डाक्टर कुट्ने दुई जना कारागार चलान

हिमाल प्रेस २६ असोज २०८० २१:२३ | Friday, October 13, 2023
डाक्टर कुट्ने दुई जना कारागार चलान

पोखरा- पोखराको मणिपाल शिक्षण अस्पतालका डाक्टरमाथि आक्रमण र अस्पताल तोडफोड अभियोगमा पक्राउ परेकामध्ये दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। कारागार चलान हुनेमा पोखरा-५ का विनय गुरुङ र पोखरा-१७ का छावा भनिने सुशील कार्की हुन्। सो घटनामा ७ जना जनही १ लाख धरौटीमा रिहा भएका छन्।

जिल्ला अदालतका न्यायाधीश ध्रुवकुमार पियाको इजलासले विनय र सुशीललाई पुर्पक्षका लागि कारागार चलान गर्ने र बाँकीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। धरौटीमा रिहा हुनेमा पोखरा-४ का सञ्जय पीडित भनिने सुजित मुल्मी, पोखरा-५, मालेपाटनका अभिनाश गुरुङ, पोखरा-५, पर्स्याङका अरुण गुरुङ, पोखरा-९, नयाँबजारका नितेश गुरुङ, पोखरा-९ नयाँबजारका विवेक गुरुङ, पोखरा-२० भलामका मनीष थापा र पोखरा-११ फूलबारीका प्रदीप गुरुङ छन्।

गत असोज ८ गते अस्पतालमा तोडफोड अभियोगमा प्रहरीले ९ जनालाई पक्राउ गरी स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाइ सरकारी वकिल कार्यालयमा अभियोगपत्र पेस गरेको थियो।

लमजुङ सुन्दरबजारकी ५७ वर्षीया सुकमाया दुराको मणिपाल शिक्षण अस्पतालमा उपचार क्रममा मृत्यु भएपछि मृतकका आफन्तले डाक्टरको लापरबाही भएको आरोप लगाउँदै विरोध प्रदर्शन गरेका थिए।

त्यसबेला अस्पतालमा झडपको स्थिति उत्पन्न भएको थियो। साथै डा. अनिल शाहमाथि आक्रमण हुँदा चिकित्सकहरू पनि आक्रोशित बने भने मृतकका आफन्त विरोध तथा तोडफोडमै उत्रिएका थिए। मणिपालको घटनालाई लिएर त्यसबेला देशभर चिकित्सक आन्दोलित बनेका थिए।

प्रकाशित: २६ असोज २०८० २१:२३ | Friday, October 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast