राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस पाटन दरबार क्षेत्र जाँदै

हिमाल प्रेस १२ कार्तिक २०८० १३:५६ | Sunday, October 29, 2023
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस पाटन दरबार क्षेत्र जाँदै

काठमाडौँ- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकनमा जाँदैछन्। नेपाल भ्रमणमा रहेका गुटेरेसले आइतबार दिउँसो पाटन दरबार क्षेत्रको अवलोकन भ्रमणमा आउन लागेका पाटन सङ्ग्रहालय अधिकृत सुरेशमान लाखेले जानकारी दिए।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले दिएको जानकारीअनुसार पाटन दरबार क्षेत्र अवलोकनमा जाँदा गुटेरेसलाई महानगरका प्रमुख महर्जन, उपप्रमुख मञ्जली शाक्य, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, वडा नं १६ का वडाध्यक्ष निर्मलरत्न शाक्य, वडा नं १२ का वडा अध्यक्ष नारायणलाल अवाले, पाटन दरबार क्षेत्रका प्रमुख मञ्जु सिह, सङ्ग्रहालय अधिकृत सुरेशमान लाखेसहितले स्वागत गर्ने कार्यक्रम छ।

अवलोकन भ्रमणपश्चात् महासचिव गुटेरेस पत्रकारसँग सङ्क्षिप्त प्रतिक्रियासमेत दिने कार्यक्रम रहेको नगरप्रमुख महर्जनले बताए। उपत्यकाका प्रसिद्ध तीन सहरमध्ये पाटन सबैभन्दा पुरानो सहर मानिन्छ। यो सहर बरदेवले स्थापना गराएका हुन्। पाटन दरबार क्षेत्र एक प्राचीन स्मारकको धरोहरका रूपमा छ।

यहाँ सत्रौँ शताब्दीदेखिका कला र सांस्कृतिक सम्पदा रहेको छ। पाटन दरबारभित्र केशव नारायणचोक, मूलचोक र सुन्दरीचोक गरी मुख्य तीन वटा चोक रहेका छन्। केशवनारायणचोक सबैभन्दा पुरानो चोक हो।

नेपालको औपचारिक भ्रमणमा रहेका गुटेरेसको अवलोकन भ्रमणका लागि सुरक्षा व्यवस्थाको आवश्यक प्रबन्ध भइसकेको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले बताए। विदेशी विशिष्ट व्यक्तित्व नेपाल भ्रमणमा आउँदा राष्ट्रप्रमुख, सरकार प्रमुखसँग भेटघाटसँगै विश्वसम्पदा सूचीमा समावेश पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्ने परम्परा बन्दै गएको छ। रासस

प्रकाशित: १२ कार्तिक २०८० १३:५६ | Sunday, October 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast