तल्लो सेती जलविद्युत्‌मा लगानी गर्न एडीबी र जाइका तयार

हिमाल प्रेस २३ असोज २०८० १५:५८ | Tuesday, October 10, 2023
तल्लो सेती जलविद्युत्‌मा लगानी गर्न एडीबी र जाइका तयार

काठमाडौँ- तल्लो सेती जलविद्युत् आयोजनामा लगानी गर्न जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र एसियाली विकास बैंक (एडीबी) तयार भएका छन्।

तनहुँ हाइड्रोले निर्माण गरिरहेको आयोजनामा लगानी गर्न दुवै सहयोगी संस्था सकारात्मक देखिएका हुन्। १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् निर्माणका लागि हाल वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम भइरहेको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार दुई वर्षभित्र तल्लो सेती जलविद्युत् आयोजना निर्माणको चरणमा जानेछ। आयोजनाको लागत २५ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

तनहुँ जलविद्युत् आयोजनाको १४० मिटर अग्लो कङ्क्रिट बाँधबाट प्राप्त हुने सेती नदीको रेगुलेटेड प्रवाह तथा मादी नदीको थप प्रवाहसमेत प्रयोग गर्न तल्लो तटीय क्षेत्रमा आयोजना निर्माण गर्न लागिएको हो।भवन बनाउने, बाटो बनाउने, पुल बनाउने काम आगामी आर्थिक वर्षमा नै सुरु गर्ने तयारी गरिएको आयोजना कार्यालयले जनाएको छ। कम्पनीले आयोजनाको विद्युत् उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरिसकेको छ।

आयोजनाअन्तर्गत बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ साराङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ। पानीको प्रवाहलाई ८ किलोमिटर लामो सुरुङमार्फत सेती नदीको संगमदेखि करिब ५०० मिटर तल्लो तटीय क्षेत्रमा पर्ने देवघाटस्थित कालीगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्धभूमिगत विद्युतगृहमा खसाली विद्युत् उत्पादन गर्ने योजना बनाइएको छ।

आयोजनाबाट बन्दीपुर गाउँपालिका–६, व्यास नगरपालिका–१३ र १४, देवघाट गाउँपालिका–२, ३ र ४, ऋषिङ गाउँपालिका–१ र ३, आँबुखैरेनी गाउँपालिका–५ र ६, भरतपुर महानगरपालिका–२९ का केही भाग प्रभावित हुनेछन्।

उत्पादित विद्युत्‌लाई २२० केभी दमौली–नयाँ भरतपुर प्रसारण लाइनमा जोडी राष्ट्रिय विद्युत् प्रणालीमा समाहित गरिनेछ। यसका लागि करिब २ किलोमिटर प्रसारण लाइनको निर्माण गर्नुपर्छ। आयोजनाबाट वार्षिक ५२ करोड युनिट विद्युत् उत्पादन हुनेछ।

प्रकाशित: २३ असोज २०८० १५:५८ | Tuesday, October 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast