मुगु घटनाको अनुसन्धान गर्न कुकुरसहितको टोली मन्दुमा

हिमाल प्रेस ११ कार्तिक २०८० १४:११ | Saturday, October 28, 2023
मुगु घटनाको अनुसन्धान गर्न कुकुरसहितको टोली मन्दुमा तस्बिर साभार : हाम्रो रारा रैबार

सुर्खेत- मुगुमा चार जनाको शंकास्पद मृत्यु भएको घटना अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको टोली खटिएको छ। जिल्लाको छायानाथ नगरपालिका–६ मन्दुमा शुक्रबार बिहान घरभित्रै आमा र तीन सन्तानसहित चार जनाको शव क्षतविक्षत भेटिएको थियो।

घटनाका सम्बन्धमा अनुसन्धान गर्न प्रहरी तालिम केन्द्र नेपालगन्जबाट अपराध अनुसन्धानमा खटिएको कुकुरसहितको प्रहरी टोली घटनास्थल छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँ पुगेको छ। टोलीले अनुसन्धान सुरु गरेको मुगुका डीएसपी वीरेन्द्र थापाले जानकारी दिए। नगरपालिकाका मेयर विष्णुकुमार भामका अनुसार २८ वर्षीया श्रीदेवी बोहोरा, उनका २ छोरा र एक छोरीको शव घरमा भेटिएको हो।

भामले श्रीदेवीसहित उनका ११ वर्षीय छोरा मनोज, ८ वर्षकी छोरी अप्सरा र १ वर्षका छोरा रहर मृत भेटिएको जानकारी दिए। घटनास्थल रक्ताम्मे देखिएकाले उनीहरूको हत्या भएको हुन सक्ने अनुमान प्रहरीको छ।  अनुसार घटनाको खबर पाउनासाथ शुक्रबार बिहान ११ बजे प्रहरी घटनास्थलमा प्रहरी पुगेको थियो।

श्रीदेवीका पति रोजगारीका सिलसिलामा दुबईमा रहेको नगरपालिकाका मेयर भामले जानकारी दिए। उनका अनुसार बुधबार बिहान श्रीदेवी सन्तानसहित दसैँको टीका लगाउन माइती गएकी थिइन्। बेलुका घर फर्किएका उनीहरूको घरमा तीन दिनसम्म चहलपहल देखिएको थिएन। घटना ८ गते नै भएको उनको भनाइ छ। चारैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा लगिएको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भीम ढकालका अनुसार मुगु घटनाको अनुसन्धानका लागि जुम्लाबाट एक र सुर्खेतबाट दुई टोली गएको छ।

सुर्खेतबाट विशेष अनुसन्धान गर्ने वरिष्ठ प्रहरी नायब उपरीक्षक नारायण शर्माको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली र अर्को एक टोली अनुसन्धान गर्न मुगु पुगेको छ।

प्रकाशित: ११ कार्तिक २०८० १४:११ | Saturday, October 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast