काठमाडौँ- कोशी प्रदेश सरकार गठनबारे पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको छ। कांग्रेस, माओवादीसहितको गठबन्धन दलले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका इन्द्र आङ्बोलाई उम्मेदवार बनाउने सहमति भए पनि कांग्रेसको इतर समूहले विद्रोह गरेपछि कोशीको राजनीति फेरिएको छ।
इतर समूह (डा.शेखर कोइराला)पक्षले केदार कार्कीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएर दाबी पेस गरेको छ। उनलाई एमालेले पनि समर्थन गरेको छ। कोशी प्रदेशको मुख्यमन्त्री चयनका सम्बन्धमा पार्टीभित्रै विवाद बढेपछि देउवाले यसबारे छलफल गर्न पार्टीको कार्यसम्पादन समितिको बैठक पनि बोलाएका छन्। उनी प्रधानमन्त्रीसँग छलफल गरेर पार्टी बैठकमा सहभागी हुन पुगेका छन्। बैठक देउवाले आफ्नै निवास धुम्बाराहीमा राखेका छन्।
कांग्रेसका ८ र एमालेका ३९ जना सांसदले हस्ताक्षर गरेर कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका छन्। प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी गर्न दिएको समय शुक्रबार साँझ ५ बजेबाट सकिएको छ। प्रदेश प्रमुखले दिएको समय सकिएसँगै कार्कीलाई मुख्यमन्त्री बनाउन दबाब दिन कार्कीको समर्थनमा रहेका ४८ सांसद प्रदेश प्रमुखको कार्यालय पुगेका छन्।
यता कांग्रेसको कार्यसम्पादन समितिको बैठक पनि सुरु हुन लागेको छ।





