काठमाडौँ – न्युजिल्यान्डमा शनिबार भएको आमनिर्वाचनको मतदान सकिएको छ। मतगणनाको प्रारम्भिक नतिजाहरूले जसिन्डा आर्डनको नेतृत्वमा रहेको उदारवादी सरकारको छ वर्षपछि जनताले कट्टरपन्थी परिवर्तनका पक्षमा रुचि देखाएको देखिएको छ। करिब एक चौथाइ मतगणना भइसक्दा पूर्वव्यवसायी क्रिस्टोफर लक्सन मुलुकको अर्को प्रधानमन्त्री तयारीमा छन्।
आफूसँग पूरा सरकार चलाउन ‘पर्याप्त क्षमता’ नभएको भन्दै आर्डर्नले अप्रत्यासित रूपमा गत जनवरीमा प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको थियो । पछिल्लो निर्वाचन उहाँले ठूलो मतान्तरले जित्नुभएको थियो तर कोभिड-१९ मा लगाइएको प्रतिबन्ध र मुद्रास्फितिले अर्थतन्त्रलाई खतरामा पारेपछि उहाँको लोकप्रियता खस्केको थियो। उनले राजीनामा दिएपछि ४५ वर्षीय क्रिस हिपकिन्स प्रधानमन्त्री बनेका थिए। उनी यसअघि शिक्षामन्त्रीको जिम्मेवारीमा थिए।
प्रारम्भिक मतगणनाले लक्सनको नेसनल पार्टीले ४० प्रतिशतभन्दा बढी मत हासिल गरेको देखाएको छ। न्युजिल्यान्डको समानुपातिक मतदान प्रणालीअनुसार ५३ वर्षीय लक्सनले स्वतन्त्रतावादी एसीटी पार्टीसँग गठबन्धन गरेर सरकार बनाउने अपेक्षा गरिएको छ।
यसैबीच हिपकिन्सको नेतृत्वमा रहेको लेबर पार्टीले २५ प्रतिशतमात्र मत प्राप्त गरेको छ। गत आम निर्वाचनमा आर्डर्नको नेतृत्वमा प्राप्त गरेको अनुपातमा यो करिब आधा मत हो।
लक्सनले मध्यम आम्दानी गर्नेहरूका लागि कर कटौती गर्ने र अपराधमाथि नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै हिपकिन्सले ३० वर्षभन्दा कम उमेर समूहका लागि निःशुल्क दन्त सेवा तथा फलफूल र तरकारीको विक्रीमाथिको कर हटाउने वाचा गरेका छन्।