 म्यानचेस्टर युनाइटेडविरुद्ध दोस्रो गोल गर्दै म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड। तस्बिर : रोयटर्स
                            म्यानचेस्टर युनाइटेडविरुद्ध दोस्रो गोल गर्दै म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड। तस्बिर : रोयटर्स
                                            काठमाडौँ– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडको स्तरमा के कति फरक छ? आइतबार रातिको खेलमा प्रस्ट देखियो। ओल्ड ट्राफोर्डमा सिटी सजिलै ३-० ले विजयी भयो।
उता लिभरपुलले पनि नटिङहम फरेस्टलाई उही ३-० कै अन्तरमा पन्छायो। एनफिल्डमा हासिल यो जित लिभरपुलले लुइस डियाजप्रति समर्पित गर्यो। जसका बुवाआमा कोलम्बियामा अपहरणमा परेको खबर छ।
ओल्ड ट्राफोर्डमा खेलअघि युनाइटेडका दिवंगत पूर्वकप्तान बबी चाल्टर्नलाई सम्झिइएको थियो। दुवै टिमका समर्थक चाल्टर्नको सम्मानमा श्रद्धाञ्जली लेखिएका ब्यानर बोकेर आएका थिए। ‘विश्व फुटबलले देखेको सबैभन्दा उत्कृष्ट इंग्लिस खेलाडी’ यसो लेखिएको ब्यानर पनि ओल्ड ट्राफोर्डमा टाँगिएको थियो।
चाल्टर्नलाई श्रद्धाञ्जली व्यक्त गरिँदै गर्दा भावुक बनेको ओल्ड ट्राफोर्डको माहोल खेल सुरु हुनासाथ फरक बन्यो। खेलमा आधा घण्टा बित्नै लागेको थियो, सिटीले अग्रता लियो। पहिलो गोल गरे एर्लिङ हालान्डले।
हालान्डले पेनाल्टीमा गोल गरेका थिए। रास्मुस होइलन्डले रोड्रीलाई लडाएपछि सिटीले पेनाल्टी पाएको थियो। युलियान अल्भारेजले फ्रिकिक प्रहार गर्दैगर्दा रोड्री युनाइटेडको बक्समा थिए। उनलाई घरेलु टिमका महँगा स्ट्राइकर होइलान्डले तानेपछि सिटीलाई भीएआरले पेनाल्टी दियो। रोचक के छ भने सिटीले ओल्ड ट्राफोर्डमा सन् १९९२ पछि पहिलोपटक पेनाल्टी पाएको हो।
दोस्रो हाफको ५० औँ मिनेटमा सिटीले अग्रता दोब्बर बनायो। यसपालि पनि गोल हालान्डले नै गरे। बर्नादो सिल्भाले बक्सको बायाँ भागबाट निकालेको क्रसमा हालान्डले हेड गोल गरेका थिए।
युनाइटेडविरुद्धको तेस्रो गोल फिल फोडनको नाममा रह्यो। प्रिमियर लिगमा ११ गोल गरेका हालान्डले फोडनका लागि असिस्ट गरेका थिए।
सहरी प्रतिद्वन्द्वीमाथि सजिलो जित हात पारेपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो टिमले यो सिजनकै उत्कृष्ट खेल देखाएको प्रतिक्रिया दिए। ‘यो बिन्दुमा हामी गएको सिजनभन्दा राम्रो खेलिरहेका छौँ। यसमा कुनै शंका छैन,’ बीबीसीसँगको अन्तर्वार्तामा ग्वार्डिओलाले भने, ‘ओल्ड ट्राफोर्डमा हामी सामान्यतया खराब खेल्दैनौँ। यद्यपि गएको सिजनमा हामी यहाँ हारेका थियौँ। यसपालि भने जित्न सकियो।’
जितपछि सिटीको १० खेलबाट २४ अंक भएको छ। पछिल्ला चार खेलमध्ये दुईमा पराजय भोगेको सिटी हाल तेस्रो स्थानमा छ। शीर्ष दुईमा टोटनहम र आर्सनल छन्। जसले क्रमशः २६ र २४ अंक बटुलेका छन्। चौथो स्थानमा लिभरपुल छ। आइतबार राति आफ्नो खेल जितेको लिभरपुलले २३ अंक जम्मा गरेको छ।

उता युनाइटेड भने आठौँ स्थानमा छ। लिगका सुरुवाती १० मध्ये पाँचमा हार व्यहोरेको युनाइटेडसँग १५ अंक छ। ‘यो हार अवश्य पनि पीडादायी छ। पहिलो हाफमा त हामीले योजनाअनुसारकै खेलेका हौँ। तर पेनाल्टीले खेल नै परिवर्तन गरिदियो,’ युनाइटेडका प्रशिक्षक एरिक टेन हागको प्रतिक्रिया थियो।
सिटी र युनाइटेड भिड्नुअघि लिभरपुलले घरेलु मैदानमा फरेस्टलाई पाखा लगाएको थियो। लिभरपुलको जितमा डिएगो जोटा, डार्विन नुनेज र मोहम्मद सलाहले एकएक गोल गरे। यी तीनले गत शुक्रबार युरोपा लिगमा टुलुजविरुद्ध पनि गोल गरेका थिए।
