एमाले राजनीति : चरम गुटबन्दी कि आन्तरिक शक्ति संघर्ष?

किरण पौडेल २९ असोज २०८० १३:०१
6
SHARES
एमाले राजनीति : चरम गुटबन्दी कि आन्तरिक शक्ति संघर्ष? एमालेको हालै सम्पन्न मधेश प्रदेश उद्घाटन समारोहमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल।

काठमाडौँ- ‘सर्वसम्मति’, ‘एकलौटीपन’, ‘ओलीवाद’ र ‘कमजोर आन्तरिक लोकतान्त्रिक’, ‘गुटबन्दी’ जस्ता शब्द नेकपा एमालेका सन्दर्भमा बढी नै प्रयोग हुन थालेका छन् अचेल। विपक्षीको आलोचना गर्नका लागि नभएर पार्टीभित्रकै एकले अर्कालाई खुइल्याउन पनि सार्वजनिक समारोहमा नेताहरू यस्ता शब्द प्रकट गर्छन्।

यस्तै प्रवृत्तिले एमालेमा निरंकुशता बढेको र ‘आन्तरिक लोकतन्त्र’ कमजोर भएको जानकारहरूको बुझाइ छ। उनीहरूका अनुसार पार्टीमा ‘ओलीवाद’ निरंकुशताको पर्याय बनेको छ। सोही कारण पार्टीभित्र शक्ति संघर्ष रहेको विश्लेषण गरिन्छ।

अनौठो कुराचाहिँ के हो भने एमाले नेताकार्यकर्ता नेतृत्वप्रति टिप्पणी गर्न चाहँदैनन् या ओली शैलीको आलोचना गर्ने नेताहरूको आवाज बन्द नै छ। ओलीका समकक्षी त बोल्दैनन्-बोल्दैनन् दोस्रो दर्जाका नेताहरूमा पनि त्यस्तो तागत देखिँदैन। बरु उल्टै ओलीको बचाउमा लागेका हुन्छन्। उनीहरू भन्छन्, ‘एमालेमा बाहिर चलेजस्तो भित्र शक्ति संघर्ष छैन।’

नेपालका राजनीतिक दलमध्ये बोली एकातिर र व्यवहार अर्कातिर भएको दलका रूपमा एमालेको पहिचान छ। पार्टीको पछिल्लो क्रियाकलापले पनि त्यस्तो प्रवृत्ति कमजोर हुनुको सट्टा मौलाउँदै गएको पुष्टि हुन्छ। किनभने ओलीकै पछिल्ला भनाइ र गराइमा ठूलो अन्तर छ।

अध्यक्ष ओलीले लामो समयदेखि भन्दै आएका छन्, ‘एमालेमा गुटबन्दी छैन। एमालेमा यस्तो चल्दैन।’ तर पार्टीको प्रदेश अधिवेशनले यसलाई उदांगो पारिदिएको छ। सातै प्रदेशमा दोस्रो दर्जाका नेताको गुटबन्दीले ओलीको बोली फितलो देखिएको हो।

एमालेका दोस्रो स्तरका नेताहरू प्रदेशमा नेतृत्व चयनका क्रममा भएको  तानातानलाई गुटबन्दी मान्न तयार छैनन्। ‘गुटभन्दा पनि आन्तरिक संघर्ष भनेर बुझ्नुपर्छ’, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ भन्छन्, ‘एउटै व्यक्ति सर्वसम्मत नहुँदा मैदानमा अन्य व्यक्ति हुन्छन्। त्यो अनौठो कुरा होइन।’

एमालेमा नवौँ महाधिवेशनसम्म दुई लाइन संघर्ष थियो। केन्द्रदेखि वडा तहसम्म ओली लाइन र माधवकुमार नेपाल लाइन थियो। महाधिवेशनमा पनि देखिने गरी गुट बनाएर नेताहरू चुनाव लड्थे। निर्णायक भने झलनाथ खनाल गुट र वामदेव गौतम गुट हुन्थे।

‘त्यसबेला खुलेआम नेताहरू सौदाबाजी गर्थे। वामदेव र झलनाथले कसलाई सघाउँथे। त्यसैले जित्थ्यो,’ एमाले नेता प्रदीप ज्ञवाली सम्झन्छन्। अहिले नेपाल र खनालले पार्टी छाडिसकेका छन्। गौतम राजनीतिमा सक्रिय छैनन्। दसौँ महाधिवेशनमा आफूसँग प्रतिस्पर्धा गरेका भीम रावलालाई भूमिकाविहीन बनाएका ओली एमालेमा सर्वेसर्वा छन्। उनको आलोचना गर्नेहरू बिस्तारै किनारा लाग्ने गरेका छन्।

१० औँ महाधिवेशनबाट एमालेमा दुई लाइन संघर्ष अन्त्य भएको देखियो। एमालेमा ओली ‘सर्वसम्मत’ थिए भने उनको विरोधमा बोल्नेको स्वर ‘कमजोर’ भयो। त्यसको एउटा उदाहरण नेता रावलको भूमिकाविहीन अवस्था। अध्यक्षमा ओलीसँगै प्रतिस्पर्धा गरेका रावल पार्टीको कुनै जिम्मेवारीमा छैनन्। साथै गत चुनावमा पनि उनले टिकट नै पाएनन्।

ओली पनि पार्टीमा कुनै गुट नभएको दाबी गर्छन्। उनी भन्छन्, ‘हाम्रो पार्टी कांग्रेसजस्तो चिराचिरा परेको होइन। एउटै कमान्ड मान्छौँ।’ अहिले ओलीलाई त्यही बोली महँगो भएको छ। कारण एमालेमा पनि अनेक खालका गुट निर्माण भइरहेका छन्।

वास्तविकता लुकाएर बोल्छन् नेता

एमालेमा ओलीविरुद्ध बोल्ने जनमत न्यून छ। दोस्रो स्तरका नेता भने ओलीको बोलीमा लोली मिलाए पनि व्यवहार फरक देखाइरहेका छन्। एमालेको लुम्बिनी प्रदेशको अधिवेशनमा दुई लाइन संघर्ष प्रस्ट देखियो। प्रदेश प्रतिनिधि उपाध्यक्ष विष्णु पौडेल खेमा र महासचिव शंकर पोखरेल खेमामा विभाजित थिए। उद्घाटनसत्रमा पुगेर उपाध्यक्ष पौडेलले यही कुराको खण्डन गरे।

‘म ४० वर्षदेखि एमालेको राजनीतिलाई नियालिरहेको छु। अहिले मप्रति गुटबन्दी गरेको आरोप लागिरहेको छ। मबाट गुटबन्दी कदापि हुनेवाला छैन’, पौडेलले भनेका थिए, ‘गुटबन्दी कमसल-कमजोरहरूले गर्ने हो, हामीले होइन।’

पौडेलले शंकर पोखरेललाई सम्झँदै ‘पोखरेल आफ्नो मित्र भएको’ खुलाए। पौडेलले गुटबारे राम्रै गरी प्रचार गरे। तर उनी त्यहाँ हुँदैबाट एमालेको कित्ताकाट सुरु भयो। एमाले लुम्बिनीका अध्यक्षका दाबेदारहरू ‘नेम लिस्ट’ मा गुट नै बनाएर प्रचारमा लागे।

एमालेमा गुटगत राजनीति यतिसम्म छचल्कियो कि ओली पक्ष र पूर्वराष्ट्रपति विद्या भण्डारी पक्षमा उम्मेदवार छरिए। अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजाल आकांक्षी देखिएका थिए। रिजाल पोखरेल र ओलीका उम्मेदवार तथा कँडेल पौडेल र भण्डारीका उम्मेदवारका रूपमा चिनिए।

अन्ततः कँडेल अध्यक्षमा निर्वाचित भए। पौडेल पक्षका कँडेलले चुनाव जित्दा महासचिव पोखरेल र अध्यक्ष ओलीले चुनाव हारेको चर्चा चल्यो। महासचिव पोखरेलले त पार्टीमा गुटबन्दी नभएको प्रस्टीकरण दिनुपरेको थियो। उनले लुम्बिनीबाटै भनेका थिए, ‘एमालेमा समस्या छैन। यहाँ कहिल्यै पहिरो जाने छैन।’

नेताहरूले यस्तो दाबी गरे पनि प्रदेश अधिवेशनमा त्यस्तो देखिएन। लुम्बिनीको रोग अन्य प्रदेशमा पनि फिँजियो। बागमती प्रदेशमा एमाले नेता गोकुल बास्कोटा र महेश बस्नेतबीच गुटगत टकराव स्पष्टै देखियो। उनीहरूले सतहमै आएर उम्मेदवारसँग मत मागे।

एमाले बागमती अध्यक्षमा कैलाश ढुंगेल विजयी भए। ढुंगेल एमाले नेता महेश बस्नेत निकट मानिन्छन्। अर्का उम्मेदवार कृष्ण दाहाल पराजित भए। दाहाल बास्कोटा पक्षका हुन्। यद्यपि बस्नेत र बास्कोटा आफूहरू गुटबन्दीमा नलागेको बताउँछन्।

यतिसम्म कि ढुंगेललाई जिताउन ओली आफैँ सक्रिय भएको टिप्पणी भयो। पार्टी मुख्यालयमा भएको चुनावमा ओलीले पार्टी सत्ताको प्रयोग गरेर ढुंगेललाई जिताएको चर्चा चल्यो।

गण्डकी प्रदेश अधिवेशनमा पनि गुटबन्दी देखियो। सुरुमा गण्डकी पृष्ठभूमि भएका दुई नेता पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीबीच संघर्ष हुने चर्चा थियो। तर यहाँ गुट बनाउन अध्यक्ष ओलीले सक्रिय भएको भनेर आलोचना भयो। प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका नवराज शर्मा अधिकारी र मायानाथ अधिकारी प्यानल बनाएर मैदानमा उत्रिए।

अधिवेशनको अघिल्लो दिन पार्टी सचिव एवं गण्डकी इन्चार्ज गोकर्ण विष्टले गण्डकीमा खास गुटबन्दी नभएको दाबी गरेका थिए। उनले सर्वसम्मतिको बाटो पनि रहेको समेत बताएका थिए। तर उनको बोली सत्य साबित भएन।

मायानाथलाई पार्टी महासचिव शंकर पोखरेल, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य खगराज अधिकारीलगायतको साथ रहेको र नवराजलाई पार्टी उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलगायतको रहेको चर्चा चल्यो। यति मात्र होइन, गण्डकीमा ओलीविरुद्ध पृथ्वीसुब्बा गुरुङ गुट सक्रिय भयो।

ओलीका उम्मेदवार मानिने अधिकारीले चुनाव हारे भने पृथ्वीसुब्बाका उम्मेदवार शर्माले जिते। शर्माले पदाधिकारीमा प्यानल जिते। चुनाव जितेको दिन सभाहलमा एमाले कार्यकर्ताले ‘ओलीपछि पीएस बा’ भन्दै गीत गाए।

एमालेका नेताहरूले नस्वीकारे पनि गुटगत प्रवृत्ति छताछुल्ल भएको छ। केन्द्रमा भीम रावल कमजोर हुँदा ओलीलाई टकराव दिने व्यक्ति कमजोर भए पनि दोस्रो स्तरमा गुट झाँगिएको प्रस्ट छ।

एमाले उपमहासचिव विष्णु रिमाल भने एमालेविरुद्ध अनावश्यक प्रचार हुने गरेको प्रस्ट पार्छन्। ‘कांग्रेसमा चुनाव भए लोकतान्त्रिक पद्धति, एमालेमा चुनाव भए गुटगत प्रवृत्ति भनिन्छ’, रिमाल भन्छन्, ‘एमाले सर्वसम्मत भए निरंकुशता, कांग्रेसमा भए असली लोकतन्त्र भनेर भ्रम फैलाइन्छ।’ उनी एमालेमा गुटबन्दी नभएको बताउँछन्।

राजनीतिक विश्लेषक डम्बर खतिवडा एमाले कार्यकर्ताले समयअनुसारको नेतृत्वलाई मत हाल्ने गरेको दाबी गर्छन्। ‘हिजो माधव नेपाल दुई पटक महासचिव बने। तर उनी अहिले कमजोर छन्’, खतिवडा भन्छन्, ‘अर्को कार्यकाल ओली फेरि अध्यक्ष चुनिन चाहे कार्यकर्ताले नै चुनाव हराउन सक्छन्।’ खतिवडा एमाले कार्यकर्ताले नेतृत्व चुन्नमा विवेकशील निर्णय गर्ने गरेको बताउँछन्।

अब विद्या गुट

एमालेमा पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय हुन थालेको चर्चा छ। यस्तो भयो भने एमालेमा फेरि अर्को गुटको उदय हुनेछ। भण्डारीले भित्रभित्रै पार्टीका आफूले ‘स्पेस’ खोजिरहेको बुझाइ कार्यकर्ताहरूको छ। यसका लागि उनी ओलीविरुद्ध गुट तयार पार्न सक्रिय रहेको आकलन गर्छन् विश्लेषक विष्णु दाहाल।

भण्डारीलाई पार्टी राजनीतिमा स्थापित गराउन मात्रै नभई देशकै पहिलो महिला राष्ट्रपति बनाउन पनि अध्यक्ष ओलीको विशेष देन छ। तर पछिल्लो समय भण्डारी आफैँ ओलीलाई कमजोर बनाउन सक्रिय रहेको दाहाल बताउँछन्। उनी भन्छन्, ‘एमालेको राजनीतिमा भण्डारी सक्रिय बन्न खोज्दैछिन्। त्यसैले ओलीलाई कमजोर बनाउने प्रयास भइरहेको छ।’

प्रकाशित: २९ असोज २०८० १३:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast