‘इजरायलमा फसेका नागरिकप्रति किन खेलाँची गर्दैछ सरकार?’

हिमाल प्रेस २४ असोज २०८० १३:२१
52
SHARES
‘इजरायलमा फसेका नागरिकप्रति किन खेलाँची गर्दैछ सरकार?’

काठमाडौँ- दस जना साथी गुमाइसकेका र एकजना साथीको खोजीमा जुट्दै आफ्नो जीवनरक्षाका लागि चिच्याइरहेका नेपालीको आवाज सुन्न ढिलाइ गरेर नेपाल सरकारले गम्भीर प्रकारको अपराध गरेको भन्दै आलोचना हुन थालेको छ।

मृतकको शव ल्याउन र नेपाल आउन चाहनेलाई फर्काउन ढिलाइ भएपछि सरकारको आलोचना भएको हो।

एक कूटनीतिज्ञले भने, ‘आफ्नै नागरिकलाई नेपाल ल्याउन सरकारले नौटंकी गरिरहेको देखिन्छ। इजरायलबाट आफ्ना नागरिक ल्याउन त्यति कठिन छैन। इजरायलका सबै क्षेत्र द्वन्द्वग्रस्त छैनन्। तर पनि किन ढिलाइ गरिरहेको भन्ने प्रश्न उठ्नु स्वाभाविक हो।’

समन्वय गर्न नसक्दा र कहीँकतैबाट कमिसन पो झार्न मिल्छ कि भन्ने विषयमा अल्झिँदा नेपालीलाई स्वदेश फर्काउन ढिलाइ भएको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीको दाबी छ। उनले भने, ‘राजनीतिक नेतृत्व जति बेला पनि बैठक बस्ने भनेर एउटै विषयमा छलफलमा अलमलिँदा समस्या भएको हो।’
त्यसो त कूटनीतिक सेवामा रहेका कर्मचारीलाई भूगोलका बारेमा जानकारी नभएर पनि समस्या भएको विज्ञहरूको बुझाइ छ। ती कूटनीतिज्ञले भने, ‘मन्त्री र राजदूत उस्तै अनि कर्मचारीले पनि खासै भेउ नपाउने भएपछि समस्या परेको छ।’

सरकारले आफ्ना नागरिक तत्काल ल्याउन इजरायलको तेलअभिभमा विमान पठाउन नसके जोर्डनको राजधानी अम्मानमा कुनै एअरलाइन्ससँग समन्वय गर्न सक्ने सुझाव उनको छ।

उनले भने, ‘अम्मानबाट नियमित उडान हुने र नेपाल आउन सक्ने एयरलाइन्ससँग सहकार्य गर्न सक्ने समस्या हुँदैन। नेपालले आफ्नै एयरलाइन्स जोर्डन पठाउन सक्छ। कतार एयरलाइन्स नेपाल आउन सक्छ। तर पनि सरकार किन सक्रिय भएको छैन? यो नागरिकप्रति खेलाँची हो।’

जोर्डनको अम्मान तेलअभिभबाट तीन घण्टाको बसयात्रामा पुगिन्छ। त्यो यात्रा गर्ने क्षेत्र समस्या छैन। परराष्ट्रका ती उच्च अधिकारीले भने, ‘जस्तोसुकै संवेदनशील परिस्थितिमा पनि छ्याकन हान्न पल्केका राजनीतिक प्राणी भएपछि यस्तो समस्या भएको हो।’

कोभिडको समयमा पनि सरकारी उच्च अधिकारीले औषधिमा भ्रष्टाचार गरेको विषयमा अख्तियारले छानबिन भएको थियो। तर त्यो प्रकरणलाई तामेलीमा राखिएको छ। राजनीतिक नेतृत्वकै दबाबमा कतिपय यस्ता अनियमितता अख्तियारमा पुग्नै नपाउने गरी व्यवस्थापन गरिएको छ। ती कूटनीतिज्ञले भने, ‘त्यही बाटो हेरिरहँदा समस्या भएको देखिन्छ। केको छलफल? केको पत्रकार सम्मेलन? इजरायलस्थित नेपाली राजदूतलाई अम्मानमा पठाएर व्यवस्थापन गर्न लगाए हुन्छ। नभए खाडीको कुनै क्षेत्रका राजदूतलाई खटाउँदा छिटो हुन्छ। तर सरकारले यसतर्फ सोचेको देखिएन।’

तीन सय जनालाई नेपाल ल्याउन त नसक्ने सरकारले खाडीमा समस्या हुँदा नेपालीलाई ल्याउन के गर्छन् होला? भन्ने प्रश्न उठेको ती कूटनीतिज्ञले बताए। उनले भने, ‘इजरायलमा रहेका नेपालीको उद्धारका विषयमा शनिबार अबेरदेखि छलफल भइरेको भनिए पनि नेपालीलाई ल्याउन पहल हुन नसक्नु दुःखद हो।’ परराष्ट्रमन्त्री एनपी साउदले जति नै शालीन भएर पत्रकार सम्मेलन गरे पनि नेताहरूको स्वार्थ नछोपिने उनको भनाइ छ।’ उनले भने, ‘सरकारले नेपालीलाई फिर्ता ल्याउन अन्य विकल्प छन् भने इजरायलका लागि पूर्वराजदूतसँग सम्पर्क गरेर कुरा गर्न सक्छ नि!’ अनविज्ञहरू आफूआफूले कुरा गरेर केही पनि समाधान ननिस्कने उनले बताए।

प्रकाशित: २४ असोज २०८० १३:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast