गाजामा अस्पतालमा आक्रमणप्रति नेपाल सरकारको निन्दा

हिमाल प्रेस ३ कार्तिक २०८० ७:०६ | Friday, October 20, 2023
गाजामा अस्पतालमा आक्रमणप्रति नेपाल सरकारको निन्दा परराष्ट्र मन्त्रालय

काठमाडौँ- सरकारले गाजाको एक अस्पतालमा बुधबार निर्दोष नागरिकको हत्या भएकामा स्तब्ध भएको जनाउँदै त्यसको निन्दा गरेको छ। साथै वार्ताका माध्यमबाट विवादको शान्तिपूर्ण समाधान हुनुपर्नेमा जोड दिएको छ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति निकालेर अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको आक्रमणको निन्दा गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ।

विज्ञप्तिमा सर्वसाधारणविरुद्ध भएको आक्रमणप्रति नेपाल सरकार गम्भीर रूपमा चिन्तित भएको तथा जस्तोसुकै परिस्थितिमा पनि नागरिकको सुरक्षाका लागि सम्बद्ध पक्षलाई आह्वान गरिएको छ। ‘हामी शान्तिमा विश्वास गर्छौँ। वार्ताबाट विवादको शान्तिपूर्ण समाधान गर्न आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।

गाजा सिटीमा रहेको अल-अहली अस्पतालमा भएको घातक विस्फोटमा सयौँको मृत्यु भएको थियो।
हमास नियन्त्रित गाजास्थिति प्यालेस्टिनी अधिकारीहरूले जानाजान हवाई हमला गरिएको भन्दै विस्फोटका लागि इजरायल जिम्मेवार रहेको आरोप लगाएका छन्। तर इजरायलले आफ्नो संलग्नता अस्वीकार गरेको छ।

प्रकाशित: ३ कार्तिक २०८० ७:०६ | Friday, October 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast