काठमाडौँ- मदन पुरस्कार गुठीले २०७९ सालको जगदम्बा-श्री सम्मान र मदन पुरस्कार प्रदान गरेको छ। ललितपुरमा सोमबार आयोजित विशेष समारोहमा कलाकार टेकवीर मुखियालाई जगदम्बा-श्री र ‘ऐंठन’ पुस्तकका लागि विवेक ओझालाई मदन पुरस्कार प्रदान गरिएको हो। गुठीका अध्यक्ष कुन्द दीक्षितले स्रष्टाद्वयलाई प्रमाणपत्र र पुरस्कार राशि प्रदान गरे। दुवै पुरस्कारको राशि समान चार लाख रुपैयाँ छ।
कलाकार मुखियाले अक्षरलाई कलाको आवरणमार्फत पाठकसँग जोड्न तथा स्रष्टालाई मुहारचित्रमार्फत साहित्यानुरागीमाझ पुर्याउन महत्त्वपूर्ण योगदान दिएबापत जगदम्बाश्री सम्मान प्रदान गरिएको हो। उनले पाँच हजार बढी पुस्तकका कभर डिजाइन गरेका छन्।
नेपाली समाजले विगतमा बेहोरेको द्वन्द्वको पीडालाई उत्कृष्ट औपन्यासिक कलाको उपयोगद्वारा नवीन किसिमले व्यक्त गरेकाले ओझालाई मदन पुरस्कार अर्पण गरिएको गुठीले जनाएको छ।
कार्यक्रममा इतिहासकार योगेश राजले ‘अर्थराजनीति र ऐतिहासिकहरू : परिबन्द र परित्राण’ बारे विद्वद् प्रवचन दिएका थिए।
मदन पुरस्कार नेपाल तथा नेपालबाहिरबाट नेपाली भाषामा वर्षभरि प्रकाशित पुस्तकमध्ये एक पुस्तकलाई मदन पुरस्कार तथा विभिन्न माध्यमबाट नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई जगदम्बा-श्री सम्मान अर्पण गरिँदै आएको छ। मदन पुरस्कार २०१३ सालदेखि र जगदम्बा-श्री २०४५ बाट प्रदान गर्न लिएको हो।
मदन पुरस्कारबारे जानकारी
मदन पुरस्कार स्थापना हुने घोषणा २०१२ साल असोज १० गते भएको थियो। तत्कालीन लेफ्टिनेन्ट जनरल मदनशमशेर राणाको नाममा यो पुरस्कार स्थापना गरिएको हो। यसका संस्थापक कमल दीक्षित हुन् भने यसको आधार तयारचाहिँ मदनशमशेर र रानी जगदम्बाले गरेका हुन्।
२०१२ साल मंसिर २८ गतेका दिन मदन पुरस्कार गुठीको दानपत्रमा सहीछाप भएको थियो। त्यसपछि पुस १ गतेका दिन ल.पु. पोता रजिस्ट्रेसन अड्डामार्फत सो कागत रजिस्ट्रेसन पास भएको हो।
पछि संस्था रजिस्ट्रेसन ऐन, २०१६ बमोजिम २०२० साल कात्तिक ३ गते ललितपुर म्याजिस्ट्रेट अफिसमार्फत यो दर्ता भएको छ। ल.पु. जिल्ला कार्यालयबाट गुठी पुनर्नवीकरण हुँदै आएको छ।
२०२५ सालसम्म गुठीले चार-चार हजार रुपैयाँका जम्मा चारवटा पुरस्कार प्रत्येक वर्ष दिन सक्ने व्यवस्था थियो। त्यसपछि दस-दस हजार रुपैँयाँका दुईवटा पुरस्कार दिने व्यवस्था भयो। अनि २०३३ सालदेखि एउटा मात्र पच्चीस हजारको, २०४० सालदेखि तीस हजारको, २०४२ सालदेखि चालीस हजारको र २०४३ सालदेखि पुरस्कार पचास हजारको भयो।
२०५१ सालदेखि पुरस्कार १ लाखको दिने गरी नियममा संशोधन गरिएको हो। २०६१ सालको पुरस्कार राशि २ लाख रुपैयाँको थियो भने २०७५ सालबाट पुरस्कार राशि ४ लाख रुपैयाँ भएको छ।
एकपटक मदन पुरस्कार पाइसकेका व्यक्तिलाई साधारणतः अर्कोपटक पुरस्कार दिइने छैन भन्ने धारा थपिएको छ। यद्यपि केही व्यक्तित्वहरूले पहिले नै एकपटकभन्दा बढी मदन पुरस्कार पाइसकेका छन्।
सम्वत् २०१३ देखि मदन पुरस्कारबाट सम्मानित स्रष्टाहरू
२०१३
हाम्रो लोक संस्कृति : सत्यमोहन जोशी
जनरल भीमसेन थापा : चित्तरञ्जन नेपाली
धिकविभव स्थिरविद्युत् उत्पादक : डा. बलराम जोशी
२०१४
मन : लीलाध्वज थापा
मृत्तिका उद्योग : करुणाकर वैद्य
२०१५
कवि व्यथित र काव्यसाधना : कृष्णचन्द्रसिंह प्रधान
उद्यान : गंगाविक्रम सिजापति
२०१६
महाकवि देवकोटा : नित्यराज पाण्डे
२०१७
विस्फोट : भीमनिधि तिवारी
नेपाली राष्ट्रिय मुद्रा : सत्यमोहन जोशी
२०१८
नयाँ सडकको गीत : रमेश ‘विकल’
२०१९
आमाको सपना : गोपालप्रसाद रिमाल
२०२०
नैषधीय चरित’ अनु. : कोमलनाथ अधिकारी
जोसमनी सन्त परम्परा र साहित्य : जनकलाल शर्मा
२०२१
नेपाली भाषा र साहित्य : बालकृष्ण पोखरेल
प्राकृत पोखरा : मुकुन्दशरण उपाध्याय
प्राचीन हिन्दु अर्थशास्त्र : नवराज चालिसे
वस्त्र-निर्माणकला : लक्ष्मीबहादुर श्रेष्ठ
२०२२
शिरीषको फूल : पारिजात
करूणाकर वैद्य
२०२३
स्रष्टा र साहित्य : उत्तम कुँवर
मानव महाकाव्य : मोदनाथ प्रश्रित
२०२४
एब्स्ट्रयाक्ट चिन्तन प्याज : शंकर लामिछाने
नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास : ग्रीष्मबहादुर देवकोटा
२०२५
टिपन-टापन : पारसमणि प्रधान
मङ्गली कुसुम : धर्मराज थापा
२०२६
बेलाइततिर बरालिँदा : ताना सर्मा
२०२७
नेपाली निर्वचनको रूपरेखा : महानन्द सापकोटा
२०२८
कर्णाली लोक संस्कृति (संयुक्त रूपमा) : सत्यमोहन जोशी, स्थिरजङ्गबहादुर सिंह,
बिहारीकृष्ण श्रेष्ठ, श्री चूडामणि ‘बन्धु’ र श्री प्रदीप रिमाल
२०२९
आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन् : ईश्वरवल्लभ
२०३०
लिच्छविकालका अभिलेख : धनवज्र वज्राचार्य
२०३१
(कसैलाई पनि प्रदान गरिएन)
२०३२
आगत : भवानी भिक्षु
२०३३
(कसैलाई पनि प्रदान गरिएन)
२०३४
लेखनाथ पौड्यालको कवित्वको विश्लेषण तथा मूल्याङ्कन :डा. वासुदेव त्रिपाठी
२०३५
घामका पाइलाहरू : ध.च. गोतामे
२०३६
नेपालका परम्परागत प्रविधि : डा. छविलाल गजुरेल र करुणाकार वैद्य
२०३७
नरसिंह अवतार : जगदीशशमशेर राणा
२०३८
‘नदी किनाराका माझी : मोहन कोइराला
२०३९
माधवी : मदनमणि दीक्षित
२०४०
अलिखित : ध्रुवचन्द्र गौतम
२०४१
प्रत्यागमन : कञ्चन पुडासैनी
२०४२
वैकुण्ठ एक्सप्रेस : मोहनराज शर्मा
२०४३
लिच्छवि संवत्को निर्णय : नयराज पन्त
२०४४
उत्सर्ग प्रेम : राजेश्वर देवकोटा
२०४५
ज्योति, ज्योति, महाज्योति : दौलतविक्रम विष्ट
२०४६
नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजापरिषद्को भूमिका : राजेश गौतम
२०४७
मृत्युञ्जय महाकाव्य : भानुभक्त पोखरेल
२०४८
पागलबस्ती : सरूभक्त
२०४९
पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सय दिन (वि.सं. २००७) : भवेश्वर पंगेनी
२०५०
माध्यमिक नेपाली गद्याख्यान : शरदचन्द्र शर्मा भट्टराई
२०५१
सही शब्द : फादर विलियम बर्क
२०५२
योजनगन्धा : विनोदप्रसाद धिताल
२०५३
नेपाली राष्ट्रिय झण्डा : दयाराम श्रेष्ठ
२०५४
विसर्जन : लोकेन्द्रबहादुर चन्द
२०५५
दुःखान्त नाटकको सृजना परम्परा : डा. केशवप्रसाद उपाध्याय
२०५६
अतिरिक्त अभिलेख : दिनेश अधिकारी
२०५७
नेपालको सिमाना : बुद्धिनारायण श्रेष्ठ
२०५८
अभिनव संस्कृति कोष : हरिराम जोशी
२०५९
नेपाली कानूनको ऐतिहासिक रूपरेखा : रेवतीरमण खनाल
२०६०
नयाँ ईश्वरको घोषणा : गोपाल पराजुली
२०६१
पल्पसा क्याफे : नारायण वाग्ले
२०६२
राधा : कृष्ण धरावासी
२०६३
छापामारको छोरो : महेशविक्रम शाह
२०६४
अन्तर्मनको यात्रा : जगदीश घिमिरे
२०६५
एक हातको ताली : युवराज नयाँघरे
२०६६
नेपालका बालीनाली र तिनको दिगो खेती : नरबहादुर साउद
२०६७
जीवन काँडा कि फूल : झमक घिमिरे
२०६८
सेतो धरती : अमर न्यौपाने
२०६९
दमिनी भीर : राजन मुकारूङ
२०७०
खलंगामा हमला : राधा पौडेल
२०७१
खुसी : विजयकुमार
२०७२
ऐना : रामलाल जोशी
२०७३
धृतराष्ट्र : घनश्याम कँडेल
२०७४
योगमाया : नीलम कार्की निहारिका
२०७५
रणहार : योगेश राज
२०७६
महारानी : चन्द्रप्रकाश बानियाँ
२०७७
‘लिम्बुवानको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०
वा सन् १६६२ – १९६३) : भगिराज इङ्नाम
२०७८
अग्नि : डा. नवराज लम्साल
२०७९
ऐंठन : विवेक ओझा
कुनै साल पुरस्कार वितरण हुन नसकेमा त्यसको रकमबाट विद्वत्वृत्ति दिने पनि नियम छ। चार जनाले मदन पुरस्कार विद्वद्वृत्ति पाएका छन्। विद्वद्वृत्ति पाउनेमा चूडामणि बन्धु, राममणि रिसाल, कोमलप्रसाद सुवेदी र जयराज आचार्य छन्।
जगदम्बा-श्री पुरस्कारबारे जानकारी
रानी जगदम्बाकुमारी देवीको स्मृति चीरस्थायी राख्ने उद्देश्यले गुठीले जगदम्बा-श्री पुरस्कार स्थापना गरेको हो। गुठीको साधारण सभाद्वारा रानी जगदम्बाको पैँतालीस दिनको अवसरमा मिति २०४५/६/१/२ का दिन यो पुरस्कार विधिवत् स्थापना भएको थियो।
यो पुरस्कारको राशि मदन पुरस्कार सरह अर्थात् चार लाख रुपैयाँ छ। जगदम्बा-श्री पुरस्कारका लागि नेपाली भाषाको सेवालाई नै एक मात्र आधार मानिएको छ।
यसमावर्ण, लिंग, धर्म, जात वा जातीयताको कुनै बन्धन वा विशेष ग्राह्यता नरहने गुठीले जनाएको छ। मरणोपरान्त जगदम्बा-श्री पुरस्कार साधारणतया प्रदान गरिँदैन। प्रत्येक वर्ष गठन गरिने छनोट समितिले संकलन गरेका नामावलीबाट छानी एकमतले सिफारिस गरेको व्यक्तिलाई यो पुरस्कार दिइन्छ।
कसकसले पाए जगदम्बा-श्री पुरस्कार?
२०४५ : नारायणगोपाल
२०४६ : मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)
२०४७ : नरबहादुर भण्डारी
२०४८ : कवि केदारमान व्यथित
२०४९ : नेपाली साहित्य सम्मेलन, दार्जीलिङ
२०५० : तारादेवी
२०५१ : इन्द्रबहादुर राई
२०५२ : हरिप्रसाद ‘गोर्खा’ राई
२०५३ : ठाकुरप्रसाद गुरागाईं
२०५४ : अम्बर गुरुङ
२०५५ : गोविन्दबहादुर मल्ल ‘गोठाले’
२०५६ : नेपाली शिक्षा परिषद्
२०५७ : धर्मराज थापा
२०५८ : डायमनशमशेर राणा
२०५९ : कृष्णप्रकाश श्रेष्ठ
२०६० : अली मियाँ
२०६१ : फणीन्द्रराज खेताला
२०६२ : भैरव रिसाल
२०६३ : डा. तीर्थबहादुर श्रेष्ठ
२०६४ : कृष्णप्रसाद पराजुली
२०६५ : रामशरण दर्नाल
२०६६ : डा. राजेन्द्र विमल
२०६७ : दुर्गालाल श्रेष्ठ
२०६८ : संशोधन मण्डल
२०६९ : रत्नशमशेर थापा
२०७० : शिव रेग्मी
२०७१ : अङ्गुरबाबा जोशी
२०७२ : लीलबहादुर क्षेत्री
२०७३ : दुर्गा बराल ‘वात्स्यायन’
२०७४ : शान्तदास मानन्धर
२०७५ : बैरागी काइँला
२०७६ : शान्ति ठटाल
२०७७ : भैरवबहादुर थापा
२०७८ : दुर्गाप्रसाद श्रेष्ठ
२०७९ : टेकवीर मुखिया