कोशीमा को बन्ला मुख्यमन्त्री? आङ्बो कि कार्की

हिमाल प्रेस २७ असोज २०८० ६:५६ | Saturday, October 14, 2023
कोशीमा को बन्ला मुख्यमन्त्री? आङ्बो कि कार्की कांग्रेसका कार्की र माओवादीका आङ्बो।

काठमाडौँ- कोशी प्रदेशको मुख्यमन्त्रीको दाबी गर्दै दुवै पक्षले ४७ सांसदको हस्ताक्षर लिएर गएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले सनाखतका लागि सांसदहरुलाई शनिबारको समय दिएका छन्।

प्रदेश प्रमुख खापुङले शनिबार बिहान ८ देखि दिउँसो २ बजेसम्मका लागि प्रदेशसभाका दुवैतिर हस्ताक्षर गर्ने सबै सांसदलाई सनाखतका लागि बोलाएका हुन्।

‘माननीय प्रदेश प्रमुखज्यूबाट नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि मिति २०८० असोज २६ गते शुक्रबार अपराह्न ५ः०० बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेबमोजिम मिति २०८०–६–२६ गते अपराह्न ५ः०० बजेसम्म कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिका लागि कोशी प्रदेशसभा सदस्यहरू माननीय इन्द्र बहादुर आङ्वो र माननीय केदार कार्कीले ४७–४७ जना सदस्यहरूको समर्थन रहेको भनी हस्ताक्षरसहित दाबी पेस गरेको अवस्थामा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरी प्रदेश सरकार गठनका लागि माननीय प्रदेश प्रमुखज्यूले मिति २०८०–६–२७ गते शनिबार बिहान ८ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गर्नुभएका सम्पूर्ण प्रदेशसभा सदस्यहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रसाथ प्रदेश प्रमुखको कार्यालयको सभाहलमा उपस्थित भई सनाखत गरिदिने प्रयोजनका लागि उपस्थित गराउने निर्णय गर्नुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयले शुक्रबार साँझ जारी सूचनामा उल्लेख छ।

कोशी प्रदेशमा शुक्रबार ५ बजेसम्मका लागि मुख्यमन्त्रीको दाबी पेस गर्न समय दिइएको थियो। उक्त समयमा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र काँग्रेस सांसद केदार कार्कीले समान ४७ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका छन्। उक्त दाबीमा कांग्रेसका ८ सांसदको हस्ताक्षर दुवैतिर उल्लेख छ ।

दुवैतिर हस्ताक्षर रहेको कारण सनाखतका लागि बोलाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। कार्कीले एमालेका ३९ र कांग्रेसका ८ सांसदको हस्ताक्षर समावेश गरेका छन् भने आङ्बोले कांग्रेसका २९, माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको १ सांसदको हस्ताक्षर समावेश गरेका छन् । प्रदेश प्रमुखले सांसदको हस्ताक्षर सनाखत पछि शनिबार नै मुख्यमन्त्री नियुक्त गर्ने बताइएको छ ।

प्रकाशित: २७ असोज २०८० ६:५६ | Saturday, October 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast