बेइजिङमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई ‘हर्टअट्याक’ : मुटुमा ‘स्टेन्ट’ राखियो, अवस्था सामान्य

हिमाल प्रेस २ कार्तिक २०८० १०:०५ | Thursday, October 19, 2023
बेइजिङमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई ‘हर्टअट्याक’ :  मुटुमा ‘स्टेन्ट’ राखियो, अवस्था सामान्य फाइल तस्बिर

काठमाडौँ- चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हर्टअट्याक भएपछि राति नै बेइजिङस्थित अस्पतालमा लगेर स्टेन्ट राख्ने काम सम्पन्न भएको छ। उनको स्वास्थ्य अवस्था यतिबेला सामान्य रहेको पारिवारिक स्रोतले बतायो। चिनियाँ समयअनुसार बुधबार  राति एक बजेतिर छातीमा निकै असहज भएपछि सहयोगीहरूले उनलाई अस्पताल पुर्‍याएका थिए।

अस्पताल पुग्दा उनलाई ‘माइल्ड हर्ट अट्याक’ भएको पुष्टि भएको थियो। एन्जियोग्राम रिपोर्टमा मुटुको ठूलो नसामा ब्लक देखिएपछि स्टेन्ट राखिएको हो। आधुनिक प्रविधिबाट स्टेन्ट राखिएको हुनाले उनी केही दिनमा आरामले आफ्नो काम गर्न सक्नेछन्। यद्यपि तत्काल उडानमा जान नहुने हुनाले केही दिन श्रेष्ठ बेइजिङ रहन सक्नेछन्।

उपप्रधानमन्त्री श्रेष्ठ बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को तेस्रो सम्मेलनमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै त्यहाँ पुगेका थिए। उनले त्यहाँ राजनीतिक भेटघाट पनि गरिरहेका थिए। बुधबार दिउँसैदेखि उनलाई असहज भए पनि उनले मुटुको समस्या भन्ने भेउ नपाएको भ्रमणमा सहभागी एक अधिकारीले जानकारी दिए। शाहाकारी, मदिरा सेवन नगर्ने र स्वास्थ्यमा निकै ध्यान दिने भएका कारण श्रेष्ठले कमजोरी भने महसुस गरेका थिए।

सबै कार्यक्रममा सहभागी भएर साँझ होटल फर्केपछि झनै समस्या भएको ती अधिकारीले जानकारी दिए। त्यसपछि गृहमन्त्री श्रेष्ठ अलिक अत्तालिएका थिए। अनि निजी सचिवलाई सँगै राखेर बसे। त्यसपछि उनी राति एक बजे अस्पताल नै जाने निश्चित गरेर अस्पताल पुगेको उनको सचिवालयले जनाएको छ।

नेपालबाट चिकित्सकसहितको आफन्त टोली बेइजिङ जाने कि नजाने निर्णय भइसकेको छैन। यद्यपि चिनियाँ सरकारी अधिकारीहरूले श्रेष्ठको उपचारकै लागि कोही पनि आउन नपर्ने बताएका छन्। ‘हामीले राम्रो अस्पतालमा राखेर उपचार गराएका छौँ,’ बेइजिङस्थित चिनियाँ सरकारी एक अधिकारीलाई उद्धृत गर्दै श्रेष्ठको पारिवारिक स्रोतले भन्यो, ‘तपाईँहरू अत्तालिएर आउने कुरा फरक हो।  उहाँको उपचारकै लागि भनेर आउन पर्ने देखिँदैन। उपचारको सबै व्यवस्था हामी मिलाउँछौँ। ’

नेपाल सरकारले पनि श्रेष्ठको उपचारका सम्बन्धमा कसैलाई पठाउने या नपठाउने निर्णय लिन सकेको छैन। काठमाडौँमा रहेका श्रेष्ठका  निजी चिकित्सक टोलीले उनकाे उपचारमा स‌ंलग्न चिकित्सकसँग निरन्तर सम्पर्कमा रहेको बताइएको छ।

प्रकाशित: २ कार्तिक २०८० १०:०५ | Thursday, October 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast