कुरा आयाक्सको हो। त्यही आयाक्स जो सन् २०१९ मा च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको थियो। तर हाल आयाक्स च्यामिपयन्स लिगबारे सोच्ने स्थितिमा छैन। सेमिफाइनल त परको कुरा भयो।
आयाक्स जारी डच लिगको १४ औँ स्थानमा छ। आयाक्स कति खराब स्थितिमा छ? अंक तालिकाले मात्र पूरा कथा भन्दैन। गत आइतबारको घटना पनि सम्झिनु पर्छ। घरेलु मैदानमा आयाक्स फियोनार्डसँगको खेल्दै थियो। दोस्रो हाफमा आयाक्स ३–० ले पछि थियो। त्यत्तिकैमा आक्रोशित आयाक्स समर्थकले मैदानमा आगोका लप्का फ्याँके। त्यसपछि खेल स्थगित भयो।
अब फेरि सम्झना च्याम्पियन्स लिगकै। आयाक्स फाइनलनबाट टाढा थिएन। तर लुकास मोउराले इन्जुरी समयमा गोल गरेपछि आयाक्स रोकियो। हुन त सेमिफाइनलसम्म पुग्नु नै आयाक्सका लागि सफलता थियो।
बलियो आर्थिक स्रोत नभएको लिगबाट आएको क्लब, त्यो पनि युभेन्टस र रियल म्याड्रिडलाई पन्छाउँदै अन्तिम चारमा पुगेको। त्यस वर्ष आयाक्सले क्षमताभन्दा राम्रो खेलेकै हो।
फुटबलमा भन्ने गरिन्छ नि, मन जित्यो, खेल जितेन। आयाक्स ठ्याक्कै त्यस्तै टिम थियो। एरिक टेन हागको प्रशिक्षणमा खेलेको आयाक्स समूह चरणमा सजिलै पुगेको थिएन। तीन चरणको छनोट पार गर्नु परेको थियो।
समूह चरणमा बायर्न म्युनिखलाई रोकेको आयाक्सले नकआउटमा रियललाई ४–१ ले स्तब्ध बनाएको थियो। त्यो पनि सान्टियागो बेर्नाबेउमा। हौसिएको आयाक्सले त्यसपछि युभेन्टसलाई पन्छायो। जित फेरि एकपटक विपक्षीको मैदानमा।
वास्तवमा आयाक्स निडर खेलाडीले भरिएको थियो। ती खेलाडी यस्ता थिए जोसँग जोस मात्र थिएन, कौशल पनि थियो। तीमध्ये माथ्थिस डे लिट, फ्रान्की डे योङ, हाकिम जियच र डोनी भान डे विक प्राविधिक रुपमा असाध्यै निपुण। कप्तान डुसान टडिच र डाले ब्लाइन्ड चाहिँ सबैभन्दा अनुभवी।
आयाक्स त्यत्तिको सन्तुलित हुनुमा मार्क ओभमार्सको भूमिका कम महत्त्वपूर्ण थिएन। उनी नै थिए यो टिमको निर्माणकर्ता। प्राविधिक निर्देशक ओभरमार्सले सीमित बजेटमा चल्ने आयाक्सका लागि भने सस्ता तर प्रतिभाशाली खेलाडी ल्याएका थिए। अनि यिनै खेलाडीले महँगा बजेट भएका क्लबलाई उनीहरुकै मैदानमा हराएपछि त के चाहियो? त्यसपछि के भन्न थालिएको थियो भने, आयाक्स अब नयाँ युगमा प्रवेश गरेको छ।
तर दिन यस्तो पनि आयो जब ओभमार्सले होस गुमाए। कुनै दिन शौचालय गएका बेला आफ्नो तस्बिर खिचे। अनि आयाक्समा सँगै काम गर्ने एक महिलालाई पठाए। खासमा उनले यस्तो हर्कत देखाएको यो पहिलो पटक थिएन। ओभमार्सले पहिले पनि महिला सहकर्मीलाई यसरी नै नग्न तस्बिर पठाएका थिए। जुन तथ्य भर्खरै खुलेको हो। जे होस् आयाक्स, बार्सिलोना र आर्सनलका पूर्वखेलाडी ओभमार्सले फेबुअ्ररी ६, २०२२ मा आफ्नो जागिर गुमाए।
उसो त ओभमार्सको हर्कत लामो समय लुक्यो। जबकि आयाक्स यस्तो क्लब हो, जहाँ सामान्यतयाः केही कुरा लुक्दैन। तर नेदरल्यान्ड्सको सबैभन्दा ठूलो क्लबका उपल्लो कर्मचारीको यो हर्कतबारे कोही बोलेन। सायद ओभार्सको शक्तिका कारण।
डच फुटबलको सबैभन्दा ठूलो शक्ति आयाक्स नै हो। किनभने आयाक्सले सर्वाधिक ३६ पटक लिग जितेको छ। च्याम्पियन्स लिग जित्ने एक्लो क्लब पनि आयाक्स हो। स्टार खेलाडी उत्पादनदेखि आम्दानीसम्म, हरेक पक्षमा आयाक्स नै अगाडि छ। यस्तोमा आयाक्समा अहम पलाएको हुनसक्छ।
डच लिगमा आयाक्सलाई नजिकबाट पछ्याउन सक्ने दुई क्लब छन्, पीएसभी आइन्डहोभन र फियोनार्ड। सन् २०१० देखि २०१४ सम्म लगातार चार पटक च्याम्पियन बनेको आयाक्सलाई सन् २०१५ मा रोक्ने क्लब पीएसभी हो। जसले त्यसपछि दुई पटक लिग जित्यो। अनि च्याम्पियन बन्ने पालो आयो, फियोनार्डको।
तर फियोनार्डले उपाधि रक्षा गर्न सकेन। फेरि आयाक्स पीएसभी शीर्षस्थानमा फर्कियो। सन् २०१८ देखि २०२२ सम्म भने आयाक्सले दबदबा कायम गर्यो। आयाक्सको दबदबाका कारण टिममा भएका स्टार खेलाडी थिए। एन्टोनी, लिसान्द्रो मार्टिनेज, एड्सन अल्भारेज, जियच, मोहम्मद कुडुस र कास्पर डोलबर्ग। यी स्टारसँगै घरेलु उत्पादन डे योङ, डे लिट, भान डे विक र सर्जिन्हो डेस्ट।
यी सबै खेलाडी आयाक्स पुग्नुको कारण उनै ओभमार्स थिए। उनी प्रतिभा पहिचानमा पोख्त थिए। युरोप, ल्याटिन अमेरिका र अफ्रिकामा उनको आफ्नै सञ्जाल थियो, जसबाट नयाँ प्रतिभाबारे थाहा पाउँथे।
सन् २०१२ मा आयाक्स फर्किएका ओभमार्स सुरुमा एक्लै थिएनन्। सुरुको पाँच वर्ष उनले डेनिस बर्गक्याम्प र विम योन्कसँग मिलेर काम गरे। यी तीनका लागि आयाक्सको निर्देशन प्रस्ट थियो, कुनै पनि खेलाडीलाई वर्षको १० लाख युरोभन्दा बढी तलब नदिनु। तर तलब सीमाका कारण आयाक्ससँगको खेलाडी आकर्षण घटेन।
सन् २०१७ को अन्त्यमा ओभमार्स आयाक्समा थप बलियो बने। प्रशिक्षक मार्स केइजरसँगै बर्गक्याम्प बर्खास्तीमा परेपछि खेलाडी उनी प्राविधिक निर्देशक बने। उनका हाकिम थिए, एडविन भान डे सार। जो त्यसबेला कार्यकारी अधिकृतको भूमिकामा थिए। ओभमार्सको क्षमता खेलाडी पहिचानमा त देखिएकै हो, तर प्रशिक्षक पहिचानमा उनी अब्बल ठहरिए। किनभने उनले आयाक्समा टेन हाग भित्र्याए। जसलाई उनले कयौँ वर्षअघि नेदरल्यान्ड्सकै अर्को क्लब गो एहेड इगल्समा मौका दिएका थिए।
ओभमार्सले अर्को निर्णय पनि लिए, इंग्लिस प्रिमियर लिगबाट पाका खेलाडी अनुबन्धन गर्ने। त्यसरी टाडिच र ब्लाइन्डलाई डच लिग फर्काउदा आयाक्सको तलब सीमा भत्कियो। तलब सीमा भत्काएर आयाक्स युरोपेली क्लब फुटबलमा पुनः उदयको बाटोमा हिँडेको थियो।
सबै ठिकठाक चल्दै थियो। त्यत्तिकैमा टेन हागले आयाक्स छाडे। अप्रिल, २०२२ मा उनी म्यानचेस्टर युनाइटेडको प्रशिक्षक बने। टेन हागको बहिर्गमनसँगै ओभमार्स पनि हिँडे। ओभमार्स नभएपछि भान डेर सार आफैँले खेलाडी किनबेच गर्ने भए। आयाक्सले करिब २० करोड युरो खेलाडी बिक्रीबाट कमायो। त्यसमध्ये १० करोड युरो खेलाडी खरिदमा खन्यायो।
झट््द हेर्दा आयाक्सको रणनीति सही देखिएको थियो। भएका स्टार महँगो मूल्यमा बेच्ने, सकेसम्म सस्ता खेलाडी किन्ने। तर यसको प्रभाव मैदानमा देखियो। च्याम्पियन्स लिगमा सबैभन्दा ठूलो हार बेहोर्यो। नापोलीसँगको ६–१ अन्तरको त्यो हारपछि आयाक्सले प्रशिक्षक अल्फर्ड श्रेउडरलाई बिदा गर्यो। कम अनुभवी जोन हाइटिंगालाई टिमको जिम्मा लगायो। आयाक्सै पूर्वखेलाडी हाइटिंगाले आयाक्सलाई लिगमा जसोतसो तेस्रो बनाए। जुन यो सिजन च्याम्पियन्स लिगमा छनोट हुन पर्याप्त थिएन।
भान डेर सारले केही महिनाअघि संन्यास लिए। गोलरक्षक भएर २० सिजन युरोपेली क्लब फुटबल खेलेका भान डेर सार मैदानबाहिरको भूमिकाबाट पनि अघाए। आयाक्स छाड्नुअघि उनले स्भेन मिसलिनटाटलाई प्राविधिक निर्देशक नियुक्त गरेका थिए। स्टुटगार्ट, डर्टमन्ड र आर्सनल जस्ता क्लबमा अनुव बटुलेका मिसलिनटाटलाई आयाक्सले टन्न खेलाडी बेच्न लगायो। अनि तलब खर्च पनि घटाउन भन्यो। क्लब व्यवस्थापनले दिएको निर्देशन मिसलिनटाटले पूरा गरे।
क्लबको खर्च कटौती गर्ने नाममा मिसलिनटाटले सस्ता मूल्यका खेलाडी खरिद गरे। उनले अनुबन्ध गरेका ती १२ खेलाडी नाम सुनिएका खेलाडी थिएनन्। कति त ठिकठा मान्न मिल्ने लिगबाट पनि आएका होइनन्। यही बेला मिसलिनटाटले प्रशिक्षक पनि हेरफेर गरे। हाइटिंगाको स्थानमा माउरिस स्टेजिन ल्याए।
स्टेजिन नाम चलेका प्रशिक्षक होइनन्। उनलाई आयाक्स जिम्मा लगाइँदै गर्दा मिसलिनटाटले भनेकै थिए, केही समय धैर्य गर्नुपर्छ। तर आयाक्समा धैर्य भेट्न मुस्किल छ। डच लिगमा सन् १९६४ यताकै सर्वाधिक खराब सुरुवात गरेपछि स्टेजिनमाथि कसैको भरोसा बाँकी रहेन। यही बेला नयाँ स्क्यान्डलले आयाक्सलाई छोप्यो।
