आईएफए र नेफेजबीच जलवायु कूटनीतिमा सहकार्य गर्न हातेमालो

हिमाल प्रेस १५ असोज २०८० १९:१०
26
SHARES
आईएफए र नेफेजबीच जलवायु कूटनीतिमा सहकार्य गर्न हातेमालो

काठमाडौँ- परराष्ट्र मन्त्रालय मातहतको कूटनीतिक ‘थिंक ट्यांक’ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) र नेपाल वातावरण पत्रकार समूह (नेफेज)बीच जलवायु परिवर्तन र जलवायु कूटनीतिका विभिन्न विषयमा सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ।

वातावरणका राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दा, दिगो विकास, हरित अर्थतन्त्र, जलवायु शरणार्थीजस्ता राष्ट्रिय, अन्तर्राष्ट्रिय विषयमा प्रतिष्ठान र नेवापसले सहकार्य गर्ने प्रकृतिका भएकाले समझदारी गरिएको हो।

समझादारीअनुसार यस्ता विषयमा दुवै संस्थाले बहस, छलफल, अन्तर्क्रिया र शोध अनुसन्धान गर्नेछन्। सोमबार प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक राजेन्द्र पाण्डे र नेवापसकी अध्यक्ष रोशनी अधिकारीले समझादारीपत्रमा हस्ताक्षर गरे।

समझदारीअनुसार प्रतिष्ठानले वातावरणको संरक्षण, संवर्द्धन, जलवायु परिवर्तन, अनुकुलन र न्यूनीकरणसम्बन्धी नीतिनिर्माण प्रक्रियामा समूहलाई संलग्न गराउने छ भने समूहले प्रतिष्ठानको नीतिनिर्माण तथा कार्यान्वयन प्रक्रियामा विशेषज्ञहरूको राय उपलब्ध गराएर वा स्वयं संलग्न रही सहयोग गर्नेछ।

प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक पाण्डेले जलवायुको मुद्दाबाट कुनै पनि देश टाढा रहन नसक्ने बताउँदै उच्चस्तरीय भ्रमणका क्रममा सरकारले यस्ता विषयलाई भ्रमणको एजेण्डा बनाउनुपर्ने बताए। ‘कूटनीतिक क्षेत्रका अन्य एजेण्डाका अतिरिक्त जलवायु कूटनीति छुटाउनै नहुने एजेण्डा बनिसकेका छन्, तर उच्चस्तरीय भ्रमणमा यस्ता विषय अझै प्राथमिकतामा पर्न नसकेका बेला समूहसँगको समझदारी महत्वपूर्ण हुने मेरो विश्वास छ,’ उनले भने।

नेवापसकी अध्यक्ष अधिकारीले जलवायुको विषय विशुद्ध वातावरणसँग मात्रै जोड्न नमिल्ने उल्लेख गर्दै राष्ट्रिय, अन्तर्राष्ट्रिय अर्थ नीतिमा पनि उत्तिकै जोडिएको बताइन्।

प्रकाशित: १५ असोज २०८० १९:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast