 तस्बिर सौजन्य : इन्द्र घिमिरे
                             तस्बिर सौजन्य : इन्द्र घिमिरे
                                            काठमाडौँ- दुर्गापक्षको मुख्य दिन मंगलबार घरघरमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइएको छ। दसैँको महत्त्वपूर्ण दिन विजया दशमीमा दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद मान्यजनबाट लगाइएकाे हाे। अधिकांशले बिहान ११ बजेर २ मिनेटको उत्तम साइतमा टीका र प्रसाद गरेका छन्।
पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ।

घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो।
त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ। यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ।
यस अवसरमा गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमता वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 