शिक्षकलाई अझ बढी खुसी बनाउने हो : कांग्रेस महामन्त्री थापा

हिमाल प्रेस ८ असोज २०८० १७:५५
300
SHARES
शिक्षकलाई अझ बढी खुसी बनाउने हो : कांग्रेस महामन्त्री थापा

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकलाई सन्तुष्ट नबनाईकन सार्वजनिक शिक्षा राम्रो नहुने भएकाले पार्टी सधैँ शिक्षकका पक्षमा रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘शिक्षकलाई सन्तुष्ट नबनाईकन सार्वजनिक शिक्षा राम्रो हुँदैन। हालै सरकारले शिक्षकसँग गरेको सम्झौताको हामी सम्मान गर्छौँ।’

उनले संसद्‌मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा धेरै कुरा छुटेका बताउँदै ती सबै विषय समेटेर मात्रै कानुन बनाइने बताए। उनले भने, ‘विधेयकको मस्यौदा सरसर्ती पढ्दा ७० बुँदामा संशोधन आवश्यक देख्छु। सार्वजनिक शिक्षा सुधारका लागि ती संशोधन गर्ने नै हो। हामीले शिक्षकलाई अझ बढी खुसी बनाउने हो।’

महामन्त्री थापाले अब शिक्षक र पार्टीको सम्बन्ध के हो भन्नेबारे पार्टीमा छलफल हुनुपर्ने धारणा अघि सारेका छन्। उनले भने, ‘राजनीतिक दलसम्बन्धी कानुनले स्पष्ट भन्छ, शिक्षक पार्टीको सदस्य बन्न पाउँदैन। निर्वाचनसम्बन्धी कानुनले भन्छ, शिक्षक पार्टीमा आबद्ध हुन पाउँदैन। अदालतले पनि यसबारे पार्टी कार्यालयलाई चिठी काटेको छ। फैसला कार्यान्वयन गर भनेको छ।’ यसरी कानुनले पार्टीलाई ठिक ठाउँमा उभिन भनेको थापाले बताए।

थापाले भने, ‘अब हामी प्रस्ट हुनुपर्छ। शिक्षकहरूले पनि खुला छलफल गर्नुपर्छ।’ महामन्त्री थापाले शिक्षक पार्टीको सदस्य बन्न नपाउने भएकाले पेसामै रहेका बेला राजनीतिमा आउन सम्भव नरहेकाले त्यसबारे छलफल हुनुपर्ने बताएका हुन्।

दलमा आबद्ध भएकै कारण कतिपय शिक्षकहरूलाई अन्याय भएको महामन्त्री थापाले बताए। उनले भने, ‘शिक्षक संघमा आबद्ध हुनुभएका साथीहरूले चलाएका स्कुलहरू यति राम्रा छन्। उहाँहरूले यति राम्रोसँग काम गर्नुभएको छ। तर उहाँहरूले दलको झोले भनेर आरोप खेप्नुपरेको छ।’

शिक्षक, प्राध्यापक, कर्मचारीले पेसा छाडेरमात्र राजनीतिमा आउन सक्ने भएकाले उनीहरूका लागि पार्टीले ढोका खुला राख्नुपर्ने बताए।

उनले भने, ‘पेसा छाडेर राजनीतिमा आउने हो भने हामीले ढोका खुला राख्नुपर्छ। उहाँहरूले पेसामा आर्जन गरेको प्रतिष्ठालाई हामीले पार्टीमा प्रयोग गर्नुपर्छ। राम्रो शिक्षक भएर प्रतिष्ठा आर्जन गरेको मानिसलाई चुनाव नलडाई धेरै छैन अब। त्यस्ता व्यक्तिलाई हामीले नै चुनाव लडिदेऊ भनेर आग्रह गर्नुपर्छ।’

महामन्त्री थापाले अब शिक्षकलाई दलको कार्यकर्ता नबनाएर शिक्षकले शिक्षक भएर आर्जन गरेको प्रतिष्ठालाई पार्टीमा ल्याउनुपर्नेमा जोड दिए। उनले भने, ‘प्राध्यापक, शिक्षक, कर्मचारीलाई पार्टीको सदस्य बन्न नपाउने व्यवस्था भइसकेकाले हामी सोहीअनुसार अघि बढ्नुपर्छ। यसबारे महासमिति बैठकमा पनि छलफल हुनुपर्छ।’

प्रकाशित: ८ असोज २०८० १७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast