नयाँबसपार्कमा घर फर्किने यात्रुको भीड

हिमाल प्रेस २८ असोज २०८० ८:५५ | Sunday, October 15, 2023
नयाँबसपार्कमा घर फर्किने यात्रुको भीड

काठमाडौँ– दसैँ सुरु भएपछि गोँगबुस्थित नयाँबसपार्कमा घर जाने यात्रुको भीड लागेको छ। सरकारले दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र संघसंस्था बन्द भएपछि शनिबारदेखि नै घर जाने यात्रुको घुइँचो लागेको हो।

नयाँबसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुद्देश्यीय प्रालिका प्रवक्ता पंकज मल्लले दैनिक २५ हजारभन्दा बढी यात्रु नयाँबसपार्कबाट बाहिरिन थालेको बताए।

‘लामो तथा मध्यम दूरीका सवारीसाधनमा अत्यधिक भीड लागेको छ। हामीले अहिले नयाँबसपार्कबाट बस छुट्ने समयसमेत अन्य समयकोभन्दा अगाडि सारेका छौँ’, उनले भने।

दसैँका लागि हालसम्म भने ६० हजार यात्रुले अग्रिम टिकट काटिसकेको लोत्से बहुद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बताए। दसैँका समयमा सहज रूपमा यात्रुलाई गन्तव्यस्थलसम्म पुर्‍याउने ध्येय लोत्से बहुद्देश्यीय प्रालिले बसको व्यवस्थापन गरिरहेको छ।

सरकारले दसैँको यातायात व्यवस्थापनलाई सहज बनाउनका लागि असोज २६ गते देशैभरका सार्वजनिक सवारीसाधनमा रुट परमिटसमेत खुला गरिसकेको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले विगतका वर्षभन्दा धेरै यात्रुहरु बाहिरिने अनुमान गरे। ट्राफिक प्रहरीले उपत्यका बाहिरिने यात्रुको सहजताका लागि विभिन्न उपत्यकाका विभिन्न १५ स्थानमा यात्रु सहायता कक्षसमेत सञ्चालन गरेको छ। उक्त सहायता कक्षबाट भाडादर, यात्रुलाई परेको समस्या सम्बोधन हुने बताइएको छ। रासस

प्रकाशित: २८ असोज २०८० ८:५५ | Sunday, October 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast