एमाले बागमती अधिवेशन : सर्वसम्मति भन्दै चुनाव धकेल्दा आजित बने प्रतिनिधि

हिमाल प्रेस १२ असोज २०८० ७:४३
8
SHARES
एमाले बागमती अधिवेशन : सर्वसम्मति भन्दै चुनाव धकेल्दा आजित बने प्रतिनिधि

काठमाडौँ- केन्द्रीय नेतृत्वको सर्कुलर भन्दै बागमती प्रदेशको नेकपा एमालेको अधिवेशन सारेको तीन दिन भइसक्यो।

सर्वसम्मतिबाट नेतृत्व चुन्नु पर्ने अडानका साथ अधिवेशन लगातार सारिएको हो। पुरानै कार्यसूचीमा चुनाव भएको भए दुई दिन अघि नै अधिवेशन सकिन्थ्यो। तर हालसम्म पनि सर्वसम्मति भन्दै चुनाव हुन नदिने ‘तिकडम’ चलाइरहिएको छ।

भृकुटीमण्डपमा उद्घाटन भएको अधिवेशनले भोलिपल्टै प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि बढाउनुपर्ने थियो। तर बन्दसत्र समयमा सुरु हुन सकेन। ढिलोगरी सुरु भएको बन्दसत्रले राजनीतिक, सांगठानिक र लेखा प्रतिवेदन पारित गरेर नेतृत्व चयन प्रक्रिया केन्द्रीय कार्यालय च्यासलमा गर्ने निर्णय गर्‍यो।

तर च्यासल पुगेपछि पनि नेतृत्व चयन प्रक्रिया लगातार प्रभावित हुँदै आएको छ । यसको सबैभन्दा बढी मारमा अधिवेशन प्रतिनिधि परेका छन्। उनीहरू मत हाल्न पाइने वा नपाइने दोधारमा छन्।

एकातिर सर्वसम्मतिको नाममा मत हाल्न नपर्ने विषय उठिरहेको छ भने अर्कातिर उम्मेदवारहरू अडानबाट झरेका छैनन्। ५ जना दाबेदारमध्ये ३ जनाले उम्मेदवारी फिर्ता लिएर अहिले दुई जना मैदानमा छन्।
अध्यक्षका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा छ।

दाहाल र ढुंगेल नै निर्वाचन लडेर अध्यक्ष बन्ने दाबी गरिरहेका छन्। सहमतिका लागि शीर्ष नेताहरूको लगातारको प्रयास असफल भएपछि अध्यक्षसहितका पदाधिकारी र खुला सदस्यमा मतदान हुन लागेको हो।

आज बिहान आठ बजेपछि विद्युतीय मतदान हुने जनाइएको छ । केशव पाण्डे, सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले उम्मेदवारी फिर्ता लिएका हुन्। उम्मेदवारी फिर्ता लिएका पाण्डेले ढुंगेललाई समर्थन गर्ने घोषणा गरेका छन् भने श्रेष्ठ र बुढाथोकीले दाहाललाई समर्थन गर्ने बताएका छन् ।

ढुंगेल महासचिव शंकर पोखरेल र दाहाल उपाध्यक्ष विष्णु पौडेल निकट रहेको बताइन्छ। यहाँ पार्टी नेता महेश बस्नेत र गोकुल बास्कोटाको पनि उपगुट छ।

प्रकाशित: १२ असोज २०८० ७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast