प्रचण्डलाई गिरिबन्धु टी इस्टेटको फाइल खोल्न ओलीको चुनौती

हिमाल प्रेस ८ असोज २०८० १७:२९
46
SHARES
प्रचण्डलाई गिरिबन्धु टी इस्टेटको फाइल खोल्न ओलीको चुनौती

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी इस्टेटको फाइल खोल्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चुनौती दिएका छन्। उनले टी इस्टेटबारे एमालेलाई कुनै त्रास नरहेको पनि स्पष्ट पारे।

काठमाडौँमा सोमबार प्रथम बागमती प्रदेश कमिटीको अधिवेशन उद्घाटन गर्दै ओलीले यस्तो चुनौती दिएका हुन्। गिरिबन्धु टी इस्टेटको जग्गा साटफेरमा तत्कालीन ओली नेतृत्वको सरकार संलग्न रहेको आरोप लाग्दै आएको छ। यसबारे अदालतमा मुद्दा पनि परेको छ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले सरकारले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न ढिलाइ गरिरहेको आरोप लगाए। सरकार सुन तस्करीको छानबिन गर्न नहुने अडानमा रहेको र छानबिन आयोग गठन गर्न ढिलाइ गरिरहेको उनको भनाइ थियो।

ओलीले छानबिन आयोग गठनमा ढिलाइ नगर्न र आयोगलाई नीतिगत सुधारको सिफारिस गर्ने कार्यक्षेत्रमा सीमित नगर्न सरकारसँग आग्रह गरे। छानबिन गर्नका लागि आयोग आवश्यक रहेकाले शक्तिशाली बनाउनुपर्नेमा जोड दिए।

विद्युतीय चुरोटबाट आएका सुनलगयएतका तस्कारीमा सरकारमा बस्नेको नै हात रहेको दाबी ओलीको छ। ६ वर्ष अघिदेखि नागरिकता दिएर तस्कर तयार गरेको तर्क गर्दै उनले सुन कारोबारमा अर्बौँको लगानी गर्ने व्यक्तिलाई पक्राउ गर्न सरकारसँग माग गरे।

प्रधानमन्त्री विदेश जाँदा १७ दिनसम्म संसद् स्थगन हुनुले जनताका आवाज प्रस्तुत हुन नपाएको ओलीको भनाइ छ। आफू सरकारमा हुँदा विप्लव र सीके राउतको समूहलाई वार्तामार्फत नै शान्तिपूर्ण गतिविधिमा ल्याएको भन्दै ओलीले विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका प्रावधानमा शिक्षकका असन्तुष्टिलाई वार्तामार्फत सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए।

त्यस्तै अध्यक्ष ओलीले सहायक रथी यमबहादुर अधिकारीको म्याद थप गरेर वर्तमान सरकारले सेनामा समेत बेथिति सुरु गरेको आरोप लगाए।

ओलीले कार्यकर्तालाई आत्मकेन्द्रित नभई सबल राष्ट्रिय शक्ति निर्माणको लक्ष्यसहित अघि बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन्। नेतृत्वसमेत चयन गर्ने अधिवेशनमा करिब एक हजार दुई सय प्रतिनिधि सहभागी छन्। उद्घाटन समारोहमा नेताहरुले सकेसम्म सहमति र नभए स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न सुझाव दिएका छन्।

प्रकाशित: ८ असोज २०८० १७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast