यो यस्तो दिन थियो जसले पूरा इजरायललाई स्तब्ध बनायो। शनिबार सबेरै हमासले आक्रमण सुरु गर्यो। गाजाबाट हजारौँ क्षेप्यास्त्र प्रहार भए। हमासका लडाकु ठाउँ ठाउँबाट इजरायलभित्र छिरे। खाडी क्षेत्रको सबैभन्दा बलियो देशमा यस्तो घुसपैठ? सुरक्षा व्यवस्थामा अब्बल मानिने देशमा कसरी एक्कासी लडाकु छिरे? यो घटना पत्यारिलो थिएन। इजरायली सुरक्षा विज्ञहरू के भन्दैछन् भने यो इजरायलकै इतिहासको सबैभन्दा ठूलो ‘इन्टिलिजेन्स फेइलर’ हो। सम्भवतः सन् १९७३ को योम किप्पुर युद्धभन्दा पनि गम्भीर। त्यसबेला इजिप्ट र सिरिया मिलेर इजरायलमाथि हमला गरेका थिए।
जासुुसी संयन्त्र चुकेको त भनियो। तर यो कुन स्तरको चुकाइ हो? यसको जवाफ मृतकको संख्या र अरु हताहतीले दिन्छन्। आइतबार इजरायली सेना र हमासबीच इजरायलभित्रका २२ स्थानमा भिडन्त जारी थियो। तर सोमबार राति भने इजरायलले आफ्नो सीमाभित्रको भिडन्त सकिएको बताएको छ।
जे होस् हमासको यो हमलालाई इजरायली जासुसी संयन्त्रको असफलता भन्नेको संख्या कम छैन। ‘हामी चुकेकै हो। जसरी हामी योम किप्पुर युद्धका बेला चुकेका थियौँ। जासुसी संयन्त्र यो स्तरमा असफल हुनुले म छक्क परेको छु। हामीसँग भएको रणनीतिक फौज पनि चुकेको छ, यो अर्को अचम्मलाग्दो कुरा हो। गाजा डिभिजनले देशको सीमा रक्षा गर्न सकेन, त्यसमा पनि अचम्म लागेको छ,’ इजरायली सेनाको गाजा डिभिजनका पूर्वडेपुटी कमाण्डर अमिर अभिभीले भनेका छन्।
इजरायल आफू दुश्मनहरूको वरपर रहेको मान्छ। यसकारण वरपरको सूचना बटुल्न इजरायलले जासुसी संयन्त्रलाई बलियो बनाएको छ। प्यालेस्टाइन, लेबनान, सिरिया, इरान जस्ता देशमा इजरायली जासुस छरपस्ट छन्। यतिले नपुगेर इजरायलले गाजासँग जोडिएको सीमानामा काँडेतार लगाएको छ। यस्तो काँडेतार जसमा सेन्सर जोडिएको छ। तर यस्तो व्यवस्था भए पनि हमासका लडाकु सजिलै घुसपैठ गर्नसके। हमासका लडाकु पाराग्लाइडिङ, मोटरसाइकल र डुंगाको सहयोगमा इजरायलभित्र पसेका थिए। उनीहरूले गाजासँग टाँसिएका इजरायली सहर, बजार, गाउँमा आक्रमण गरे। इजरायली सुरक्षाफौजलाई मात्र होइन निहत्थामाथि पनि गोली बर्साए।
आक्रमणको स्तर हेर्दा सजिलै अनुमान लगाउन सकिन्छ, हमासले यसका लागि महिनौँ तयारी गरेको थियो। तर पनि इजरायली जासुसी संयन्त्र र सुरक्षा व्यवस्थाले कसरी चाल पाएन? हाल उठेको सबैभन्दा ठूलो प्रश्न यही हो। हुन त हमास कमजोर संगठन होइन। इजरायलले गाजामाथि नाकाबन्दी लगाउँदा पनि हमासले आफूलाई चाहिने हातहतियार जम्मा गर्न सकेकै छ। स्थल, हवाइ र जल नाकाबन्दी झेलिरहेको हमासले कसरी यत्तिको ठूलो आक्रमणको योजना बनायो? हतियार तथा आवश्यक सामग्री संकलन गर्न कति समय लगायो? इजरायली डिफेन्स फोर्सको जासुसी संयन्त्रका लागि काम गरेका माइकल मिल्स्टेनको अनुमान छ, ‘एक वर्ष।’
मिल्स्टेन के भन्छन् भने यस्तो तयारी कुनै एक पक्षमा मात्र गरेर पर्याप्त हुँदैन। ‘हमासले हरेक कोणबाट तयारी गरेको छ। यस्तो ठूलो आक्रमण गर्नलाई उसले लामो तयारी गरेको हुनुपर्छ। तर लामो तयारी गरिरहँदा पनि इजरायलले थाहा नपाउनुले हमास कत्तिको बलियो छ भन्ने छनक दिन्छ,’ मिल्स्टेनको भनाइ छ।
इजरायलका अर्का पूर्वजासुस अधिकारी एभी मेलामेद आफ्नो देशले हमासको गतिविधि र योजनाको अध्ययन तथा विश्लेषण गर्न नसकेको बताउँछन्। गाजामा बस्ने प्यालेस्टिनीलाई इजरायलले ‘वर्क पर्मिट’ बाँड्ने, उनीहरूलाई इजरायलभित्र काम गर्न दिने गर्नाले पनि हमासलाई फाइदा पुगेको उनको आँकलन छ। ‘इजरायली जासुसी संयन्त्रले सोच्यो, नाकाबन्दीका कारण गाजामा हमास नियन्त्रित छ। त्यहाँका बासिन्दालाई इजरायलमा काम गर्न दिँदा उनीहरूमा इजरायली सरकारप्रति सकारात्मक भावना पैदा भएको छ। तर हमास दाउ हेरिरहेको थियो,’ मेलामेद भन्छन्।
उता अभिभी भने इजरायलको आन्तरिक राजनीतिक द्वन्द्वका कारण हमास उत्साहित बनेको अनुमान लगाउँछन्। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले देशको न्याय सेवाको पुनःसंरचना गर्ने बताएपछि इजरायलमा महिनौँ आन्दोलन चलेको थियो। इजरायली सेनाको ‘रिजर्भ’ फौजका हजारौँ युवाले आफूहरू सेनामा सम्मिलित नहुने चेतावनी दिएका थिए। उनीहरूको यस्तोे चेतावनीले इजरायली सेना सम्भावित युद्धका लागि तयार भइहाल्न सक्ला कि नसक्ला भन्ने शंका पैदा भएको थियो।
‘इजरायलमा भएका यी सबै चिजले दुश्मनहरूलाई सन्देश दियो, इजरायल अहिले कमजोर छ। उनीहरूले सोचे यो देश विभाजित छ,’ अभिभीको जिकिर छ। कतिपय विज्ञहरू भने यो आक्रमणलाई हमासको क्षमतासँग जोडेर विश्लेषण गर्नुपर्ने बताइरहेका छन्। इजरायलसँग चार पटक युद्ध लडिसकेको हमास थप परिपक्व भएको उनीहरूको दाबी। फेरि यो बीचमा हमासले हेज्जबुल्लाहबाट रणनीतिक ज्ञान बटुलेको हुनसक्ने आँकलन छ। इरानको समर्थन पाएको लेबनानी संगठन हेज्जबुल्लाह सन् २००६ मा इजरायलसँग युद्ध लडेको थियो।
‘अहिले हमासले जसरी आक्रमण गर्यो, त्यसरी आक्रमण गर्न हेज्जबुल्लाहले तालिम गरिरहेको थियो,’ लन्डनस्थित इन्टरनेसनल इन्स्टिच्युट फर स्टारटेजिक स्टडिजका निर्देशक इमाइल होकायम भन्छन्। अहिलेको हमास आक्रमणमा परेर ६ सयभन्दा बढीले ज्यान गुमाएको प्रारम्भिक अनुमान छ। मृतकको संख्या हेर्ने हो भने यो सन् २००५ यताकै सबैभन्दा ठूलो आक्रमण हो। हमासले इजरायलबाट एक सयभन्दा बढीलाई बन्धक बनाएर लगेको बताइँदैछ। त्यत्तिको संख्यामा बन्धक बनाएका कारण इजरायलभित्र हाल नेतान्याहु सरकारमाथि दबाब दिइँदैछ, करिब २३ लाख जनसंख्या भएको गाजामाथि कब्जा जमाउन।
‘जब बन्धकको वास्तविक संख्या थाहा हुन्छ, तब गाजामाथि कब्जा गर्नुपर्ने माग बलियो बन्नेछ,’ इजरायली वायु सेनाका पूर्वकमाण्डर भिका हाइमोभिचले भनेका छन्। इजरायलले सन् २०१४ पछि गाजभित्र आफ्नो सेना छिराएको छैन। यसपालि त्यसो गरे, गाजा युद्धमा फस्नेछ। साँघुरो बाटा र गल्ली भएको गाजामा गोलीबारी भए प्यालेस्टिनी मात्र होइन, इजरायली सैनिककै ठूलो हताहती हुनेछ।
कतिपय इजरायली विश्लेषक गाजा कब्जा गर्दा हमाससँग मात्र नभई अरु क्षेत्रीय शक्तिसँग पनि भिड्नु पर्ने अनुमान गर्छन्। ‘गाजामाथि कब्जा गर्नु भनेको क्षेत्रीय द्वन्द्वलाई निम्तो दिनु हो। युद्ध एउटा मोर्चामा मात्र हुनेछैन,’ इजरायली डिफेन्स फोर्सको जासुसी संयन्त्रका लागि काम गरेका माइकल मिल्स्टेन भन्छन्।
हाल इजरायली सैन्य नेतृत्व यी सम्भावनालाई केलाउँदै छ। जब हालको भिडन्त सकिन्छ तब इजरायल हमासले कसरी आक्रमण गर्नसक्यो भन्ने कारण खोज्नतर्फ लाग्नेछ। ‘विस्तृत कारण पत्ता लगाउन वर्षौँ लाग्नसक्छ। तर भएका गल्ती र कमजोरी खोज्ने कामबाट इजरायल भाग्ने छैन,’ इजरायली सेनाको गाजा डिभिजनका पूर्वडेपुटी कमाण्डर अमिर अभिभीको भनाइ छ। फानान्सियल टाइम्सबाट