मार्सी धानमा रोग

हिमाल प्रेस २४ असोज २०८० ८:३० | Wednesday, October 11, 2023
मार्सी धानमा रोग

जुम्ला- जुम्लाको तातोपानी गाउँपालिकाको मार्सीधानबालीमा ब्लाष्ट रोगको संक्रमण देखापरेको छ।

भित्र्याउन लागेको याममा रोगले धानबालीलाई सखाप पारेपछि किसान चिन्तित बनेका छन्। स्थानीयवासी धनप्रसाद चौलागाईँले ब्लाष्ट रोगको समस्याले धानलाई क्षति गरेको बताए।

उनको खेतबाट करिब २२ क्विन्टल धान उत्पादन हुन्थ्यो। त्यही उत्पादनले वर्षभरि पुग्थ्यो। खेतमा पाकेको धानमा आगो लगाउनुपर्ने अवस्था आएको उनको भनाइ छ। तातोपानीको वडा नं ४, ५ र ६ मा मार्सीधान उत्पादन हुने फाँटमा बढी ब्लाष्ट रोगले धैरे क्षति गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले जानकारी दिए।

अगामी कात्तिक महिनाको पहिलो सातादेखि धान भित्र्याउने जुम्ली किसान एक्कासी धानमा संक्रमण भएको नेक ब्लाष्ट (घाँटी मरुवा) रोगले तातोपानीको अनुमानित करिब ८० हेक्टर धान बालीमा क्षति गरेको उनले बताए।

सबैभन्दा धेरै तातोपानी–५ स्थित लाम्रा, नगर, एैरेनी हाँक, हियाँखोलाका किसान बढी सो रोगबाट मारमा परेको स्थानीयवासी पूर्णप्रसाद चौलागाईँको भनाइ छ।

कार्यापालिकाको बैठकबाट पालिकाभित्रका किसानलाई उचित राहत प्रदान गरिने उपाध्यक्ष रेवती रावलले बताए। चन्दननाथ नगरपालिकाको–९ मा पनि उक्त रोगले धान बालीमा असर गरेको किसान बताउँछन्।

जिल्लामा अहिले तीन हजार हेक्टर क्षेत्रफलमा मार्सी धानको खेती हुने गरेको कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ। पछिल्लो समयमा स्वदेश तथा विदेशबाट जुम्ली मार्सी धानको चामल अत्यधिकरूपमा माग हुने गरेको जुम्ला सदरमुकाम खलंगा बजारमा सञ्चालन गरेको अर्गानिक पसलका सञ्चालक बताउँछन्।

प्रकाशित: २४ असोज २०८० ८:३० | Wednesday, October 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast