बाल्यकाल कलैया र मूलपानीमा बिताएका विजय फुयालका पिता सरकारी जागिरे थिए। त्यही कारण उनी नेपालका अधिक क्षेत्र घुम्न पाए। सानैमा विभिन्न स्थानमा पुगे। सबै देखे। त्यसैले होला उनलाई सरकारी जागिरको भूत कहिल्यै चढेन। साथीहरूले अधिकृतको परीक्षा दिऊँ न त भन्दा उनी भन्थे, ‘यो सरकारी जागिर खाँदै खान्नँ।’
आफन्त र साथीभाइको करले नेपाली सेनाको क्याडेट हुने चक्करमा भने उनी लागे। अन्तिममा फालिएपछि उनकै आकांक्षा पूरा हुने भयो। अनि उनलाई नेपालमा भन्दा बाहिर गएर अध्ययन गर्ने सोचाइ आयो। औद्योगिक व्यवस्थापनमा उच्च शिक्षा लिन भन्दै अमेरिका हान्निए। त्यहाँ छात्रवृत्ति पनि पाए पनि त्यो विषय पढ्ने एक्लै भएपछि फुयालले कम्प्युटर र कार्यालय व्यवस्थापनमा उच्च शिक्षा हासिल गरे। उनलाई अमेरिका बस्न मन लागेन। अमेरिकाभन्दा अस्ट्रेलियामा सहज हुने देखे। आफ्नो कर्मथलो अस्ट्रेलिया बनाउने सोचका साथ नेपाल फर्किए। विश्वकपको मौसम थियो। नेपालमै बसेर सन २००२ को विश्वकप स्क्रिनमा हेरे।
विश्वकप सकिएको चौथो दिन उनी अस्ट्रेलिया लागे। त्यतिबेला कमै नेपाली अस्ट्रेलिया पुग्थे। नेपाली दूतावास थिएन। उनले त्यहाँ केही महिना कडा संघर्ष गरे। पानपसल भए पनि आफ्नै गर्ने सोचका साथ अस्ट्रेलिया गएपछि त्यो सोचको पहिलो पाइला अघि बढ्यो। बिस्तारै आफ्नै कम्पनी खोले।। उनी दुई दशकदेखि अस्ट्रेलियामा छन्।
बेकर्स डिलाइट चेन कम्पनीअन्तर्गत आफ्नो बेकरी उद्योगलाई अघि बढाएका छन्। त्यसको चेन अस्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका र क्यानाडामा चेन छ। नेपालीले ७० भन्दा बढी र आफ्नो मात्र सात अनि सबै चेन मिलाएर ७ सयभन्दा बढी रहेको उक्त बेकर्स अस्ट्रेलियामा चर्चित, गुणस्तरीय र अलिक महँगो उत्पादनमा पर्दछ। बेकरीका सौखिन अस्ट्रेलियालीले यसलाई निकै रुचाएका छन्। उनको प्रोटिन उत्पादन गर्ने कम्पनी छ। अन्य कैयन् कम्पनीमा लगानीकर्ताका रूपमा उदीयमान उद्यमी हुन् फुयाल। उनै फुयााल गैरआवासीय नेपाली संघको महाधिवेशनका समयमा काठमाडौँ आउँदा हिमाल प्रेसका चन्द्रशेखर अधिकारीले गरेको कुराकानी :
गैरआवासीय नेपाली संघको विश्व सम्मेलनमा सहभागी हुन अस्ट्रेलियाबाट नेपाल आउनुभएको छ। कस्तो लाग्दैछ?
म अस्ट्रेलियाबाट नेपाल आइरहने गैरआवासीयमध्येमा पर्छु। सुरुका केही वर्ष अस्ट्रेलियामा आफूलाई स्थापित गर्न सक्रिय भएँ। त्यहाँ स्थापित भएपछि नेपाल आउने र यहाँ पनि केही गर्ने भनेर लागिरहेको छु। हामीले क्लाउड फन्ड बनाएर नेपालमा लगानी गरिरहेका छौँ।
नेपालमा व्यापार मात्र भइरहेको छ। यसकारण यहाँकै कच्चा पदार्थ उपयोग गरेर सञ्चालन हुने उद्योगमा संलग्न हुन मन छ। नेपालमा रड, सिमेन्टजस्ता उद्योग मौलाएको छ। त्यो दुःखद हो। यसले मुलुकको विकासमा कत्ति पनि हित गर्दैन। यिनले त प्रदूषण बढाउने मात्र हुन्। सरकारले नियमन गरेमा यस्ता उद्योग बिस्तारै किनारा लाग्नेछन्।
यहाँ केही गरूँगरूँ जस्तो लागेको छ। कतिपय साथीसँग कुराकानी भइसकेको छ। तर राजनीतिक नेतृत्वले सोच परिवर्तन नगर्दा समस्या छ। एनआरएनएको सम्मेलन हुँदैछ। लगानी होला भन्नेमा भन्दा पनि दलगत स्वार्थमा कुरा हुन्छ। त्यो राम्रो होइन। पहिला एनआरएनएले संगठित हुने क्रममा भनेका कुरा यतिबेला पूरा हुने क्रममा छ। अब विदेशमा रहेका नेपाली परिवार १० हजार डलर निकाल्न सक्ने हैसियतमा पुगेका छन्। त्यो रकम स्वदेशमा उपयोग गर्न सकेमा फाइदा हुनेछ। त्यसतर्फ सरकारको ध्यान गएको छैन।
जग्गा प्लटिङ, चीनको सामान नेपालमा र भारतको सामान नेपालमा बेच्ने एजेन्ट बनेर माथिल्लो स्तरको व्यवसायी बनिँदैन। कृषिमा उत्पादन नबढाएको मुलुक धनी हुने सम्भावना रहँदैन।
पहिला एनआरएनएले गरेको प्रतिबद्धता गफ मात्रै हुन् त उसो भए?
पक्कै, उतिबेला त्यो स्तरको लगानी गर्ने क्षमता कहाँ राख्थे त केहीले बाहेक। सबैलाई त्यो तहमा राखेर गफ गर्ने बेला भएको थिएन। अहिले पनि एनआरएनएभन्दा निधार खुम्चिन्छ। सरकारी निकायमा गएमा के माग्न आयो? कुन नेतासँग सेटिङ मिलाएर पो आयो भन्ने व्यवहार गर्छन्। अब हामीले त्यसलाई चिर्नुपर्छ।
पहिला केहीले बैंकिङ, हाइड्रो, जग्गालगायतमा लगानी गरेर मुलुकलाई भन्दा आफूलाई बनाए। अब व्यक्ति र मुलुक दुवै बनाउने गरी लगानी गर्न आवश्यक छ। सरकारी निकायलाई ठगेर होइन, व्यवसाय गरेर आफ्नो लगानी गर्ने र मातृभूमिलाई केही गर्ने अवस्था आएको छ।
म कृषि क्षेत्रमा लगानी गर्न सधैँ तत्पर छु। त्यो योजना कसैसँग भए मिलेर काम गर्न पनि तयार छु। बुद्ध एयरले सुरु गरेको खेती होस् वा केही बैँकहरूले आफ्नो पारिवारिक सदस्यका नाममा कम्पनी खोलेर सरकारले दिने सहुलियत ऋण उपयोग गरेको सन्दर्भ होस्, यी उदाहरणीय काम हुन्। तर खान पुग्ने शैलीमा होइन मिलेर व्यावसायिक हिसाबमा काम गर्न आवश्यक छ। यसरी हामी राम्रा काममा संलग्न हुनुपर्छ। हाम्रा सन्ततिलाई यहाँको मार्केट बुझाउन सक्नुपर्छ।

नेपालमा उत्पादन हुने उद्योगमा लगानी गर्ने सोच राखेर काम गर्ने योजना केके छन् त?
नेपालमा आफ्नो उत्पादन जिरोजस्तै छ। चामल पनि हामी भारतबाट ल्याएर खाने गरेका छौँ। मासुका लागि भारतबाट खसीबोका र कुखुरा ल्याउनुपर्ने अवस्था छ। दैनिक खानेकुरामा आत्मनिर्भर नबनेसम्म मुलुक धनी हुनै सक्दैन। यसमा नीति निर्माण गर्ने तहमा रहेकाहरूले ध्यान दिनुपर्छ। कर्मचारीले पनि चासो राख्नुपर्छ। हाम्रो शिक्षामा नै कमी भएर यस्तो अवस्था आएको हो कि जस्तो पनि लाग्छ।
कर्मचारीको सोच सम्झँदा र नेताको कुरा सुन्दा यस्तै लाग्छ। यो सोचाइमा परिवर्तन ल्याउन सक्नुपर्छ। हाम्रो मुलुकमा भएको उत्पादन अन्तर्राष्ट्रिय बजारमा पुग्न असहज छ। उत्पादनमूलक अर्थव्यवस्था भएन भने पैसाले पैसा त बनाउला तर मुलुक धनी हुँदैन। हामी ठूला उद्योग खोल्ने र नेपालमा लगानी गराउने तयारी गरिरहेका छौँ। त्यसमार्फत सानासाना उत्पादनमा सहयोग भइरहेको छ। हामी बिस्तारै त्यही मार्केटमा छिर्ने योजना छ। चितवनमा रहेको डेरी पनि हामीले हेरेका छौँ। तर त्यसको कन्सेप्ट र लगानी मेल नखाएका कारण अघि बढ्न सकेका छैनौँ।
नेपालमा समुदायमा आधारित कृषि राम्रो हुन्छ। तर सरकारले त्यसअनुरुपको सोच लिएको छैन। यस्तो खेती कम्पनीमार्फत गर्न सकिन्छ। हामीले धनुषामा ४० बिघा किनेर खेती गरिरहेका छौँ। हामी मध्यपहाडी लोकमार्गको आसपासमा पनि खेती गर्ने र काम गर्ने सोचमा छौँ। यस अतिरिक्त नेपालमा थोरै पैसामा राम्रो शिक्षा कसरी दिन सकिन्छ त्यसको चेन कताकता खोल्न सकिन्छ भनेर पनि लागिरहेका छौँ।
मैले माथि नै पनि भनेँ यहाँ सिमेन्ट कारखाना खोलेर प्रदूषण बढाउनु भन्दा भारतबाट किनेर ल्याए हुन्छ। चीनबाट किने पनि हुन्छ। न त्यसले रोजगारी सिर्जना गरेको छ न मुलुकमा राम्रो भएको छ। विदेशबाट पिठो र मसला ल्याएर चाउचाउ र बिस्कुट उत्पादन गर्दैमा मुलुक बन्दैन। हामीले यहाँ होटल उद्यमी, पर्यटकलाई भित्र्याउन पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गर्न आवश्यक छ।
सरकारले युवा पुस्तालाई लगानीमा प्रोत्साहन नगरेर विदेश पठाइरहेको विषयमा तपाईँको धारणा के छ?
उमेर र बल हुन्जेल खाडीमा दुःख गर्ने एउटा वर्ग छ। अनि उनीहरूले आफ्नो छोराछोरीलाई युरोप-अमेरिका पढ्न पठाउने वा नेपालमा राम्रो विद्यालयमा पढाएर उच्चशिक्षा हासिल गराएर खाडीमा नै उपल्लो तहमा जागिर गराउने सोच राखेको देखिन्छ। त्यसले गर्दा उनीहरू सधैँ परिवारविहीन भएका छन्।
हाम्रो मुलुकमा पैसा रहेन। खाडीमा कमाएको पैसा छोराछोरी पढाउन विदेश गयो। अनि यहाँ कमाएर पनि अध्ययन गर्न विदेश पठाउने चलन हुँदा यहाँ कत्ति पनि पैसा रहेन। सरकारको पैसा ८० प्रतिशत तलब भत्तामा खर्च हुन्छ। २० प्रतिशत मात्रै सरकारी लगानीले मुलुक कसरी धानिन्छ? कर्मचारीले जम्मा गरेर राखेको पैसाको खै उपयोग भएको? सञ्चय कोष भनौँ, लगानी कोष भनौँ। त्यहाँबाट पूर्वाधारमा लगानी नै भएको छैन। अनि कसरी पैसा चलायमान हुन्छ? हामीले यो वा त्यो चोर भनिरहनु भन्दा लगानी बढाउने र उद्योगधन्दा चलाउनेमा नै जोड गर्नुपर्छ।
पैसाको मूल्य नदेखिनु दुःखद हो। पहिला विश्वमा बस्ने नेपालीहरू यतिबेला लगानी गर्न सक्ने भइसकेका छन्। सरकारले उनीहरूलाई लगानी गर्न लगाउन सक्नुपर्छ। यो विषय न पत्रपत्रिकाले बाहिर ल्याएर सुझाउँछ न त कसैले?
पत्रकारिताले पनि समाजलाई डोर्याउन सकेन भन्नुको आसय?
यसमा शंका गर्नुपर्ने कुरा छ र? पत्रकारिता कस्तो भइरहेको छ? यसै हेरिरहेका छौँ नि! व्यावसायिक पत्रकारिता गर्नेहरू केही मात्र छन्। धेरैजसो त अलमलिएका छन्। उनीहरू जथाभाबी लेख्छन्, चिच्याउँछन् र कराउँछन् मात्रै। पत्रकारिताको हुलमा शालीन पत्रकारिता र बाटो देखाउने पत्रकारिता कताकता अलमलिएको पाउँछु। पत्रकारले पनि समाजलाई सही दिशा निर्देश गर्ने र सरकारलाई उत्तरदायी बनाउने हो। सोच बिग्रिएको समाजलाई कसरी सुधार गर्ने र कसरी सुधार्ने? यो विषयमा घोत्लिन आवश्यक छ।
पत्रकारले गर्ने भनेकै प्रश्न हो। तर त्यो काम इमानदारीसाथ भएको देख्दिनँ। पत्रकार पार्टीको भएको देखियो। पहिले जस्तोे मेहनत गर्ने पत्रकार कम देख्दै छु। पत्रकारिता पनि पार्टीगत हिसाबमा गएपछि मुलुकको झन् अधोगति हुनेछ। पहिला कांग्रेस भर्सेज कम्युनिस्ट थिए। अहिले त्यो पनि भद्रगोल छ।
अहिले त एक प्रकारको डरलाग्दो अवस्था छ। मेरो आमाले जब कुनै एक व्यक्ति हेर्नुहुन्छ एआईको कमाल भनौँ कि स्मार्ट फोन भनौँ सबै त्यही आउँछ। त्यो आएपछि हो यो मुलुकमा यो भन्दा बाहेक मानिस नै छैन भन्ने पर्छ। गलत नै कुरा भए पनि लगातार देखाउने गरेपछि त्यो सही हो भन्ने हुन्छ। यसैले पत्रकारिताले कुसूचना र भ्रामक सूचना दिइरहेको छ। त्यो स्तरको पत्रकारितामा परिवर्तन ल्याउन राज्यले मेहनत गर्नुपर्छ।
राज्य फितलो भएको हो त?
राज्यलाई सबै राजनीतिक दलले आफ्नो बिर्ताजस्तो बनाइसके। राज्यलाई लुट्ने र रकम परिवारमा राख्ने अनि विदेश लैजाने। एउटा नेताको छोरोले विदेशमा गएर के कमाल गर्छ र? उसले घर, ठूला कम्पलेक्स, ठूला बिजनेस खरिद गरिरहेको हुन्छ।
विदेशमा कसरी कमाउन सकिन्छ र कत्तिको कमाइ हुन्छ हामीलाई थाहा छ त। कोही बैँकिङ सेवा भन्ने हुन्डी गरिदिने अनि विभिन्न बहानामा आफ्नै पैसा सेतो बनाएर फर्काउने काम गरिरहेका छन्। यो डरलाग्दो हो। कसले नियमन गर्ने? हामी प्रणाली बनाउन खोज्दैछौँ। तर प्रणाली बनाउनेले नै त्यसका लुपहोल्सबाट खेलिरहेका हुन्छन्। यो पाटोमा पत्रकारिताका क्षेत्रबाट खबरदारी हुन आवश्यक छ। जस्तै- निजीलाई चलाउन दिएको सरकारी उद्योग चलाउन नसक्दा सरकारी नै हुन्छ भनेर किन लेख्न नसकेको? त्यही कारण भृकुटी कागज कारखानादेखि बाँसबारी छाला जुत्ता कारखाना डुबे। यस्तो प्रावधान राखिदिएको भए ती उद्योग जीवितै हुन्थे।
नेपालमा नीतिगत भ्रष्टाचार बढी छ। नेता र उनीहरूको नातेदारको सम्पत्तिमात्र छानबिनमा राखिदिए सबै स्पष्ट हुन्छ। तर त्यो कसले गर्ने?नेताले छोराछोरीलाई राम्रो शिक्षा दिनुपर्नेमा सानैदेखि लुटपाटमा संलग्न गराउने, चोर्न र कर छल्न सिकाउने, माफिया ग्याङमा संलग्न गराउन थालेपछि के हुन्छ? अहिले त्यही भइरहेको छ।
यसलाई कसरी परिवर्तन गर्ने?
हाम्रो विद्यालय शिक्षाको ढाँचा परिवर्तन गर्नुपर्नेछ। समुदायमा आधारित विद्यालय बनाएर त्यहीअनुरूपको शिक्षा दिने भएपछि निजी शिक्षालाई कि निकै महँगो बनाउनुपर्छ या त स्थान तोकेर खोल्न दिनुपर्छ। अन्य देशमा यस्तो अभ्यास छ। निजी विद्यालयमा पढाउन अभिभावकले विशेष रूपमा कर तिरेको हुनुपर्ने प्रावधान राख्न सक्नुपर्छ।
त्यस्तो भएपछि सबै समान विद्यालयमा जानेछन्। महँगा र राम्रा शिक्षा दिने विद्यालयमा अध्ययन गरेकाहरू विदेश जाने, कमसल विद्यालयमा पढेर सहर पसेकाहरू सरकारी सेवामा जाने, बीचमा राम्रो गरेकाहरू यहाँको राम्रो निजी क्षेत्रमा जाने भएपछि उनीहरूबीच पनि एक प्रकारको ‘टसल’ देखिन्छ। तिनमा समन्वय हुनै कठिन हुन्छ। आफ्नै गाउँको साथी राम्रो स्कुल पढेर विदेश गएको देख्दा सरकारीमा पढ्नेले फरक दृष्टिले हेर्नु स्वाभाविक हो। ऊ सरकारी सेवामा आएपछि गर्ने व्यवहार झन् झर्कोलाग्दो हुन्छ।
विदेशमा गएर अलिअलि पैसा कमाइन्छ अनि फर्कन चाहनेलाई मुलुकमा सहज वातावरण बन्दैन। मलाई पनि बाहिर गएर केही पैसा कमाउँछु र फर्केर यहीँ केही गर्ने हो भन्ने थियो। हाम्रो १८ पुस्तादेखि मूलपानीमा बसेको हुनाले पनि हाम्रो पुर्ख्यौली सम्पत्ति राम्रै थियो। यहीँ काम गर्ने योजना थियो। अझै पनि सोच छ। हाम्रो जस्तो मुलुुकमा त्यो अवसर पनि छ।
कसरी सम्भव होला र? नयाँ पुस्तालाई नेपाल फर्काएर काममा लगाउन?
किन नगर्ने? गरिहाल्छन् नि। यही हो स्कुलिङ भनेको। हामीले घरमा व्यावहारिक शिक्षा दिएका छौँ। राम्रा विद्यालय पढेका छन्। विश्वविद्यालय जाँदैछन्। उनीहरूलाई नेपाल भनेको भारत र चीनको मार्केट क्यास गर्ने मुलुक हो भनेर भनिरहनुपर्छ। त्यसपछि उनीहरूले अस्ट्रेलियामा भन्दा नेपालमा राम्रो अवस्था देख्छन्। अनि आउँछन्।
त्यसका लागि सरकारले वातावरण बनाउनुपर्छ। हामी सामान्य अवस्थामा गएर त अहिले यत्तिको लगानी गर्ने अवस्था बनेको छ। उनीहरूले सानैदेखि अध्ययन गरेका छन्। बुझाइ राम्रो छ भने गर्न सकिहाल्छन्। नेपालमा उत्पादित वस्तु चीन र भारततर्फ जान सक्छ भन्ने सन्देश दिन सक्नुपर्छ। लगानी सुरक्षित हुनुपर्यो र लगानीमैत्री वातारण बन्नुपर्यो अनि नेपालमा उत्पादन भएको वस्तु चीन र भारतमा लैजाने व्यवस्थापन हुनुपर्यो। त्यसपछि यहाँ लगानीको समस्या हुँदैन। नेपालमा बसेर दुईतिरको बजारमा छिर्न सकेमा धेरै हुन्छ भनेर बुझाउन सकेका नाँ पुस्ता निकै खुसी भएर आउनेछन्। मानिसहरू अबको मार्केट चीन हो भनेर चिनियाँ भाषा सिकिरहेका छन्। अनि हामी किन यसमा अलमल गर्ने?
केही दिनअघि एउटा टीभी सो हेर्दै थिएँ। सोध्ने पनि त्यस्तै अनि उत्तर दिने दुई जनाको बाझाबाझ देख्दा लाज नै लाग्यो। माडवारीलाई नेपालमा लगानी नै गर्न नदिने हो भने नीति ल्याउनुपर्यो अन्यथा जथाभाबी बोल्ने र जे पनि भन्न दिने अवस्था राख्नै हुँदैन। यसले निकै ठूलो घात गर्नेछ। नीति बनाएर कस्ने हो। जथाभाबी बोलेर मानिसलाई अपमान गर्न हुँदैन। त्यस्तो सन्देश गयो भने कसरी लगानी भित्रिन्छ?
व्यवसायमा महँगीको मार परेको छ कि छैन? कोभिड र रुस-युक्रेन युद्ध। इजरायल पनि युद्धमा छ। युद्धले पनि असर गरेको छ कि?
महँगीको मार संसारभर नै छ। तर कतिपय महँगी अनावश्यक छन्। कुनै युद्ध वा कोभिडसँग जोडिएको हुँदैन। तर बढाइराखेका हुन्छन्। अस्ट्रेलियामा ९० डलरमा एक टिन आउने चिज कोभिडमा १५० पुगेको थियो। अहिले २५० डलर कटाउँदा पनि चुप लागेर किन्नुपरेको छ। जबकि त्यो सबै अस्ट्रेलियाको उत्पादन हो। त्यहाँ युद्ध र कोभिडको के असर? बरु कोभिडको समयमा असर भन्न सकिन्छ तर अहिले? यहाँ त झनै कहाँ पुगेको होला? व्यापारीले सामान्य अवसर देख्नेबित्तिकै यसको मार भन्ने, मूल्य बढाउने अनि सरकारले वास्ता नगर्ने गर्दा समस्या आएको हो।
यहाँ त बजार अनुगमन पनि हुँदैन जस्तो लाग्छ। दूध, तेल सबै अन्यत्रभन्दा महँगो छ। एउटा अण्डाको भाउ १८ रुपैयाँ सुन्दा साना आम्दानी हुनेले कसरी आफ्ना बच्चालाई अण्डा खुवाउलान्? सम्झँदै दिक्क लाग्ने। महँगीले फाइदा भएको मुलुक भनेका अमेरिका, भारत, चीन र रुस हुन्। यसरी महँगी बढ्दा उनीहरूलाई फाइदा भएको छ। हाम्रो जस्तो मुलुक मर्कामा छ। हाम्रोमा महँगी अझ बढ्छ। खुला बजारले मानिसलाई अल्छी बनाएको छ। उत्पादन छैन यहाँ। बाँझै छन् खेतबारी। उद्योगधन्दा छैन। यहाँ त सबैलाई रातारात धनी हुनुपरेको छु। प्लाटिङ गर्ने र जग्गा बेच्नेहरू धनी भए। हुन त मानिस धनी र गरिब पैसाले होइन, सोचले हुने हो। यहाँ मापन पैसा बनाइदिए। जुन डरलाग्दो छ।
नेपालको आर्थिक अवस्था सुधारका केही उपाय भनिदिनुस् न?
छ वर्ष काम गरेका मानिसले सीपअनुरुपको लाइसेन्स पाउनुपर्छ। शैक्षिक योग्यता हासिल गरेकाहरूलाई पनि सोहीअनुसारको जिम्मेवारी दिनुपर्छ। अनि जसले जे जानेको छ त्यही गर्न दिनुपर्छ। लगातार काम गरेर गारो लगाउने घर बनाउनेसँग ओभरसियर पढेर आएर घर बनाउन लगाउने बाराबरको ज्ञान छ भने त्यसलाई पनि सर्टिफाई गर्न आश्यक छ। अनि मात्र समान ढंगले विकास हुनेछ। त्यो सोचेनौँ भने के काम लाग्यो र अहिले पढेको?
नियमकानुन मतलब छैन भन्दै पार्टीको नेता च्याप्ने कार्यले समस्या परेको हो। यहाँ त बदमासी गर्नेले पनि आममाफी पाउने चलन भयो। अनि हत्यारहरू आममाफी लिएर खुलमखुला र हिँड्न थालेका छन्। कतिपयले यही देखेर राजा ल्याउने कुरा गरिरहेका छन्। त्यो पनि गलत छ। राजाले सक्ने भए त्यही बीचमा सक्थे। आफैँ छोडेर बरालिएका राजालाई ल्याउने कुतर्क आवश्यक छैन। बरु राष्ट्रपति संस्थालाई सम्मानित बनाउने, उपराष्ट्रपतिको काम छैन भने विकल्प खोज्ने बेला आएको छ। अहिलेको व्यवस्था राम्रो छ। यसलाई व्यवस्थित गर्दै लैजन आवश्यक छ। साथै मुलुक पपुजिस्ट कुराले बन्ने होइन। पपुजिलमले बन्ने हो।
अस्ट्रेलिया पुगेर व्यवसायमा सफल हुनुको केही रहस्य छ कि?
सुरुमा आफैँले काम गरेर पछि किनेको हुँ। फेमिली वर्न व्यवसाय हो। अहिले सातवटा बेकरी छन्। केही पाइपलाइनमा पनि छन्। २०२४ मा नौवटा भन्दा बढी आफ्नै हुन्छ। यसको सात सय जति फ्रेन्चाईज छ भने नेपालीले नै लगानी गरेर चलाएको ७० जति छ। म अस्ट्रलिया काम गर्न भन्दा पनि व्यवसाय गर्न गएको थिएँ। त्यसैले बेकरी डिलाइट्समा प्रवेश गरेँ। सुरुमा बेकरीमा काम गरेँ। त्यो राम्रो चेन रहेछ। पछि उसले मलाई नै त्यो बेकरी चलाउने जिम्मा दिने भएपछि मैले पहिलो आउटलेट खोलेँ। आफूले नै बेकरी बनाउने निर्णय लिए। त्योे समयमा सानै जस्तो लागे पनि निकै महँगो र संवेदनशील व्यवसाय थियो।
म अमेरिकामा औद्योगिक व्यवस्थापन अध्ययन गर्न गएको थिएँ। तर त्यो विषय पढ्ने व्यक्ति भएपछि कम्प्युटर साइन्समा इन्जिनियरिङ र व्यवस्थापनमा स्नाकोत्तर गरेपछि क्यानडाको स्थायी बसोबासको स्वीकृत लिएँ। तर क्यानडा जानै मन लागे। नेपाल आएर अस्ट्रेलियाको पीआर भरेको थिएँ। पाएँ। सन् २००२ मा जापान र कोरियाले आयोजना गरेको विश्वकप हेरर म त्यता लगेको हुँ। म अस्ट्रेलिया जाँदा ऋण गरेको थिइनँ। अहिले पनि छैन। कतिपय साथीहरू क्यानडा लागे। अस्ट्रेलिया लागेका म र एकजना साथी खुसी नै छौँ।
एनआरएनएले ग्लोबल सम्मेलनमा ई भोटिङको प्रस्तावलाई कसरी लिनुभएको छ?
प्रविधिको प्रयोग गर्न आवश्यक छ। विभिन्न मुलुकमा हुने भोटिङ यसरी गर्दा हुन्छ तर ग्लोबल सम्मेलन जुन नेपालमा हुन्छ त्यसमा भने ई भोटिङ गर्न हुँदैन।
अर्को पटकबाट यो खारेज गर्नुपर्छ। किनभने एकपटक पनि नेपाल आउन नसक्नेले नेपालको नाममा गैरआवासीय किन भनिरहनुपर्ने? दसैँको वरपर हुने यो सम्मेलनमा चारपाँच हजार नेपाली विश्वभरिबाट नेपाल आउँदा अर्कै वातावरण हुन्छ। आर्थिक चलायमान पनि हुन्छ। अहिले त उम्मेदवार, प्रस्तावक र समर्थक मात्र आउँदा आठ सय हजार जना पुग्लान्।
सम्मेलनमा भोट दिने सबै उपस्थित हुनुपर्ने भनिएको भए ती मानिस आउँथे। आफैँ आउन नसक्नेलाई उम्मेदवारले भोटका लागि भने पनि ल्याउँथ्यो। अहिले गर्न लागेको ई भोटिङ मुलुकप्रति अन्याय हो। यसले मतको ठेकेदारी बढाउँछ। यस्ता विषयमा गैरआवासीय नैपाली र यसका संस्थापक चनाखो भएर सुधार गर्न आवश्यक छ। यसपालि सम्भव नभए पनि अर्को पटकदेखि यस्तो काइते काम गर्न हुँदैन।
प्रविधिको उपयोग गर्ने नाममा मुलुक आउनै नपर्ने बनाउन मिल्दैन। मुलुक आर्थिक संकटमा छ भन्ने अनि टिकट काटेर नेपाल आउने र केही दिन बस्ने हैसियत नराख्ने हो भने किन मुलुकको चिन्ता गरेर हिँड्ने? किन मुलुक बनाउने गफ गर्ने? सुन्दा रूढ लाग्ला, यथार्थ यही हो।


 
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 