उपप्रधानमन्त्री श्रेष्ठले भने, सम्मेलनमा भाग लिन आएको एक्कासि के आइलाग्यो?

उपप्रधानमन्त्री र राजदूतबीच दोहोरो संवाद, उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार

अजय अलौकिक २ कार्तिक २०८० १९:२६ | Thursday, October 19, 2023
उपप्रधानमन्त्री श्रेष्ठले भने, सम्मेलनमा भाग लिन आएको एक्कासि के आइलाग्यो?

बेइजिङ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अवस्था सामान्य रहेको चीनकालागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले बताएका छन्। राजदूत श्रेष्ठले मन्त्री श्रेष्ठलाई भेटेर स्वास्थ्यलाभको कामना पनि गरेका छन्। उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था राम्रो रहेको र दोहोरो संवाद समेत गरेको राजदूत श्रेष्ठले बताए। बेइजिङ समय अनुसार, बेलुकी ६:३० बजे अस्पतालमा रहेका उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई भेट गरेर आएको राजदूत श्रेष्ठले हिमाल प्रेसलाई बताएका हुन्।

‘उहाँको स्वास्थ्य स्थिति सुधारउन्मुख छ। मैले भर्खरै भेटेर आएको छु। राजदूतको हैसियतमा मैले सघन उपचार कक्षमा जाने मौका पाएको हो। उहाँ पूर्ण होशमा हुनुहुन्छ। उहाँसँग केही कुरा पनि भयो,’ राजदूत श्रेष्ठले भने,’सम्मेलनमा भाग लिन आएको एक्कासी के आइलाग्यो भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो, मैले उहाँलाई आत्तिनु नपर्ने र स्वास्थ्यमा सुधार आइसकेको बताएँ। डाक्टरको निगरानी राम्रो छ र अस्पताल कर्मचारीले पनि राम्रो हेरचाह गरिरहेको छ।’

भोलि (शुक्रबार) सघन उपचार कक्षबाट बाहिर ल्याउने जनाएको पनि उनले बताए। यसै बीच बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालले आज बिहीबार एक सूचना जारी गर्दै श्रेष्ठको स्वास्थ्य सुधारोन्मुख रहेको जनाएको थियो। मन्त्री श्रेष्ठलाई बिहिबार बिहान साढे दुई बजे छातीमा समस्या भएपछि सो अस्पताल लगिएको थियो।

बेइजिङस्थित दूतावासबाट जारी विज्ञप्ति अनुसार, मन्त्री श्रेष्ठलाई एक्युट मायोकार्डियल इन्फेक्शन भएको र उनको कोरोनी एन्जियोग्राम जाँचका क्रममा मुटुको बाँया धमनी बन्द भएको देखिएपछि स्टेन्ट राखिएको छ। उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ तेसो बीआरआई शिखर सम्मेलनमा सहभागी हुन सोमबार बेइजिङ पुगेका हुन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको राजधानी बेइजिङमा बुधबार आयोजित तेस्रो ‘बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन’को उद्घाटन समारोहमा सहभागी उपप्रधानमन्त्री श्रेष्ठले साझा विकासका लागि हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्चलाई सम्बोधन गरेका थिए। उनका आफन्त र सहयोगी पनि शुक्रबार नै बेइजिङ आइपुग्ने भनिएको छ।

प्रकाशित: २ कार्तिक २०८० १९:२६ | Thursday, October 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast