नेपालको कीर्तिमानी ब्याटिङमा मंगोलियालाई ३१५ रनको लक्ष्य

हिमाल प्रेस १० असोज २०८० ८:५८
16
SHARES
नेपालको कीर्तिमानी ब्याटिङमा मंगोलियालाई ३१५ रनको लक्ष्य फाइल तस्बिर

काठमाडौँ- कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको विश्व कीर्तिमानी ब्याटिङमा नेपालले १९ औं एसियाली खेलकुदमा मंगोलियालाई ३ सय १५ रनको कीर्तिमानी लक्ष्य दिएको छ।

चीनको हांग्जाउमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनायो।

नेपालका कुशल मल्ल ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनमा क्रिजमा नटआउट रहे। दीपेन्द्रसिंह ऐरी १० बलमा ८ छक्कासहित ५२ रनमा क्रिजमा नटआउट रहे।

यो टि२० इतिहासकै उच्च योगफल हो। यसअघि अफगानिस्तान र चेक रिपब्लिकनले समान २ सय ७८ रन बनाएका थिए।

कुशलले ३४ बलमै शतक प्रहार गरेका थिए। योसँगै कुशल टि२० आई इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याटर बनेका छन्। यसअघि टि२० आईमा सर्वाधिक छिटो शतक ३५ बलमा थियो।

भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेक रिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए । नेपालबाट भने २०१९ मा पारस खड्काले सिंगापुरविरुद्ध ४९ बलमा अर्धशतक पूरा गरेका थिए।

रोहित पौडेल २७ बलमा २ चौका र ६ छक्कासहित ६१ रनमा आउट भए। तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले १ सय ९३ रनको साझेदारी गरेका थिए । यो कुनैपनि खेलमा नेपाली ब्याटरले गरेको उच्च साझेदारी हो।

दीपेन्द्रसिंह ऐरीले १९ औँ ओभरमा लगातार पाँच छक्का हानेका थिए। दीपेन्द्रले लगातार ६ छक्का हानेका थिए। दीपेन्द्रले ९ बलमै अर्धशतक पूरा गरे । दीपेन्द्रले भारतीय ब्याटर युवराज सिंहको १२ बलको कीर्तिमान तोडेका हुन्।

नेपालका ओपनर कुशल भुर्तेल २३ बलमा २ चौकासहित १९ र आसिफ शेख १७ बलमा २ चौकासहित १६ रनमा क्याच आउट हुन पुगे। नेपालका रोहित पौडेलले पनि १९ बलमै अर्धशतक प्रहार गरेका थिए। कुशल र रोहित दुवै नेपालबाट सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने ब्याटर बनेका छन्। २०१९ मा ज्ञानेन्द्र मल्लको मलेसियाविरुद्ध २० बलको कीर्तिमान तोडेका हुन्।

प्रकाशित: १० असोज २०८० ८:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast