विश्व बैंक
                                            काठमाडौँ– विश्व बैंकले साउथ एसिया डेभलपमेन्ट अपडेट र नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२३ सार्वजनिक गर्दै आगामी वर्ष सन् २०२४ मा आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ।
नेपालले सन् २०२५ मा ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ। बढ्दो चालू खाता घाटा र मुद्रास्फीतिलाई विश्व बैंकले चुनौतीका रूपमा देखाएको छ। यो वर्षको वार्षिक औसत मुद्रास्फीति ७.८ प्रतिशत रहने अनुमान गरिएको छ।
नेपालले आउँदा दुई वर्ष चर्को मुद्रास्फीति खेप्ने विश्व बैंकको प्रक्षेपण छ। मुद्रास्फीति सन् २०२४ मा ७.५ प्रतिशत र सन् २०२५ मा ६.४ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। सन् २०२० मा कोभिड–१९ महामारीका कारण नेपालको आर्थिक वृद्धिदर नकारात्मक भएको थियो। केन्द्रीय तथ्यांक कार्यालयले गत आर्थिक वर्षमा २ प्रतिशत आर्थिक वृद्धिदर भएको जनाएको छ।
नेपालले अवलम्बन गरेको कसिलो मौद्रिक नीति र आयातमा गरिएको कडाइका कारण आर्थिक वृद्धिदरमा संकचन देखिएको विश्व बैंकले जनाएको छ। विद्युत् उत्पादनका क्षेत्रमा राम्रो प्रगति देखिएकाले त्यसको सकारात्मक प्रभाव औद्योगिक क्षेत्रमा देखिएको पनि विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ।
कर्जाको माग बढ्न नसक्नु र समग्र बजार माग खुम्चिँदा निजी क्षेत्रको लगानी बढ्न नसकेको प्रतिवेदनमा जनाइएको छ। त्यस्तै पशु चौपायामा देखिएको लम्पी स्कीन रोग र सिँचाइ अभावका कारण धान उत्पादनमा कमी आउँदा समग्र कृषि क्षेत्रको वृद्धिदरमा संकुचन आउनसक्ने अनुमान विश्व बैंकको छ।
सन् २०२५ सम्ममा नेपालको चालू खाता घाटा जीडीपीको तुलनामा ३.७ प्रतिशत पुग्ने अनुमान गरिएको छ।
केही दिनअघिमात्र एसियाली विकास बैंक (एडीबी) ले ‘नेपाल माइक्रो इकोनोमिक अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२३ को तुलनामा सन् २०२४ मा नेपालको अर्थतन्त्र सुधार हुने जनाएको थियो।
एडीबीले नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा १.९ र सन् २०२४ मा ४.३ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको थियो।

                                             
                                             
                                             
                                             
                                             
                                             

