काठमाडौँ- नेकपा एमाले बागमती प्रदेशको नयाँ नेतृत्व लागि आज मतदान हुँदैछ। मतदान पार्टी मुख्यालय च्यासलमा बिहानदेखि सुरु हनेछ।
मतदानका लागि ४० विद्युतीय भोटिङ मेसिन तयारी अवस्थामा राखिएको एमालेले जनाएको छ।
नयाँ नेतृत्वको लागि सर्वसहमतिको प्रयास सफल नभएपछि निर्वाचन हुन लागेको हो। एमाले बागमती अधिवेशनले पाँच पदाधिकारीसहित दुई सय ४० सदस्यीय कमिटी निर्वाचित गर्नेछ।
अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ। अध्यक्षमा रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, रामेछापका केशबहादुर बुढाथोकी, नुवाकोटका केशवराज पाण्डे र काठमाडौँका सानुकुमार श्रेष्ठको उम्मेदवारी परेको छ।
यीमध्ये दाहाल र ढुंगेलबीच तीव्र मुख्य प्रतिस्पर्धा हुने बताइएको छ।
दुवैजना अध्यक्ष केपी शर्मा ओलीकै समूहको भए पनि दाहाललाई गोकुल बाँस्कोटा र ढुंगेललाई अर्का नेता महेश बस्नेतले बोकेको बताइन्छ ।
देखिनलाई दाहाल र ढुंगेल भए पनि खास प्रतिस्पर्धा बाँस्कोटा र बस्नेतको भएको एमालेकै नेताहरू बताउँछन् । यसर्थ, प्रतिस्पर्धा रोमाञ्चक हुने विश्वास गरिएको छ ।
यस्तै उपाध्यक्षमा सुवासचन्द्र ठकुरी, इश्वरचन्द्र पोखरेल, दावादोर्जे लामा, राजेन्द्र राजथला र नारायणप्रसाद खतिवडाको उम्मेदवारी परेको छ।
सचिवमा राजकुमार अधिकारी, रत्ना गुरुङ, हस्त पण्डित र नवराज सिलवालको उम्मेदवारी परेको छ ।
उपसचिवमा रिता गौतम ढकाल, डबल पाण्डे, राजेन्द्र श्रेष्ठ, टासी लामा, प्रेमबहादुर महर्जन, रमेश महर्जन, ओमराज पन्त, गंगादेवी श्रेष्ठ, खड्गबहादुर खत्री, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा र भक्तकुमारी लामाले उम्मेदवारी दर्ता गराएका छन्।
अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव चयन गर्नेछ ।
आकांक्षीलाई बन्धक बनाएको आरोप
एमालेको बागमती प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि केही नेताले कार्यालमै बन्धक बनाएको बीचमा वर्तमान अध्यक्ष केशवराज पाण्डेले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन्।
अध्यक्षमा उम्मदेवारी दर्ता गर्ने अन्तिम समयमा पाण्डेको उम्मेदवारी दर्ता भएको हो । एमाले बागमतीका इन्चार्ज गुरू बराल नेताहरू आनन्द पोखरेल, डोरमणि पौडेल, खेम लोहनी लगायतले उम्मेदवारी दर्तामा कार्यकर्तासहित गएका पाण्डेलाई फिर्ता बोलाएर प्रदेश कार्यालयमा अध्यक्षकै कोठामा चुकुल लगाएर बन्धक बनाएका थिए।
एमाले नुवाकोटका नेताहरूको ठूलो समूहले जवर्जस्ती ढोका खोलेर अध्यक्ष पाण्डेको वारेस लिएर उम्मेदवारी दर्ता गराएका हुन्। उनीहरूले ढोकामा धक्का दिएपछि खेम लोहनीले चुकुल खोलेका थिए । त्यसपछि उनले कार्यकर्तालाई दूर्व्यवहार गरेको युवा संघका नेता राजु तिवारीले बताए।
पाण्डेले वारेश युवा नेता गणेश श्रेष्ठले दिएका थिए। श्रेष्ठले ६ः५० मा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका थिए । कैलाश ढुंगेललाई अध्यक्ष बनाउनुपर्ने भन्दै उनीहरूले पाण्डे माथि दूर्व्यवहार गरेका हुन । गुरू बरालले उम्मेदवारी दर्ताको समय गुजार्नका लागि उनकै कार्यकक्षामा बन्धक बनाउने योजना बनाएका थिए । तर कार्यकर्ताको बलियो समर्थन पाएका पाण्डेले अन्तिम समयमा वारेश मार्फत उम्मेदवारी दर्ता गराए ।