काठमाडौँ – उत्तरी छिमेकी चीनको साताव्यापी औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार आज छोङछिङ पुगेका छन्। उनलाई छोङछिङमा त्यहाँको महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
उनले आजै आज छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्समा पुगी त्यहाँको वैज्ञानिक एवम् आधुनिक कृषि प्रणालीबारे अध्ययन र अवलोकन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री आफैँ पनि कृषिका विद्यार्थी हुनाले यसमा उनले बढी नै चासो देखाएका छन्। उनका साथमा परराष्ट्रमन्त्री एनपी साउदसहित भ्रमणदलका अन्य सदस्य छन्।
छोङछिङमा प्रधानमन्त्री दाहाल र चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय राजनीतिक विभागका सदस्य र छोङछिङ नगरपालिकाका समितिका सचिव युन ज्याजुनबीच भेटवार्ता पनि हुनेछ। उनी त्यहाँबाट छेन्दु हुँदै ल्हासा आउने कार्यक्रम छ।
ल्हासा आएपछि मौसमले साथ दिएमा उनी मानसरोवरसमेत पुग्नेछन्। उनलाई सिगात्सेबाट आलीसम्म विस्तार भएको रेलमार्गको भ्रमण गराउने र त्यहाँ बाट अलिक माथिसम्म पुर्याउने कार्यक्रम छ। आलीबाट नै मानसरोवर तर्फ जाने सडक र रेल मार्ग छ। रेलमार्ग पूर्ण वनिसकेको छैन। सडक मार्ग राम्रो छ। त्यहाँ मौसम राम्रो भएमा मानसरोवरको माथिल्लो भागमा नै लैजाने भनिएको छ।
भारतमा गेरु वस्र लगाएर मन्दिर दर्शन गरेपछि जुठैमा भए पनि प्रधानमन्त्री उत्तरी छिमेकमा पनि धार्मिम स्थल भने जानेछन्। हिन्दू संस्कारअनुसार एक वर्ष जुठोमा मठ मन्दिर जाने गरिँदैन्। उनकी श्रीमती सीताको निधन भएको एक वर्ष पुगेको छैन। मानसरोवरलाई शिवको कैलाशको रुपमा हिन्दूहरूले लिने गर्छन्। धार्मिक पर्यटकको लागि मानसरोवर प्रख्यात छ।