काठमाडौँ- चितवनको पिठुवाका हुन् डा. विनोद श्रेष्ठ। उनी १५ वर्ष अघि छात्रवृत्तिमा इन्जिनियरिङमा पीएचडी गर्न अस्ट्रेलिया लागे। उनी काठमाडौँमै इन्जिनियरमात्र थिएनन्, कजेज पढाउँथे पनि। इन्जिनियरका समस्याहरूको उजागर गर्न पनि लागिपर्थे। एक अगुवा इन्जिनियर भनेर चिनिएका थिए उनी।
उनी नेपाल आएर केही गर्ने सोचले पीएचडी गर्न अस्ट्रेलिया पुगेका थिए। पीएचडी सकेपछि त्यहाँको सहजता र स्थायी बसोबासले उनलाई आकर्षित गर्यो, उतै रमाए। उच्च शिक्षा लिएकालाई आफ्नै मुलुकमा राख्न अस्ट्रेलियाले पनि अवसर दिने गर्छ। त्यही अवसरको आकर्षणमा परेका उनी पीएचडी सकेलगत्तै नेपाल आउन खोजे। तर आउन सकेनन्।
उनी अस्ट्रेलियामा रहेर पनि नेपालीसँग संगठित हुने गैर आवासीय नेपालीको विषयमा बहस गर्ने जस्ताका कार्यमा लागे। डा. श्रेष्ठ अस्ट्रेलियाको अनेकन् अभियानमा सामेल भए। नेपाल र नेपाली समुदायसँग नजिक रहेर काम गर्ने संस्था एनआरएनए नै हो भन्दै यसमा जोडिएर विज्ञहरू जोड्न उनले अभियान चलाए। ‘यसमा आबद्ध भएर केही गरौँ भन्ने सोचले होमिएको हुँ,’ उनी भन्छन्।
अहिले उनले एनआरएनएको उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनलाई जिताउनुपर्छ भनेर अस्ट्रेलिया, क्यानडा, अमेरिका, जापान र खाडीका मुलुकहरूमा अभियान चलेको छ। पहिलो विश्व (अमेरिका, बेलायत, क्यानडा, फ्रान्सलगायतका देश) मा रहेका कतिपय बौद्धिक व्यक्तिहरू एनआरएनएमा नजोडिएको अवस्थामा यस्ता व्यक्तिहरूलाई जोड्दै एनआरएनएलाई माथि उठाउने डा. श्रेष्ठको योजना छ।
डा. श्रेष्ठ यही कुरा अहिले गरिरहेका छन्। काठमाडौँ ओर्लेर आमबुबाको आशीर्वाद लिए लगत्तै पशुपतिनाथ मन्दिर पुगेर आफ्नो लक्ष्यमा अघि बढ्दै जन्मस्थल पिठुवा पुगेका छन्। उनी त्यहाँबाट भरतपुरमा भएको कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्कँदैछन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन मंगलबार सुरु हुँदैछ। यो चार दिने चल्नेछ। हरेक दुई वर्षमा हुने अन्तर्राष्ट्रिय सम्मेलनले नयाँ कार्यसमिति बनाउने हुनाले त्यसमा उनी पनि आकांक्षी भएर आएका हुन्। अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरूको चयन हुने क्रममा उनको दाबी उपाध्यक्ष छ। उनले आफू उपाध्यक्षका रूपमा काम गर्न योग्य रहेको दाबीसहित त्यसमा अघि बढेका छन्।
इन्जिनियर भए पनि आफूले यो अभियान सफल पार्न प्राविधिक रूपमा दक्ष रहेको भन्दै यसमा आफू होमिएको बताए। कम बोल्ने र मधुर बोलीका श्रेष्ठ विद्यालयमा पनि अब्बल विद्यार्थीका रूपमा थिए। एनआरएनएले लगानी नेपालमा ल्याउने, समृद्धिको सपना देख्ने हो भने सबै क्षेत्रका विशेषज्ञलाई स्थान दिनुपर्ने उनको जोड छ। त्यही आधारमा आफू यसमा जोडिएको पनि उनले बताए।
‘एक दशकभन्दा बढी समयदेखि सक्रिय रूपमा एनआरएन अभियानमा छु। त्यसैले म आफैँले एउटा पाँचबुँदे कार्ययोजना प्रस्तुत गरेर निर्वाचनमा होमिएको हुँ,’ उनले भने। महाधिवेशनको तयारीमा जुट्दै गर्दा यो विदेशमा बस्नेहरूको साझा सारथि र नेपालमा बस्ने सबै नेपालीले चिन्ने सम्झने साझा संस्था बनिसकेको उनले बताए। यसलाई थप चलायमान बनाउन आवश्यक रहेको उनको भनाइ छ।
‘यस संस्थाको विकास र विस्तारसँगै थुप्रिएका कतिपय विसंगतिलाई पाखा लगाउन आवश्यक छ,’ उनले भने, ‘यसलाई अझ प्रभावकारी र सबैको अपनत्व हुने गरी अगाडि बढाउन सक्रिय भएर लाग्नेछु।’
आफूले प्रवासमा इन्जिनियरिङ क्षेत्रमा हासिल गरेको ज्ञान, सीप, विज्ञता र स्वच्छ आचरण एवं समन्वयकारी व्यक्तित्वले संस्थालाई नयाँ उचाइमा पुर्याउन सहयोग पुग्ने उनले बताए। उनले, ‘निरन्तर सल्लाह, सुझाव र उत्प्रेरणा दिने विश्वभर छरिएर रहनुभएका अग्रजहरू, सहकर्मी र शुभेच्छुक साथीहरूको साथ खोजेको छु।’
पछिल्लो समयमा नेपालमा समृद्धिको बहस सुरु भएको छ। नेपालको अर्थतन्त्रको प्रमुख टेको रेमिट्यान्स हो। अर्थात् विदेशमा रहेका नेपालीको पसिना हो। ‘अझ बढी खाडी, पश्चिम एसियामा रहेका मुलुकका नेपालीलाई हामीले झनै बिर्सन हुँदैन’, उनले भने, ‘उहाँहरूको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चलेको छ। हामी पनि अस्ट्रेलियामा रहेर नेपालमा रेमिट्यान्स पठाउने, लगानी गर्ने काममा सक्रिय नै छौँ।’
एनआरएनएमा पनि ज्ञान र सीप हासिल गरेका दक्ष प्राविधकको खाँचो छ। विश्वभर छरिएर रहेका तर बाहिर नदेखिएकालाई यस अभियानमा जोड्न आवश्यक रहेको उनी बताउँछन्। पारस्परिक साझेदारीबाट सामूहिक रोजगारीको अवसर सिर्जना गर्ने, अन्तर्राष्ट्रिय क्षेत्रमा नयाँ अवसरहरूको खोजी गर्ने, दक्ष प्राविधिकहरूको अन्तर्राष्ट्रिय सञ्जालको विकास गर्ने नयाँ व्यवसाय थालनीका लागि समन्वय केन्द्रको स्थापना गर्ने र सबै अट्ने गरी गैरआवासीय नेपाली मैत्री नियम कानुन निर्माणमा जोड दिने उनको प्रतिबद्धता छ।
विशेषज्ञ र प्राज्ञिक अगुवाका रूपमा कर्मक्षेत्र बाहिरका दर्जनौँ कार्यक्रम र अभियानमा सामेल भएको उनले सुनाए। अन्तर्राष्ट्रिय क्षेत्रमा नयाँ अवसरहरूको खोजी गर्ने कामको नेतृत्व गर्ने उनको योजना छ। नेपालीको प्राथमिक गन्तव्यका देशहरू मलेसिया, जापान, दक्षिण कोरियालगायतका पूर्वी-पश्चिम एसिया, युरोप, अमेरिका, अस्ट्रेलियामा नेपालीहरूलाई नयाँ अवसरको खोजीको जरुरी रहेको उनको धारणा छ।
‘नेपाल बनेन भन्ने बहस सुन्छु, पढ्छु। अनि घोत्लिन्छु नेपाल नबन्ने भन्ने नै होइन। बन्छ। केही समय अघिसम्म अस्ट्रेलिया के थियो? खाडी मुलुक के थिए? कसरी बने?’ उनले भने, ‘अर्काको सिको भन्दा पनि आफ्नो मुलुकको अवस्था र समृद्धिका लागि हुने पहिचान छुट्याएर त्यसमा अडेर अघि बढ्दा मुलुक बन्न समय लाग्दैन। प्रणाली निर्माण गरेर मुलुकको नेतृत्व असल र इमानदारको हातमा पुग्नुपर्छ मुलुक नबन्ने कुरै हुँदैन।’ सबै कमाउने ध्याउन्नमा लाग्दा मुलुक नबनेको भन्दै उनले त्यसबाट माथि उठे मुलुक बन्न समय नलाग्ने बताए।
‘यतिबेला खुसी भइहाल्ने अवस्था छैन तर निराशा हुनुपर्ने पनि छैन। २०४६ अघि हामी कस्ता थियौँ, अहिले कस्ता छौँ यतिमात्र नियाल्दा पुग्छ,’ उनले भने, ‘अहिले मानिस विगतको गफ लगाइरहेका हुन्छन् त्यो अवस्था र अहिलेको अवस्था भनेर। हो केही विकृति छ तर त्यसलाई सच्याउनेतर्फ समय लगाउँदा हामी अब्बल भइसक्नेछौँ। हामीले अरूको मुलुक बनाइरहँदा आफ्नो मुलुक बनाउन नसक्ने हुन्छ र?’
एनआरएनएमा केही कमी भए पनि आफ्नो उद्देश्य पूरा गर्ने लाइनमा अघि बढेको उनको दाबी छ। यसलाई अझ विश्वासिलो र भरोसायोग्य संस्था बनाउन आवश्यक रहेको उनको भनाइ छ। महाधिवेशनमा मुलुकमै सबै उपस्थित हुने परम्परा ठिक मान्ने श्रेष्ठ ई-भोटिङको प्रभावबारे पनि अध्ययन गर्नेछन्।