इंग्लिस प्रिमियर लिग

टोमिनेको गोलमा जोगियो युनाइटेड, चेल्सीमा स्टर्लिङको प्रभाव

हिमाल प्रेस २१ असोज २०८० ८:०४
6
SHARES
टोमिनेको गोलमा जोगियो युनाइटेड, चेल्सीमा स्टर्लिङको प्रभाव

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा शनिबार राति म्यानचेस्टर युनाइटेड र चेल्सीले जित हात पारेका छन्।नयाँ सिजनको प्रिमियर लिगमा खराब सुरुवात गरेका यी दुई ठूला क्लबले क्रमशः ब्रेन्टफोर्ड र बर्नलीलाई पराजित गरेका हुन्।

युनाइटेडले ब्रेन्टफोर्डमाथि २–१ को जित दर्ता गर्यो भने चेल्सीले बर्नलीलाई ४–१ ले पन्छायो।

गत साता प्रिमियर लिग र त्यसपछि च्याम्पियन्स लिगमा पराजय भोगेको युनाइटेड फेरि अर्को हारको नजिक पुगेको थियो। ओल्ड ट्राफोर्डमा युनाइटेड पहिलो हाफको २६ औँ मिनेटमा पछि परेको थियो। ब्रेन्टफोर्डका लागि माथ्थिएस जेन्सेनले गोल गरेका थिए।

युनाइटेडले खाएको गोलमा फेरि एकपटक गोलरक्षक आन्द्रे ओनानाको कमजोरी देखिएको थियो। किनभने जेन्सेनको प्रहार खासै शक्तिशाली थिएन। तर ओनानाको दायाँ हातबाट बल चिप्लिएको थियो।

सात लिग खेलमा चार पराजय भोगिसकेको युनाइटेडलाई स्कट म्याक टोमिनेले जोगाए। ८७ औँ मिनेटमा मैदान छिरेका उनले इन्जुरी समयमा लगातार दुई गोल गरेका थिए।

पहिलो गोलको मुभ अलेहान्द्रो गार्नोचोबाट सुरु भएको थियो। उनले लेफ्ट विंगबाट दिएको क्रसलाई डिएगो डालोटले गोलमा परिणत गर्ने प्रयास गरेका थिए। तर उनको प्रहार ब्रेन्टफोर्डका गोलरक्षक थोमस स्ट्राकोसाले ब्लक गरेका थिए।

त्यसपछि बक्सभित्र रहेका नाथन कोलिन्सले बल क्लियर त गरे तर रिबाउन्डमा बल टोमिनेले भेटे र पोस्टको दिशा देखाए।

दोस्रो गोल ह्यारी मग्वायरको फ्लिक हेडरका कारण सम्भव भएको थियो। ब्रुनो फर्नान्डेजले प्रहार गरेको लामो फ्रिकिकमा मग्वायरले हेडर गरेका थिए। त्यसपछि बल टोमिनलेले भेटे र सजिलै फिनिसिङ गरे।

युनाइटेडका प्रशिक्षक एरिक टेन हागले ओल्ड ट्राफोर्डमा प्राप्त यो जित आफ्नो टिमका लागि ‘ट्रनिङ पोइन्ट’ बन्नसक्ने प्रतिक्रिया दिए। ‘हाम्रो टिमको लय, मेहनत, रणनीति, व्यवहार र सबै खेलाडीका लागि यो टर्निङ पोइन्ट बन्नसक्छ। अब आगामी खेलमा हामीले यही आत्मविश्वासका साथ खेल्न जरुरी छ,’ टेन हागले भने।

डच प्रशिक्षक टेन हागले गोलकर्ता टोमिनेको पनि तरिफ गरे। यो सिजन खासै मौका नपाइरहेका टोमिने युनाइटेडका अरु खेलाडीका लागि पनि उदाहरण भएको उनको भनाइ थियो।

‘उनले बेन्चबाट आएर खेल परिवर्तन गरे। उनी सही मनस्थितिका साथ खेल्छन्। उनी प्रतिबद्ध खेलाडी हुन्। क्लबको इज्जतका लागि मेहनत गरेर खेल्छन्। यही मनसिस्थतिका साथ अरुले पनि खेल्नुपर्छ। मेहनत गरेर खेलेपछि सबैले टिममा मौका पाउँछन्,’ टेन हागले भने।

उता मिडफिल्डर टोमिनेले गोल गर्नसक्नु आफ्ना लागि उत्कृष्ट क्षण रहेको बताए। ‘हामी कति अप्ठ्यारोमा छौँ, सबैलाई थाहा छ। तर हामी हार मान्नेवाला होइनौँ। मैले प्रशिक्षकबाट गोल गर्ने लक्ष्य पाएको थिएँ, त्यसमा सफल भएँ,’ टोमिनेले भने।

ब्रेन्टफोर्डमाथिको यो जितले युनाइटेडलाई नवौँ स्थानमा पुर्याएको छ। युनाइटेडको अब आठ खेलबाट १२ अंक भएको छ। पराजित ब्रेन्टफोर्ड सात अंकसहित १४ औँ स्थानमा छ।

चेल्सीले लिगमा लगातार दोस्रो जित दर्ता गरेको हो। सबैखाले प्रतियोगितामा गरी चेल्सी तीन खेलमा अपराजित छ। यो लयले चेल्सीलाई केही हदसम्म राहत प्रदान गरेको छ।

यही सिजन प्रिमियर लिगमा बढुवा भएको बर्नलीले घरेलु मैदानमा १५ औँ मिनेटमा अग्रता लिएको थियो। लायल फोस्टरले चेल्सीका तीन खेलाडीलाई बिट गर्दै दिएको पासमा विल्सन ओडेबर्टले गोल गरेका थिए।

म्यानचेस्टर सिटीका पूर्वरक्षक भिन्सेन्ट कम्पनीको प्रशिक्षणमा खेलिरहेको बर्नली पहिलो हाफ सकिने बेलामा गोल खान पुग्यो। अमिन अल दाखिलले आत्मघाती गोल गरेका थिए। रहिम स्टर्लिङको प्रहार ब्लक गर्न खोज्दा दाखिलले आफ्नै पोस्टमा गोल गरेका थिए।

दोस्रो हाफमा चेल्सीले तीन गोल गर्‍यो। कोलिन पाल्मरले ५० औँ मिनेटमा पेनाल्टी गोल गरेर चेल्सीलाई अग्रता दिलाए भने स्टर्लिङ र निकलस जोनसनले एक–एक गोल थपे।

चेल्सीका तीनै गोलमा स्टर्लिङको संलग्नता रह्यो। चेल्सीले पेनाल्टी उनकै कारणले पाएको थियो। लेफ्ट विंगबाट बल लिएर बर्नलीको बक्सभित्र छिर्न खोज्दा उनलाई भिटिन्होले लडाएका थिए।

दोस्रो हाफको ७५ औँ मिनेटमा फेरि लेफ्ट विंगबाट बल लिएर अघि बढेका स्टर्लिङले पाल्मरका लागि पास निकालेका थिए। त्यसपछि पाल्मरले बक्सभित्र रहेका ज्याक्सनलाई पास दिए र ज्याक्सनले जारी सिजनको दोस्रो लिग गोल गरे।

जितपछि पोचेटिनोले स्टर्लिङको खुलेर तारिफ गरे। स्टर्लिङले इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटलाई गलत साबित गर्नुपर्ने पनि बताए। किनभने स्टर्लिङलाई पछिल्लो साउथगेटले इंग्ल्यान्डको टिममा मौका दिइरहेका छैनन्।

साउथगेटले अस्ट्रेलियाविरुद्धको मैत्रीपूर्ण र इटालीसँगको युरो २०२४ छनोट खेलका लागि छानेको टिममा स्टर्लिङ छुटेका छन्। खासमा स्टर्लिङले विश्वकप २०२२ पछि नै इंग्लिस टिममा स्थान बनाउन सकेका छैनन्।

‘स्टर्लिङ अनुभवी खेलाडी हुन्। कसरी प्रशिक्षकको नजरमा पर्न सकिन्छ भन्ने उनलाई थाहा छ। यही स्तरको खेल देखाए, गोल गरे उनी अवश्य पनि इंग्ल्यान्डको टिममा पर्नेछन्,’ पोचेटिनोले भने।

जितपछि पोचेटिनोले स्टर्लिङको खुलेर तारिफ गरे। स्टर्लिङले इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटलाई गलत साबित गर्नुपर्ने पनि बताए। किनभने स्टर्लिङलाई पछिल्लो साउथगेटले इंग्ल्यान्डको टिममा मौका दिइरहेका छैनन्।

चेल्सीले मार्चपछि पहिलो पटक लगातार जित हात पारेको हो। त्यसैगरी अप्रिल, २०२२ पछि पहिलो पटक एक खेलमा चार गोल गरेको हो। हालको लयले राहत दिएको र यसका लागि सबै खेलाडीले मेहनत गरेको पोचेटिनोको भनाइ थियो।

‘अब हामीले प्रदर्शनमा स्थिरता राख्न सक्नुपर्छ। प्रिमियर लिग कठिन प्रतियोगिता हो। यसमा प्रतिस्पर्धा गर्न हामी सक्षम छौँ, किनभने हामीसँग भएका खेलाडी स्तरीय छन्। भलै हालका लागि हामीले सबै खेलाडी उपयोग गर्न पाइरहेका छैनौँ,’ पोचेटिनोले भने, ‘जब सबै खेलाडी फिट हुन्छन्, तब हामी अवश्य पनि बलियो बन्नेछौँ। हरेक पोजिसनमा खेलाडीहरुबीच प्रतिस्पर्धा हुन थालेपछि हामी निरन्तर लोभलाग्दो खेल देखाउन सक्नेछौँ।’

जितपछि चेल्सी ११ अंक बटुलेर ११ औँ स्थानमा छ। शनिबार राति भएकाहरू खेलमा चेल्सीको सहरी प्रतिद्धन्द्धी टोटनहम र फुलहम विजयी भए।

टोटनहमले लुटनलाई १-० र फुलहमले सेफिल्ड युनाइटेडलाई ३-१ ले पराजित गरे। त्यसैगरी एभरटनले बर्नमाउथमाथि ३-० को जित दर्ता गर्‍यो। एभरटनका लागि यो जारी सिजनको दोस्रो जित हो। जितसँगै एभरटन १५ औँ स्थानमा उक्लिएको छ।

१० खेलाडीमा सीमित भएको टोटनहम लुटनलाई हराएपछि शीर्षस्थानमा पुगेको छ। यसपालि एकै खेल नहारेको टोटनहमको आठ खेलबाट २० अंक छ। दोस्रो स्थानमा म्यानचेस्टर सिटी र तेस्रो स्थानमा आर्सनल छन्।

यी दुई टिम आइतबार राति आमनेसामने हुँदैछन्। आर्सनललाई हराए सिटीको २१ अंक हुनेछ।

प्रकाशित: २१ असोज २०८० ८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast