कोरियन समकक्षीसँग अर्थमन्त्री महतको भेट, नेपालमा लगानी बढाउन आग्रह

हिमाल प्रेस २५ असोज २०८० १२:३३
2
SHARE
कोरियन समकक्षीसँग अर्थमन्त्री महतको भेट, नेपालमा लगानी बढाउन आग्रह

मोरक्को- अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरूले नाफा कमाइरहेको भन्दै कोरियन कम्पनीहरूलाई पनि लगानी गर्न आग्रह गरेका छन्।

कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङसँगको भेटमा अर्थमन्त्री महतले कोरियन कम्पनीलाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन्।

‘नेपाल लगानी गरेका भारतीय बहुराष्ट्रिय कम्पनी डाबर, आईटीसी इन्डिया, अमेरिकी बहुराष्ट्रिय कम्पनी कोकोकोला र पेप्सी, मलेसियन टेलिकम कम्पनीलगायतले राम्रो नाफा कमाइरहेका छन्,’ मन्त्री महतले कोरियन उपप्रधानमन्त्रीसँग भने, ‘हामीले चालू आर्थिक वर्षको बजेटमार्फत निजी क्षेत्रको लगानीलाई थप सहजीकरण गर्ने प्रयास गरेका छौँ। आगामी दिनमा पनि निजी क्षेत्रलाई सुविधा दिने हाम्रो सोच छ। कोरियन लगानीकर्तालाई नेपालमा स्वागत गर्न हामी इच्छुक छौँ।’

नेपाल सरकारले ‘इज अफ डुइङ बिजनेस’मा निरन्तर सुधार गरिरहेको भन्दै कोरियन लगानीकर्तालाई झन्झट नहुने मन्त्री महतले बताए। ‘भारत सरकारले नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने निर्णय गरिसकेको छ,’ महतले भने, ‘जलविद्युत् उत्पादन, प्रसारण र वितरणलाइन, डिजिटल क्षेत्र, कृषि, पर्यटनलगायतका क्षेत्रमा नेपालमा राम्रो आम्दानी गर्न सक्ने अवसर छ।’

नेपाली कामदारलाई कोरियामा लगेर कोरियन कम्पनीले राम्रो प्रगति गरिरहेको भन्दै मन्त्री महतले नेपालमै लगानी गरेर लाभ लिन र नेपालको आर्थिक वृद्धिमा पनि सहयोग गर्न आग्रह गरेका हुन्।

‘अहिले तपाईंहरू संघर्ष गरिरहेका देशलाई सहयोग गर्ने तहमा हुनुहुन्छ। हाम्रो देशमा पर्यटन विकासको ठूलो सम्भावना छ। तर कमजोर पूर्वाधारले समस्या भइरहेको छ,’ मन्त्री महतले भने, ‘निजी क्षेत्रले दीर्घकालीन लाभ दिने सडकजस्ता क्षेत्रमा लगानी गर्दैनन्। कोरियन सरकारलाई पूर्वाधार विकासमा सहुलियतपूर्ण कर्जा, अनुदान, क्षमता विकासमा सहयोग गर्न अनुरोध छ।’

मन्त्री महतसँगको भेटमा कोरियन अर्थ तथा उपप्रधानमन्त्रीले नेपालको पूर्वाधार विकासमा सहयोग गर्न तयार रहेको बताए। उनले ६० वर्षमा कोरियाको प्रतिव्यक्ति आय ८० डलरबाट ३३ हजार डलर पुर्‍याउने अवस्थामा पुगेको भन्दै निरन्तर प्रयास गर्दा आर्थिक वृद्धि सम्भव हुने बताए।

उनले नेपालमा भएका केही कोरियन लगानीमा दोहारो करसम्बन्धी समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न मन्त्री महतसँग आग्रहसमेत गरेका छन्।

प्रकाशित: २५ असोज २०८० १२:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =