यी हुन् हरेक दसैँमा बज्ने गीत

सुस्मिता बजगाईं १ कार्तिक २०८० १४:०५ | Wednesday, October 18, 2023
यी हुन् हरेक दसैँमा बज्ने गीत

काठमाडौँ- नेपालीको ठूलो चाड हो दसैँ। मालश्री धुन बज्न थालेपछि सबैलाई दसैँ लागेको भान हुन्छ। सर्जक तथा गायकहरुले पनि तीज सकिएलगत्तै दसैँ गीत सार्वजनिक गर्न थाल्छन्।

बर्सेनि दसैँ लक्षित नयाँ गीत सार्वजनिक हुन्छन्। भ्युज पनि राम्रै गएको हुन्छ तर चाडपर्वमा भने पुरानै गीत चर्चामा आइदिन्छन्। ‘मुगलान’ फिल्ममा समावेश गरिएको ‘दसैँ आयो…’ बोलको गीत पनि दसैँमा गुञ्जिन्छ। यो पुरानो गीत हो।

गीतले दशकभन्दा पनि बढी समय काटिसक्यो। कतिपयले यही गीत घन्किएपछि दसैँ लागेको महसुस गर्छन्। गीतले पनि छुट्टै उमंग थपिदिन्छ। लोकनाथ सापकोटाको शब्द रहेको गीतमा उदितनारायण झा, दीपा झा, नारायण लामा जुना प्रसाईको स्वर छ।

त्यस्तै अर्को गीत छ सुगम पोखरेलको स्वर र संगीत रहेको ‘दसैँ तिहार…’। गीत सार्वजनिक भएकोे एक दशक बितिसक्यो। अहिलेसम्म पनि गीत उत्तिकै चर्चित छ। रवि श्रेष्ठको शब्द रहेको गीतमा विवश पौडेलले संगीत संयोजन गरेका छन्। यो गीत बजेपछि चंगा उडाउने गरेको र परदेशीको पीडा झल्काउँछ।

यी दुई गीतले धेरै मानिसको बिगतमा पिङ खेलेको, परदेश गएका दाजुभाइ गाउँ फर्केको, साथीभाइसँग रमाइलो गरेको याद ताजा गराइदिन्छन्।
यसबाहेक पनि केही गीत निकै चर्चित छन्। जुन प्रत्येक वर्ष दसैँमा घन्किन्छन्।

बाटो हेरे हुन्छ है घरमा

‘बाटो हेरे हुन्छ है घरमा’ बोलको गीत पनि चर्चित छ। परदेशी घर फर्किएको खुसीको भाव बोकेको गीत बज्दा सबैको मनमा उमंग छाउँछ। गीतमा रेशम सापकोटा, प्रकाश क्षेत्री र विष्णु माझीको स्वर छ। गीतमा गायक रेशमकै शब्द र संगीत छ।

दसैँ नै हो कि

गायक योगेश्वर अमात्यको स्वर रहेको ‘दसैँ नै हो कि यो मरो दशा’ बोलको गीतले पनि बर्सेनि  चर्चा कमाइरहेको छ। गीत पप रक शैलीमा तयार गरिएको छ।

फौजीलाई कुन हो दसैँ

सशस्त्र प्रहरी बल (एपीएफ) ले निर्माण गरेको ‘फौजीलाई कुन हो दसैँ’ बोलको गीत दसैँमा गुन्जिन्छ। राष्ट्रसेवक कर्मचारीप्रति समर्पित गीतमा जगदीश समालको स्वर छ। दीपक कोइरालाको शब्द रहेको गीतमा गैरे सुरेशले संगीत भरेका छन्।

एपीएफले नै निर्माण गरेको अर्को गीत ‘धानकै बाला’ पनि चर्चित छ। गीतमा स्व.जयनन्द लामाको स्वर दिएका छन्। लामाकै शब्द र संगीत छ।

दसैँ तिहार आइसक्यो

विष्णु माझीको एकल स्वर रहेको ‘दसैँ तिहार आइसक्यो’ बोलको गीतले दसैँमा बाटो कुरेर बसीरहेकी प्रेमिकालाई सम्बोधन गरेको छ। सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको यो गीत पनि दसैँमा गुञ्जिने गर्छ।

गावैँ रमाइलो

त्यस्तै अर्को गीत ‘गावैँ रमाइलो’ बोलको दसैँ गीतमा विमल परियार र सविता परियारको स्वर छ। शिव हमालको शब्द र संगीत रहेको गीतमा सुनिल परियारले संगीत संयोजन गरेका छन्।

दसैँ तिहारमा रातै रमाइलो

नन्दु परियार र शान्तिश्री परियारको स्वर रहेको ‘दसैँ तिहारमा रातै रमाइलो’ गीत पनि चर्चित छ। खेम सेञ्चुरीको शब्द र संगीत रहेको गीतमा बिबी अनुरागीले संगीत संयोजन गरेका छन्।

दसैँ आयो

टंक बुढाथोकीको स्वर रहेको गीत ‘दसैँ आयो’ बोलको गीतमा झोटन मेहेताको शब्द छ। गीतले राष्ट्रसेवक घर फर्किन नपाएको पीडा बोलेको छ। झोटन र ओम प्रकाश राईको संगीत रहेको गीतमा समावेश गरिएको तिहार गीतको शब्द टंकको छ।

‘फेरि आयो दसैँ तिहार’

‘फेरि आयो दसैँ तिहार’ बोलको गीतमा विष्णु माझी, खुमन अधिकारी र सुन्दरमणि अधिकारीको स्वर छ। सुन्दरमणिकै शब्द र संगीत रहेको गीतले गरिबीको व्यथा बोलेको छ।

पशुपति शर्मा र सम्झना भण्डारीको ‘बाबियो काटेर’, तिलक बस्नेत र कविता खत्रीको ‘दसैँ आयो’, छेवाङ लामाको ‘दसैँ तिहार’, सागर आले र सायरा मगरको ‘दसैँ आयो तिहार आयो’, पशुपति शर्मा र टीका सानुको ‘निधारमा छपक्कै टीका’ लगायत गीत पनि भ्युजको आधारमा चर्चित छन्।

प्रकाशित: १ कार्तिक २०८० १४:०५ | Wednesday, October 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast