काठमाडौँ– एघार वर्षअघि मदन पुरस्कार पाएको उपन्यास हो, ‘दमिनी भीर’। उपन्यास राजन मुकारुङले लेखेका हुन्। कृतिको जातीय विभेदविरुद्ध मर्मलाई न्याय दिँदै इँगिहोपो कोइचँ सुनुवारले नाटकमा उतारेका छन्। निर्देशक सुनुवारले उपन्यासको उद्देश्यलाई रंगमञ्चमार्फत दर्शकसम्म पुर्याउने प्रयास गरेका हुन्। त्यसमा उनी सफल देखिएका छन्।
दसबर्से सशस्त्र द्वन्द्व र दोस्रो जनआन्दोलनपछि व्यवस्था परिवर्तन भए पनि आममान्छेको चेतना स्तर परिवर्तन हुन नसकेको नाटकले देखाएको छ। दुई दशकको अन्तरालमा आज पनि नाटकका पात्र बेल्चा, घनजस्ता औजारले दमिनी भीर फोड्ने काम गरिरहेका छन्।
नाटकको एक दृश्यमा सुके दमाईंकी पत्नी दमिनीले भीरबाट हाम्फालेको देखाइन्छ। मुखियाको ऋण तिर्न नसकेर नवविवाहित पत्नी दमिनीलाई घरमा एक्लै छोडेर सहर हिँडको सुके फर्किंदैन। साहुले बारम्बार आएर दमिनीलाई धम्क्याउँछ। उनीमाथि कुदृष्टि लगाउँछ। दमिनीको बलात्कार गर्छ। अत्याचार सहन नसकी दमिनीले भीरबाट हाम्फाल्छिन्। त्यो भीरलाई नै दमिनी भीर भनिएको छ। जुन नाटकको पूर्वकथा हो।
दमिनी भीरको फेदमा अर्की दमिनी लच्छी (माइली) बलात्कृत हुन्छे। यही प्रसंगबाट ‘दमिनी भीर’ नाटक सुरु हुन्छ। माइलीको जीवनमा भएका घटना र संघर्षलार्ई रंगमञ्चमा देखाइन्छ। उनको पेटमा बच्चा हुर्किरहेको हुन्छ। उनलाई बलात्कार गर्ने चेतन फरार छ। माइलीलाई परिवार र समाजले बच्चा फाल्न दबाब दिन्छन्।
वृद्धसँग विवाह गर्न खोजिदिन्छन्। तर माइली कसैको दबाबमा नपरी बच्चा जन्माउन र उसलाई न्याय दिलाउने अडान लिन्छे। समाजको तिरस्कार, जातीय विभेदसँग लड्दै लच्छीले एक दिन चेतन फर्किने आशामा जीवन बिताउँछे। नाटकको बीचमा लच्छीलाई माया गर्ने पात्र कान्छा आउँछ। तर उसले जातकै कारण अस्वीकार गर्छे। मनले भने कान्छालाई स्विकारेको छ। तर लच्छी छोरीलाई हक दिलाउन चेतनकै आशामा हुन्छे। कान्छाले लच्छीको सुरुदेखि साथ दिन्छ।
जनआन्दोलनका समयमा माओवादीले देशभरका कार्यकर्ता भेला गराएर एकहप्ते काठमाडौँमा घेराउ गर्ने कार्यक्रममा लच्छी पनि गएकी हुन्छे। उसले चेतनलाई देख्छे। लच्छीलाई देखेर चेतन पछुताउँछ। आफूले गल्ती गरेको महसुस गर्छ। लच्छीसँग माफी माग्छ। छोरी र माइली दुवैलाई स्वीकार्छु भन्छ।
लच्छी आफूले भोगेको अन्याय, अत्याचार र संघर्ष सम्झिन्छे र चेतनको माफीलाई सहज रूपमा लिन्छे। लडाइँमा आफ्नो जित भएको घोषणा गर्छे। अनि चेतनलाई अस्वीकार गर्छे र संघर्षमा साथ दिने धौले कान्छोसँग बाँकी जीवन बिताउने निणर्य गर्छे। यत्तिकैमा नाटक सकिन्छ।
नाटकको अन्त्यमा चेतनले गल्तीको पश्चात्ताप गरेको छ। यो नाटकको सुखद अन्त्य हो। एघार वर्षअघि लिखित उपन्यासमा दलित युवतीलाई बलात्कार गर्ने र जातकै कारण सन्तान स्वीकार नगरी अलपत्र पार्ने पात्रले नाटकको अन्त्यमा माफी माग्छ।
अहिले पनि नेपाली समाजमा माफी माग्ने तहसम्म पुग्न नसकेका जातीय विभेदका घटना थुप्रै रहेको निर्देशकको बुझाइ छ। समाज परिवर्तन भयो। मानिस शिक्षित भए। देशको विकास भयो। तर मानिसको चेतना अझै विकसित हुन नसकेको ‘दमिनी भीर’ नाटकले देखाएको छ।
कृतिको कथाजस्तै घटना आज पनि देखिन्छन्। नाटकको अन्त्यमा चेतनजस्ता मन भएका मानिस समाजमा देखिँदैनन्। आधुनिक युगमा पनि मानिसले पुरातनवादी सोच त्याग्न सकेका छैनन्। जातीय विभेदले समाजमा जरा गाडेको छ। दमिनी भीरजस्ता अझै पनि धेरै भीर छन्, तिनलाई फोर्न बाँकी नै छ।
समाज आज पनि जातकै नाममा अल्झिरहेको छ। दलित र महिलाविरुद्ध हुने हिंसाबाट समाज मुक्त हुन सकेको छैन। अन्तरजातीय प्रेमकै कारण ज्यान गुमाउने र परिवारविहीन हुनुपर्ने जोडी धेरै छन्।
उपन्यासमा लच्छीजस्तै अन्य पात्रको पनि जीवन भोगाइ छ। माओवादी जनयुद्धको प्रसंग छ। द्वन्द्वपीडित न्यायको झिनो आशामा अझै सडकमा भौँतारिरहेको कुरा पनि छ।
उपन्यासकी प्रमुख नारी पात्र ‘लच्छी’ ले भोगेका घटनाक्रमका आधारमा मञ्चन गरिएको नाटकले समाज जति नै आधुनिकतातर्फ बढे पनि मानिसको सोच र प्रवृत्तिमा परिवर्तन हुन नसकेको तितो यथार्थ देखाएको छ। जातीय विभेद, महिलाप्रति गरिने अत्याचारको अन्त्य, द्वन्द्व र भेदभावरहित समाजको कल्पना निर्देशकले नाटकमार्फत गरेका छन्।
जातीय, लैंगिक र वर्गीय भेदको कथा भनेर उपन्यासले जसरी नेपाली आख्यानमा आफ्नो प्रभावशाली उपस्थित जनाउन सफल भयो, नाटकमार्फत पनि यसले तिनै मुद्दालाई अझै घनीभूत रूपमा रंगमञ्चमा उतारेको छ। बृहत् आख्यान उपन्यासको एउटा अंशलाई टपक्क टिपेर नाटकीय रूप दिई दर्शकको मन जित्न निर्देशक सुनुवार सफल छन्। पहिलो निर्देशनमै दर्शकको मन जितेर उनले आफूलाई रंगमञ्चमा एक उदाउँदा निर्देशकका रूपमा चिनाएका छन्।
नाटकको अर्को सबल पक्ष गाउँलेलाई हरेक कुरामा एकजुट भएको देखाउनु हो। बहुजाति र बहुभाषी पूर्वीय किराती राई समाजलाई नाटकमा उतारिएको छ। गाउँले भाषाको प्रयोग छ। गाउँलेकै बोलीमा पात्र र परिवेशअनुसार कतैकतै अपशब्द (अश्लील) सुनिन्छ। निर्देशकका लागि यस्ता शब्द सामान्य लागे पनि नाटक हेर्दै जाँदा भने ढुंगा लागेको जस्तो अनुभूति हुन्छ।
नाटकमा किरण चाम्लिङ राई, पुनम थापा, सीता राई, रियर राई, सुजाता गुरुङ, प्रतिना राई, सोनम लामा, कवि राई, सुजु सुनुवार किराती, मणि कुलुङ राई, शायोक मुकारुङ, आकाश नेपालीलगायत कलाकारले अभिनय गरेका छन्। भदौ २२ गतेदेखि मण्डला नाटकघरमा सुरु गरिएको नाटक मञ्चनको बुधबार अन्तिम दिन हो।