पोखरामा अवतरण हुन नसकेपछि काठमाडौँ फर्किए यती र श्री

मौसमको समस्याले अवतरण हुन सकेन : विमानस्थल

हिमाल प्रेस १५ असोज २०८० ११:५५
12
SHARES
पोखरामा अवतरण हुन नसकेपछि काठमाडौँ फर्किए यती र श्री

पोखरा- काठमाडौँदेखि पोखराका लागि उडेका २ जहाज सोमबार बिहान फर्किएका छन्।

मौसमको खराबीका कारण यती र श्री एयरलायन्सको विमान पोखरा अवतरण नगरी बीचैबाट त्रिभुवन विमानस्थल अवतरण भएका हुन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्राविधिक समस्या आएको भनिए पनि त्यस्तो नभई मौषम नै मुख्य बाधक भएको पोखरा विमानस्थलको दाबी छ।

विमानस्थल प्रवक्ता जसोदा सुवेदीले उपकरणले काम नगरेर नभई मौसम खराबीका कारण विमान फर्किएको बताइन्। ‘जहाज डाइभर्ट भएकोले वेदर (मौसम) का कारण हो। हाम्रो सञ्चार उपकरणमा समस्या आएर होइन । कसरी समाचार प्रेषित हुन पुग्यो म नै छक्क छु।’

उनले अगाडि भनिन्, ‘हाम्रो एउटा टेलिफोनमा लाइन सानो डिस्टर्व भाथ्यो, टेलिफोनले गर्दा जहाज डाइभर्ट हुँदैन। टेलिफोन छैन है भनी काठमाडौँ टावरलाई खबर गरिएको मात्र हो। त्रिभुवन विमानस्थलबाट कसरी त्यस्तो म्यासेज गयो म पनि छक्क छु।’ टेलिफोन लाइन समस्यासमेत समाधान भइसकेको उनले प्रस्ट पारिन्।

मौसम खराबीका कारण अहिले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै जहाज अवतरण हुन नसकेको उनले बताइन्। सोमबार एउटा मात्र फ्लाइट भएको छ। सोमबार बिहान ७ बजेर ५१ मिनेटमा बुद्ध एयरको जहाज अवतरण हुन सकेको थियो।

त्यसपछि मौषममा खराबी आएको विमानस्थल प्रवक्ता सुवेदीले बताइन्। बिहान ८ बजेर १३ मिनेट जाँदा यती र श्री एयरलायन्सको विमान डाइभर्ट भएको घोषणा गरिएको थियो।

अहिले पनि (साढे ११ बजेसम्म) कुनै जहाज पोखरा विमानस्थलमा अतवरण हुन सकेका छैनन्।

प्रकाशित: १५ असोज २०८० ११:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 18 =