गण्डकी- पोखरा महानगरपालिका-११ सेती नदीको किनारास्थित रामघाट केही वर्षअघिसम्म गाँजा, चरेसजन्य लागुऔषधको प्रयोग गर्ने दुर्व्यसनीको अखडाजस्तै थियो।
नजिकै रहेको गण्डकी अस्पतालबाट बेवारिसे शिशुहरूको शव पनि फाल्ने गरिन्थ्यो। लागुऔषध र फोहोरले कुरूप बनेको उक्त स्थान यतिबेला ड्रागन फ्रुटको बगैँचामा परिणत भएको छ।
पुनः समाज पोखराको व्यवस्थापनमा उक्त क्षेत्रमा तीन वर्षअघिदेखि सुरु गरिएको ड्रागन फ्रुट खेतीले यस क्षेत्रको पहिचान नै बदलिदिएको छ भने त्यहाँ उत्पादित ड्रागन फ्रुट बजारमा समेत पुगेको छ। ‘तीन वर्षअघि यहाँ ड्रागन फ्रुटको खेती गर्न सकिन्छ भन्ने विषय धेरैलाई पत्याउर लाग्दैनथ्यो,’ समाजका संस्थापक एवम् ड्रागन फ्रुट खेतीका संयोजक राजकुमारी गर्वुजा पुनले भनिन्, ‘बगैँचामा लटरम्म फल्न थालेको ड्रागनले यतिबेला सबैलाई खुसी बनाएको छ।’
उनका अनुसार तीन वर्ष अघिसम्म यो स्थान गाँजा, चरेसजन्य लागुऔषधमा फसेकाहरूको अखडाजस्तै थियो। त्यस्तो स्थानमा समाजका सदस्यको अथक प्रयाससँगै अहिले ड्रागन फ्रुटको सुन्दर बगैँचा बन्दा आफूहरु निकै खुसी बनेको उनको भनाइ छ।
२०७७ बाट सुरु भएको ड्रागन फ्रुट १६ महिनादेखि फल्न थालेको बताउँदै उनले उत्पादित फलको बिक्रीका लागि बजारको कुनै समस्या नरहेको जानकारी दिइन्।
पूर्णरूपमा प्रांगारिक मलको प्रयोग गरी उत्पादन गरिएको रातो ड्रागन फ्रुटको बजारमा माग राम्रो रहेको उनको भनाइ छ। ‘गरे के हुँदैन भन्ने सन्देश ड्रागन खेतीका माध्यमबाट दिन खोजेका हौँ,’ उनले भनिन्, ‘यदि कोही कसैले तालिम लिन खोज्छन् भने पनि हामी निःशुल्क तालिम दिन पनि तयार छौँ।’
सुरुमा कुनै तालिम बिना नै युट्युव हेरेकै आधारमा आफूहरूले ड्रागन फ्रुटको खेती थालेको पुन समाजका कोषाध्यक्ष शेरबहादुर पुनले बताए। अघिल्लो वर्ष करिब ३ लाख रुपैयाँ बराबरको ड्रागन फ्रुट बिक्री गरेको समाजले यसवर्ष करिब १० लाख रुपैयाँको बिक्री गर्ने लक्ष्य राखेको उनले बताए।
ड्रागन फ्रुट खेतीका लागि सुरुमा ४३ जनाबाट प्रतिव्यक्ति १ लाख रुपैयाँका दरले ४३ लाखकै बीउ पुँजीबाट थालिएको बताउँदै उनले हालसम्म करिब ३७ लाख खर्च भएको जानकारी दिए।
उनका अनुसार बगैँचामा पाँच सयवटा पिल्लरमा दुई हजार ड्रागन फ्रुटका बिरुवा रोपिएका छन्। प्रत्येक पिल्लर ८ सय ५० मा खरिद गरी व्यवस्थापन गरिएको हो भने भियतनामी ड्रागन फ्रुटका बिरुवा चितवनको गंगा श्री बहुउद्देश्यीय फार्मबाट किनेर ल्याइएको हो।
समाजले फार्मबाटै प्रतिकेजी ७ सय रुपैयाँमा ड्रागन फ्रुट बिक्री गर्दै आएको समाजका सदस्य खमबहादुर पुर्जाले बताए। ‘हामीले बजार मूल्यभन्दा केही सहुलियतमा ड्रागन फ्रुट बिक्री गरेका छौँ,’ उनले भने, ‘विषादीरहित प्रांगारिक मलको प्रयोग गरेर फलाइएको हुँदा यो अन्यभन्दा बढी गुणस्तरको भएको हाम्रो दाबी छ।’
समाजले ड्रागन फ्रुटको बिरुवा पनि बिक्री गर्दै आएको जानकारी दिँदै उनले प्रतिबिरुवा २ सय रुपैयाँमा बिक्री गरिएको बताए। बगैँचाको घाँस व्यवस्थापनसँगै बिरुवाका लागि आवश्यक मलका लागि छवटा पाडा खरिद गरी पालिएको र बगैँचाको नियमित रेखदेख गर्न एक जनालाई प्रत्यक्ष रोजगारी समेत दिइएको समाजले बताएको छ।
स्वास्थ्यका दृष्टिले बहुपोषणयुक्त ड्रागन फ्रुट बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबैका लागि उपयुक्त फल मानिन्छ।

                                             
                                             
                                             
                                             
                                             
                                             

