विज्ञानका उत्कृष्ट १३ शोधार्थीलाई अनुदान

हिमाल प्रेस २४ असोज २०८० १३:५६
8
SHARES
विज्ञानका उत्कृष्ट १३ शोधार्थीलाई अनुदान

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयअन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थानका विभिन्न विभाग तथा क्याम्पसमा अध्ययनरत स्नातकोत्तर तहका १३ जना शोधार्थीलाई केसीआरई उत्कृष्ट शैक्षिक अनुदान हस्तान्तरण गरिएको छ।

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान र जल तथा मौसम विज्ञान केन्द्रीय विभागको संयुक्त आयोजनामा कीर्तिपुरस्थित काठमाडौँ सेन्टर फर रिसर्च एन्ड एजुकेसन (केसीआरई) को सभाकक्षमा भएको कार्यक्रममा उनीहरूलाई रकम हस्तान्तरण गरिएको हो। वार्षिक रूपमा उपलब्ध गराइँदै आएको उक्त शैक्षिक अनुदानको राशि ८० हजार रपैयाँ छ।

त्रिवि र चाइनिज एकेडमी अफ साइन्सेसबीच सन् २०१४ मा सहमति भई उक्त राशिको अनुदान केन्द्रीय विभागलगायतका क्याम्पसमा अध्ययन गर्ने त्रिविका विद्यार्थीले प्राप्त गरिरहेका छन्। हालसम्म एक सय ३० जना शोधार्थीले उक्त अनुदान पाइसकेका छन्।

उत्कृष्ट शोधार्थी अनुदान प्राप्त विद्यार्थीमा वातावरण केन्द्रीय विभागका अन्जुली मुल्मी, खाद्य प्रविधि केन्द्रीय विभागका स्वेच्छा थापा मगर, कायोटेक्नोलोजी केन्द्रीय विभागका रोजिना पाण्डे, रसायनशास्त्र केन्द्रीय विभागका छात्राद्वय सोनिया जोशी र सीता खड्का छन्।

यसैगरी भौतिकशास्त्र केन्द्रीय विभागका सागर पाण्डे, गणित केन्द्रीय विभागका सन्देश ठकुरी, प्राणीशास्त्र केन्द्रीय विभागका अन्जु कर्माचार्य, तथ्यांकशास्त्र केन्द्रीय विभागका श्रीशा रिजाल, माइक्रोबायोलोजी केन्द्रीय विभागका लक्ष्मी पाण्डे, भूगर्भशास्त्र केन्द्रीय विभागका नागेश रिजाल, वनस्पतिशास्त्र केन्द्रीय विभागका विनिका माथे र जल तथा मौसम विज्ञान केन्द्रीय विभागका स्मृति अधिकारीले पनि अनुदान रकम पाएका छन्।

उक्त अनुदान त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले हस्तान्तरण गरेका थिए। शिक्षाध्यक्ष प्रा.डा. भुसालले विज्ञानका उत्कृष्ट वैज्ञानिक विद्यार्थीले विश्वविद्यालयको गरिमा बढाउने र भविष्यमा थप उत्कृष्ट कार्य गर्ने अपेक्षा व्यक्त गरे।

विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन प्रा.डा. विनील अर्यालले चाइनिज एकेडमी अफ साइन्सेस विश्वकै उत्कृष्ट वैज्ञानिक निर्माण गर्ने संस्था रहेको र यसले नेपालमा विज्ञान शिक्षाको विकास तथा गुणस्तरका लागि सहयोग गर्दै आइरहेको बताए।

जल तथा मौसमविज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. दीपक अर्यालले आर्थिक प्रोत्साहनका अन्य स्रोतमार्फत विद्यार्थीलाई अनुसन्धानमा उत्प्रेरित गर्नुपर्ने बताए।

जल तथा मौसमविज्ञान केन्द्रीय विभागका सहप्राध्यापक तथा काठमाडौँ सेन्टर फर रिसर्च एन्ड एजुकेसनका उपनिर्देशक डा. विनोद दवाडीका अनुसार विद्यार्थीले प्राप्त गर्ने ८० हजारमध्ये ६० प्रतिशत अर्थात् ४८ हजार रुपैयाँ तत्काल र बाँकी २० प्रतिशत शोधकार्य नौ महिनाभित्र सम्पन्न गरी सम्बन्धित विभागको सिफारिसअनुसार र अन्तिम २० प्रतिशत सम्बन्धित शोधार्थीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ‘जर्नल’ मा अनुसन्धानात्मक लेख दुई वर्षभित्र प्रकाशन गरिसकेपछि प्रदान गरिने प्रावधान छ।

केसीआरई उत्कृष्ट शोध अनुदानबाट पुरस्कृत हुनका लागि पहिलो चरणमा शोधकार्यअघिको सेमेस्टरमा उच्चतम अंक प्राप्त गरेका र उत्कृष्ट शोधप्रस्ताव प्रस्तुत गर्ने तीनजना विद्यार्थीलाई सम्बन्धित विषयको विभागीय अनुसन्धान समितिबाट सिफारिस गरिनेछ। यसरी सम्बद्ध विभागबाट सिफारिस भई आएका विद्यार्थीमध्येबाट सर्वोत्कृष्ट विद्यार्थीलाई विज्ञान तथा प्रविधि अध्ययन संस्थानले  छनोट गर्नेछ।

प्रकाशित: २४ असोज २०८० १३:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + ten =