यही सेप्टेम्बरको पहिलो साता मिसलिनटाटले बोर्ना सोसा नाम गरेका युवा खेलाडी अनुबन्ध गरे। क्रोएसियाका यी फुलब्याकको एजेन्ट हो, एकेए ग्लोबल। जसलाई डाटा कम्पनी म्याचमेट्रिक्सको लगानीकर्ता मानिएको छ। हो, यही म्याचमेट्रिक्समा मिसलिनटाटको पनि लगानी रहेको आरोप लागेको छ। यो आरोपपछि मिसलिनटाटमाथि आयाक्सले छानबिन सुरु गरेको छ।
उसो त म्याचमेट्रिक्ससँग मिसलिनटाट जोडिएको कुरा आयाक्सलाई पहिल्यै थाहा थियो भनिएको छ। मिसलिनटाट आफैँले क्लबलाई जानकारी गराएको खबर पनि आएका छन्। समस्या यसमा होइन। समस्या एकेए र म्याचमेट्रिक्सको सम्बन्धलाई लिएर हो। यदि एकेए र म्याचमेट्रिक्सबीच सम्बन्ध छ भने, मिसलिनटाट पनि घुमाउरो पारामा एकेएसँग जोडिन्छन्। आफू जोडिएको एजेन्सीसँग प्राविधिक निर्देशकले खेलाडी अनुबन्धन गर्नु गलत हो।
आयाक्सको समस्या गत आइतबार चुलियो। प्रतिद्धन्द्धी फियोनार्डसँग एक घण्टा नबित्दै तीन गोल खाएपछि आयाक्स समर्थक आक्रोशित बने। क्लब व्यवस्थापनविरुद्ध नारा लगाए। मिसलिनटाटले क्लब छाड्नु पर्ने माग राखे। योहान क्रुफ ऐरिनाको मैदानमा दुई पटक आगोको लप्का फ्याँके। फलतः खेल रोकियो। समर्थकको आक्रोश यतिमै सकिएन। रंगशालाको मुख्य ढोकाबाट फेरि भित्र छिर्न खोजे। यसो गर्दा प्रहरीसँग झडप भयो। आम्सटर्डमा धेरैपछि यस्तो दृश्य देखिएको हो। त्यस साँझ आखिरमा क्लबले समर्थकको माग सुन्यो। मिसलिनटाट बर्खास्तीमा परे।
बुधबार साँझ फियोनार्ड आयाक्सको रंगशाला फर्कियो। खेल ५५ औँ मिनेटबाट सुरु भयो। खाली रंगशालामा खेलिएको खेलमा फियोनार्डले एक गोल थप्यो। यो जितले पीएसभीलाई शीर्षस्थानमा फर्काएको छ। आयाक्स भने पाँच खेलबाट पाँच अंक बटुलेर १४ औँ स्थानमा छ।
लिगमा पाँच चरणका खेल सकिँदा आयाक्स फियोनार्ड र फियोनार्डभन्दा क्रमशः १० र नौ अंकले पछि परिसकेको छ। आयाक्स समर्थक तत्काल नाटकीय सुधार होला भन्ने आश राख्दैनन्। खासमा चिन्ता यो सिजनको मात्र होइन। चिन्ता आयाक्सको भविष्यको हो। कतिपयलाई लागेको छ, ओभमार्स फर्किएर आउनेछन् र डुब्न लागेको आयाक्सलाई बचाउनेछन्।
तर के ओभमार्स फर्किएलान्? कम्तीमा तत्कालका लागि यो सम्भावना छैन। किनभने उनी हाल बेल्जियमको रोयल आन्टवेर्पमा छन्। बेल्जियममा उनको कामको तारिफ भइरहेको छ। उनी पुगेकै सिजन आन्टवेर्पले लिग जित्यो। आन्टवेर्प ओभमार्सको सहयोगमा बलियो बन्न चाहन्छ। एन्डरलेक्ट र क्लब ब्रगको दबदबा अन्त्य गर्न चाहन्छ।
ओभमार्स बेल्जियममा आन्टवेर्पका लागि योजना बुनिरहँदा नेदरल्यान्ड्समा भने आयाक्स समर्थक रन्थिनिएका छन्। सायद आयाक्सलाई दसा लागेको छ। आयाक्सको दसा त्यसबेला सुरु भयो जति बेला ओभमार्सले शौचालयमा मोबाइल निकाल्ने निर्णय गरे।
द गार्डियनबाट