फरेस्टमाथिको जित लिभरपुलले एनफिल्डमा यो सिजनमा हासिल गरेको पाँचौँ हो। नयाँ सिजनको प्रिमियर लिगमा लिभरपुलले घरेलु मैदानमा शतप्रतिशत जित दर्ता गरेको छ।
लिभरपुलले यो सफलताको खुसीयाली खुलेर मनाएन। किनभने टिमका फरवार्ड लुइस डियाजकी बुवा अझै अपहरणमुक्त भएका छैनन्। बन्धुकधारीहरूले डियाजका आमाबुवालाई नै अपहरण गरेका थिए। आमालाई छाडिए पनि बुवा म्यानुएल डियाज भने बन्धक छन्।
कोलम्बियाली राष्ट्रिय टिमका खेलाडी डियाजका बुवाको खोजीका लागि सेना नै खटाइएको छ। त्यहाँको सेनाले खोजीकार्य जारी रहेको जानकारी दिएको छ। खोजीका लागि सेनाको दुई प्लाटुन, ड्रोन, हेलिकप्टर र राडरसहितको हवाईजहाज परिचालित छन्।
आफ्ना खेलाडीका अभिभावक अपहरणमा परेपछि खेलका लागि राम्रोसँग तयारी गर्न नसकिएको लिभरपुलका प्रशिक्षक योर्गन क्लपको भनाइ थियो।
‘मलाई लाग्दैन यसअघि मैले यत्तिको कठिन मानेर टिमलाई तयार पारेको थिएँ। मेरा खेलाडीको बुवा अपहरणमा परेका छन्। हामी सबैका लागि यो कठिन विषय हो, एउटा फुटबल खेलभन्दा कैयौँ गुणा बढी,’ क्लपले भने, ‘यो घडीमा हामी डियाजलाई सहयोग गर्न चाहन्छौँ। हामीले डियाजलाई हिम्मत नहार्न भनिरहेका छौँ। हामी योभन्दा बढी त के गर्न सक्छौँ र? हाम्रो हातमा के नै छ र?’

लिभरपुलको सुरुवाती गोल जोटाले गरेका थिए। पहिलो हाफको ३१ औँ मिनेटमा उनले रिबाउन्डमा गोल गरेका हुन्। मोहम्मद सलाहले निकालेको पासमा नुनेजले गरेको प्रहार फरेस्टका गोलरक्षक माट टर्नरले ब्लक गरेका थिए। तर रिबाउन्ड बल फरेस्टको रक्षापंक्तिले क्लियर गर्न सकेन। जसको फाइदा जोटाले उठाए। गोल गरेपछि जोटाले डियाजको सम्मानका लागि उनको सात नम्बरको जर्सी दर्शकदीर्घातिर देखाएका थिए।
पहिलो गोल गरेको केही मिनेटपछि नै लिभरपुलले अग्रता दोब्बर बनाएको थियो। सलाहबाट पास लिएका डोमिनिक सोबोजलाईले नुनेजका लागि बक्सभित्र क्रस निकालेका थिए। जसलाई नुनेजले गोलमा परिणत गरे।
सुरुका दुई गोलमा संलग्न भएका सलाहले तेस्रो गोल भने आफैँ गरे। सोबोजलाईले दिएको लामो पासलाई नियन्त्रणमा लिएका सलाहले फरेस्टका गोलरक्षक टर्नरलाई बिट गर्दै गोल गरेका थिए। लिभरपुलको काउन्टर अट्याक रोक्न टर्नर आफ्नो स्थान छाडेर निकै अगाडि आइपुगेका थिए। सलाहले उनलाई सजिलै पार लगाए र बक्सबाहिरबाट प्रहार गर्दै आठौँ लिग गोल गरे।
जितपछि चौथो स्थानमा रहेको लिभरपुलसँगको दूरी एस्टन भिल्लाले एक अंकमा झार्यो। २२ अंकसहित पाँचौँ स्थानमा रहेको भिल्लाले आइतबार राति नै लुटनलाई ३-० ले हराएको हो। भिल्लाले घरेलु मैदान भिल्लापार्कमा लगातार १२ औँ जित दर्ता गरेको हो।
उनाई एम्रीको प्रशिक्षणमा बलियो बनेको भिल्लाका लागि जोन म्याकगिन र मौसा डियाबीले एक-एक गोल गरे। अर्को गोल भिल्लाले उपहारस्वरूप पायो। लुटनका कप्तान टम लोकयरले आफ्नै पोस्टमा गोल गरेका थिए।
उता ब्राइटनको चमकमा भने कमी आउने क्रम आइतबार पनि जारी रह्यो। ब्राइटनलाई उसकै मैदानमा फुलहमले १-१ को बराबरीमा रोकेको हो। पहिलो हाफको २६ औँ मिनेटमा इभान फर्गुसनको गोलमार्फत अघि बढेको ब्राइटन दोस्रो हाफमा गोल खान पुग्यो। ब्राइटनबाट अंक खोस्न फुलहमका पाल्हिनाले बराबरी गोल फर्काएका थिए।
गत सिजन सनसनी मच्चाएको ब्राइटन यसपालि उही लयमा छैन। पछिल्ला पाँच खेलमा एक जित हात पारेको ब्राइटन हाल सातौँ स्थानमा छ।
ब्राइटनभन्दा दुई स्थान तल रहेको वेस्टह्याम युनाइटेड एभरटनसँग पराजित भयो। एभरटनको जितमा काल्भर्ट लेविनले निर्णायक गोल गरे। वेस्टह्याम लगातार दोस्रो खेलमा पराजित भएको हो। १५ औँ स्थानको एभरटनका लागि यो तेस्रो जित हो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 