कलाकारको दसैँ, परिवार र आफन्तसँगै

सुस्मिता बजगाईं २ कार्तिक २०८० १३:१२ | Thursday, October 19, 2023
कलाकारको दसैँ, परिवार र आफन्तसँगै

काठमाडौँ– नेपालीको महान् चाड दसैँमा मान्यजनबाट आशीर्वाद ग्रहण गर्न र घरपरिवार, साथीभाइ र आफन्त भेट्ने रहर कसलाई पो हुँदैन र! भ्याएसम्म विजयादशमीअघि नभ्याए दशमीपछि भए पनि मनाउन प्रायः मानिस आफन्तकहाँ पुग्छन्।

यस वर्ष दसैँको चहलपहल बढिसकेको छ। सहर बजारमा व्यावसाय, जागिर, अध्ययन र रोजगारीका लागि घरबाट टाढा रहेनहरू घर फर्किनेको लाइन छ।

बिदा लामो हुने भएकाले सबैको आआफ्नै योजना हुन्छन्। व्यस्त दिनचर्याले सेलिब्रेटीहरूको त दसैँ मनाउने टुंगो नै हुँदैन।
केही कलाकार, साहित्यकार, गायक तथा गीतकार शुभकार्य गर्ने तयारीमा हुन्छन् त केहीँ वर्ष दिनको व्यस्त समयबाट टाढा रहेर परिवार, साथीभाइ, आफन्तसँग रमाउन र नयाँ ठाउँ घुम्न रुचाउँछन्।

केही कलाकार सांस्कृतिक कार्यक्रमसहित विदेश पुगेका छन्। कोही काममै व्यस्त हुन्छन् अनि केहीलाई कलाकार फिल्मको प्रवद्र्धनमै व्यस्त देखिन्छन्। केही यस्ता कलाकार छन्, जो दसैँ जसरी पनि परिवारसँगै बसेर मनाउँछन्, मान्यजनबाट आशीर्वाद ग्रहण गर्छन् र केही दिन भए पनि कामको बोझबाट मुक्त हुन चाहन्छन्।

सवीर चुरौटे (कलाकार)

ओहो दसैँ! शब्दले नै मेरो मन फुरुंग हुन्छ। मेरा लागि दसैँ एकदमै रमाइलो चाड हो। दसैँको मौसम आहा कति रमाइलो! न जाडो न गर्मी। यस वर्ष दसैँमा गाउँ जान्छु। बालापनका साथीहरु मिलेर रमाइलो गर्छाैँ। गाउँमै सांस्कृतिक कार्यक्रम पनि हुँदैछ। घुम्न जाने योजना छ।

भागिरथ चलाउने (गायक)

दसैँमा त कार्यक्रम छोडेर भए पनि गाउँ जान्छु। परिवारसँग रमाइलो गर्छु। मेरा लागि दसैँ विशेष चाड हो। केही दिन दसैँ विशेष सांस्कृतिक कार्यक्रममा व्यस्त रहन्छु। यस वर्ष नवमीतिर घर पुग्छु।

समुद्र भट्ट (फिल्म निर्देशक)

दसैँ काठमाडौँमै मनाउँछु। परिवार यतै हुनुहुन्छ। नयाँ फिल्मको स्क्रिप्ट राइटिङको काम भइरहेको छ। ‘गुन्यौं चोलो ः कमिङ अफ एज हफ अ गर्ल’ फिल्मको सम्पादन पनि भइरहेको छ। यही फिल्म प्रदर्शन तयारीमा व्यस्त हुन्छु।

आशान्त शर्मा (कलाकार)

फूलपातीतिर घर जान्छु। वृद्धा आमा हुनुहुन्छ। परिवारसँगै दसैँ मनाउँछु। उहाँको आशीर्वाद लिनु छ। आमालाई खुसी पनि त बनाउनुपर्‍यो। साथीभाइ भेटघाट अनि रमाइलो पनि गरिन्छ। बिदाको समयमा नयाँ नाटकको स्क्रिप्ट तयार गर्ने योजना छ।

लक्ष्मण सुनार (फिल्म निर्देशक)

दसैँमा सधैँ गाउँ जान्छु। गाउँमा दसैँ मनाउनुको मज्जा छुट्टै छ। यस वर्ष फूलपातीपछि हुन्छ होला। साथीभाई भेटघाट हुन्छ। रमाइलो गरिन्छ। दशमीको दिन बाआमाको हातबाट टीका लगाउँछु। काठमाडौँ आएर फिल्मको स्क्रिप्ट लेख्ने तयारीमा छु।

बाबुल गिरी (गायक)

दसैँ पर्व मलाई रमाइलो लाग्छ। दसैँमा म सधैँ घर जान्छु। हुन त म घर जाने फुर्सद मिल्ने भनेकै दसैँमा हो। यस वर्ष फूलपातीको दिन जान्छु। वर्ष दिनमा घर जाने भएकाले दसैँ बिदा परिवारसँगै रमाइलो गर्दैमा बित्छ। कामको योजना अफिसमै हुन्छ।

दीपेन्द्र लामा  (फिल्म निर्देशक)

दसैँ बिदामा एउटा स्क्रिप्ट लेख्छु। त्यसैको तयारीमा छु। साथीभाइ भेटघाट गरेर कतै घुम्न जाने योजना पनि छ।

प्रकाशित: २ कार्तिक २०८० १३:१२ | Thursday, October 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast