नागढुंगा सुरुङमार्ग : जमिन भासिएको स्थानका प्रभावितलाई मासिक घरभाडा

हिमाल प्रेस ३ कार्तिक २०८० १०:३३
8
SHARES
नागढुंगा सुरुङमार्ग : जमिन भासिएको स्थानका प्रभावितलाई मासिक घरभाडा फाइल तस्बिर

काठमाडौँ– नागढुंगा सुरुङमार्गको पूर्वी खण्डको बस्ती नजिक जमिन भासिएको स्थानका पीडितलाई मासिक घर भाडाको व्यवस्था मिलाउन लागिएको छ। यसका लागि चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले पहल थालेका हुन्।

चन्द्रागिरि नगरपालिका, नगरस्तरीय विपद् व्यवस्थापन समितिको बिहीबारको बैठकले पीडिलाई तत्काल मासिक घर भाडाको व्यवस्था गर्न सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले जमिन भासिएको स्थानको प्रभावित क्षेत्रका बासिन्दालाई स्थानान्तरण गर्न मासिक २० हजारदेखि २५ हजार रुपैयाँसम्म घरभाडा व्यवस्थापन गर्न तथा थप घर प्रभावित भएमा सोहीअनुसार घरभाडा उपलब्ध गराउने गरी जिल्ला प्रशासन कार्यालय तथा अन्य सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको छ।

बैठकमा नगरप्रमुख गिरीले बैठकमा तत्काल ११ घर परिवारको विवरण संकलन भएको र उनीहरुलाई तत्काल स्थानान्तरण गरिने जानकारी गराउँदै थप प्रभावित भएमा सोहीअनुसार व्यवस्थापन गरिने बताएका थिए।

उनले सुरुङमार्ग आयोजनाले तीन महिनाभित्र विस्तृत भौगोलिक सर्वेक्षण प्रतिवेदन उपलब्ध गराएपछि प्रभावित क्षेत्र घोषणालगायत मुआब्जा र अन्य विषयमा छलफल गरिने जानकारी दिए।

गिरीले भने, ‘नागढुङ्गा सुरुङमार्गको पूर्वी खण्डको बस्ती नजिक जमिन भासिएको स्थानका प्रभावित घरलाई तत्काल स्थानान्तरण गर्न घर भाडा उपलब्ध गर्न सिफारिस गरिएको छ। मुआब्जा र अन्य विषयमा पूर्ण भौगोलिक सर्वेक्षण प्रतिवेदनपछि थप निर्णय गरिनेछ।’

राष्ट्रिय गौरवको नागढुंगा सिस्नेखोला सुरुङमार्गको मुख्य टनेल ‘ब्रेकथ्रु’ अवस्थामा पुगेको छ। मुख्य सुरुङमार्गको लम्बाइ दुई हजार छ सय ८८ मिटर र आकस्मिक टनेल ‘रेस्क्यु टनेल’ दुई हजार पाँचसय ७५ छ।

नगरपालिकाका वडा नं १, ३ ५, ७ र १२ का स्थानीयवासी आयोजनाबाट बढी प्रभावित छन्। उनीहरुलाई उचित मुआब्जा दिलाउन तथा आयोजना प्रभावित क्षेत्रमा खानेपानी तथा अन्य पूर्वाधारका विकास गराउन नगरप्रमुख गिरीले विशेष चासो र सक्रियता देखाउँदै आएका छन्।

सुरुङमार्ग बनाउन सरकारले अधिग्रहण गरेका जग्गामध्ये काठमाडौँमा दुई सय ६७ र धादिङमा एक सय नौ रोपनी पर्छ। तीमध्ये अधिकांशले मुआब्जा पाइसकेका छन्। रासस

प्रकाशित: ३ कार्तिक २०८० १०:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 8 =