली खेलाडीले समेत केही महत्त्वपूर्ण क्याच छाडेका थिए। सिन अबोटले साफिकको क्याच छाडेका थिए। त्यसबेला साफिक २७ रनमा खेलिरहेका थिए। त्यसपछि जाम्पाले ४८ रन बनाएका इमामको क्याच छुटाए।
अन्ततः यी दुई ब्याट्सम्यानलाई मार्कस स्टोइनिसले पभेलियन फर्काए। दुई ओपर २० रनको फरकमा आउट भएका थिए। पाकिस्तानी कप्तान आजमलाई भने जाम्पाले कमिन्समार्फत क्याचआउट गराए। आजमले १८ भन्दा बढी रन बनाउन सकेनन्।
अस्ट्रेलियाको जितको मुख्य कारण ओपनिङ साझेदारी नै रह्यो। वारनर र मार्सले २५९ रनको साझेदारी गरेका थिए। वारनरले १२४ बलमा १४ चौका र नौ छक्का प्रहार गरे। मार्सले भने १२१ बलमा १० चौका र नौ छक्का हिर्काए।
‘हामीले असाधारण साझेदारी स्थापित गर्न सकेका हौँ। जब हामीले सुरुको पाँच वा ६ ओभरमा गजबको ब्याटिङ गर्यौँ तब हामीलाई थप पाकिस्तानी बलरको सामना गर्न सजिलो भयो। सुरुवात बलियो भएपछि मिडल ओभरमा खेल्न अप्ठ्यारो भएन,’ प्लेयर अफ द म्याच चुनिएका वारनरले भने।
वेरनरले आफ्नो करियरमा सातौँ पटक १५० भन्दा बढी रन बनाएका हुन्। उनी बाहिरिँदै गर्दा चिन्नास्वामी रंगशालामा उपस्थित ३० हजार समर्थक उनको सम्मानमा सिटबाट उठेका थिए।
अर्का शतकधारी मार्सका लागि जित अविस्मरणीय रह्यो। किनभने उनी आफ्नो ३२ औँ जन्मदिनमा खेलिरहेका थिए।
जितपछि अस्ट्रेलियाका कप्तान कमिन्सले दुई ओपनरको खुलेर तारिफ गरे। ‘यी दुईले मजबुत ब्याटिङ गरे। उनीहरुकै ब्याटिङले हाम्रो जितको आधार तय गर्यो,’ कमिन्सले भने।
अस्ट्रेलियाका बाँकी ब्याट्सम्यानले भने भनेजस्तो स्कोर गर्न सकेनन्। मार्कस स्टोइनिसले २४ बलमा २१ रन बनाए पनि जोस इङ्लिस (१३), मार्नस लाबुसाने (८), ग्लेन म्याक्सेल (शून्य), स्टिभन स्मिथ (सात) रनमा समेटिए।
पाकिस्तान पराजित भए पनि साहिन साह अफ्रिदीले तरिफयोग्य बलिङ गरे। उनले ५४ रन खर्चिएर पाँच विकेट हात पारे। हरिस राउफको नाममा तीन विकेट रह्यो। उसामा मिरले एक विकेट थपे।
जितपछि अस्ट्रेलिया चौथो स्थानमा उक्लिएको छ। पाकिस्तान भने पाँचौँ स्थानमा छ। दुवै टिमसँग चार-चार अंक छ। शीर्ष दुई स्थानमा न्युजिल्यान्ड र भारत छन्। आठ-आठ अंक बटुलेका यी दुई टिमलाई रनरेटले छुट्याएको छ।