गाजाको अस्पतालमा भएको आक्रमणप्रति एमालेद्वारा निन्दा

हिमाल प्रेस १ कार्तिक २०८० १४:०० | Wednesday, October 18, 2023
गाजाको अस्पतालमा भएको आक्रमणप्रति एमालेद्वारा निन्दा एमाले अध्यक्ष केपी शर्मा ओली। फाइल तस्बिर

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्यालेस्टाइनी राज्यको गाजा सहरको अल अहरी अरब अस्पतालमा भएको आक्रमणको निन्दा गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार वक्तव्य प्रकाशित गरी घटनाको निन्दा गरेका हुन्।

‘आक्रमणमा परी उपचार गराइरहेका बिरामी, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामीका कुरुवा/आफन्त र अस्पताल परिसरमा सरण लिइरहेका नागरिक गरी ५०० भन्दा बढी मारिएको खबरले हामी स्तब्ध भएका छौँ,’ वक्तव्यमा उल्लेख छ। प्यालेस्टिनी अधिकारीहरूले इजरायली हवाई हमलाका कारण उक्त घटना भएको बताएका छन्। यद्यपि यसको रूपमा स्वतन्त्र पुष्टि हुन सकेकाे छैन।

ओलीले भनेका छन्, ‘रकेट आक्रमणबाट ठूलो विस्फोटसहित सिंगो अस्पताल भवन नष्ट हुनुका साथै बालबालिकासहित सयौँको संख्यामा मानिसहरू हताहत भएको विषय जति निन्दा गरे पनि कमी हुन्छ। हामी यस आक्रमणको कडा शब्दमा निन्दा र भर्त्सना गर्दछौँ।’

नेकपा (एमाले) शान्तिका पक्षमा रहेको वक्तव्यमा स्पष्ट पारिएको छ। यस्तै जुनसुकै खाले द्वन्द्व र समस्याको समाधान शान्तिपूर्ण वार्ताद्वारा गरिनुपर्छ भन्ने मान्यता राख्ने पार्टीको नीति रहेको वक्तव्यमा उल्लेख छ।

‘निहत्था नागरिक, अस्पतालमा उपचार गराइरहेका बिरामी र स्वास्थ्यकर्मीको ज्यान लिने गरी गरिएको अमानवीय आक्रमणबाट अन्तर्राष्ट्रिय कानुन, मानव अधिकार र मानवीयताका सबै सीमा उल्लंघन भएको छ’, ओलीले भनेका छन्।

एमालेले यस किसिमका क्रूर र अमानवीय आक्रमण तत्काल रोक्न, निहत्था नागरिकलाई सुरक्षित गर्न, उद्धार तथा आपत्कालीन सहयोगका लागि गाजापट्टीमा मानवीय सहायता प्रदायकहरू जानका लागि अनुमति दिन माग गरेको छ।

बीबीसीका अनुसार प्यालेस्टिनी अधिकारीहरूले इजरायली हवाई हमलाका कारण उक्त विस्फोट भएको बताएका छन्।

इजरायली सेनाले त्यो प्यालेस्टिनी ‘इस्लामिक जिहाद’ समूहको असफल रकेट प्रक्षेपणको नतिजा भएको दाबी गरेको छ। उक्त आरोपलाई उक्त सशस्त्र समूहले अस्वीकार गरेको छ।

प्रकाशित: १ कार्तिक २०८० १४:०० | Wednesday, October 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast