आजदेखि चाडपर्व लक्षित सुपथ पसल : कहाँ–कहाँ छन् बिक्री केन्द्र?

हिमाल प्रेस २१ असोज २०८० ७:४५
12
SHARES
आजदेखि चाडपर्व लक्षित सुपथ पसल : कहाँ–कहाँ छन् बिक्री केन्द्र? सांकेतिक तस्बिर।

काठमाडौँ- सरकारले दसैँ, तिहार, छठमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आज (आइतबार)देखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ।

सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आउँदो मंसिर ३ गतेसम्म सहुलियत पसल सञ्चालनमा गर्नेछन्।

उपभोक्ताको सहजताका लागि अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन मुख्य पर्वको अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

सरकारले सुपथ पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपलब्ध गराउने उद्देश्य राखेको छ।

चाडपर्वको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ।

काठमाडौँ उपत्यकामा रहेका बिक्री केन्द्र र तीन घुम्ती पसल गरी ३५ ठाउँबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री वितरण हुनेछ।

काठमाडौँ उपत्यका बाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम-पूर्व र रुकुम-पश्चिममा सुपथ पसल सञ्चालन हुँदैछन्।

यस्तै रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा पनि सहुलियतपूर्ण पसल सञ्चालन हुनेछन्।

खाद्य व्यापार कम्पनीले ४२ जिल्लाका ४८ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने प्रवक्ता शर्मिला न्यौपानेले जानकारी दिइन्।

कम्पनीले सञ्चालनमा ल्याएका बिक्री कक्षबाट उपभोक्ताले सबै किसिमका चामल, दाल, गहुँ, आटा, पीठो, र सबै प्रकारका तेल, कर्णालीको सिमी, फापर, चिनो, कागुनो र खसीबोकामा छुट पाउने छन्।

काठमाडौँ उपत्यकाभित्र रामशाहपथ, थापाथली, नख्खु र सूर्यविनायक तथा विभिन्न जिल्लामा रहेका बिक्री कक्षबाट सहुलियत दरमा खाद्यान्न उपलब्ध हुनेछ। खाद्य व्यापार कम्पनीले अनलाइनबाट पनि सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्नेछ।

कम्पनीले थापाथलीको बागमती प्रादेशिक कार्यालयका साथै देशभरका बिक्री कक्षबाट सुपथ मूल्य पसल सञ्चालन गर्नेछ। सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार रुपैयाँ बजेट छुट्याएको छ।

यस्तै साल्ट्र ट्रेडिङले पनि काठमाण्डौ उपत्यकाको सतुंगल, कालीमाटी, पाटन, जडीबुटी, कौशलटार, भक्तपुर र सिफलसहित देशभरका कार्यालयमा सहुलियत पसल सञ्चालन गर्दैछ। साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले एक करोड छुट्याएको छ। साल्ट ट्रेडिङले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बिक्री गर्नेछ।

साल्ट ट्रेडिङले नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिनेछ। दुग्ध विकास संस्थानले घीउमा प्रतिकिलो २०, पनिर प्रतिदुई सय ग्राममा २० रुपैयाँ छुट दिनेछ।

प्रकाशित: २१ असोज २०८० ७:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =