काठमाडौँ- पछिल्लो समय नेकपा एकीकृत समाजवादीमा विवाद बढ्दो छ। अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच टकरावका कारण निर्णय कार्यान्वयनमा समेत सकस परेको हो।
समाजवादी निर्माणबाटै नेपाल र खनाल दुवै गुटमा विभाजित थिए। अहिले दुवै नेताबीच सतही रूपमै खटपट आएको छ। नेपालका सबै निर्णयको खनालले विरोध गर्दै आएका छन्। बैठकमा फरक मत राख्नेदेखि नेपालविरुद्ध सार्वजनिक अभिव्यक्तिमै पनि विरोध गर्ने काम खनालबाट भइरहेको छ। पछिल्लो समय नेपालले नेताहरूको कार्यविभाजनसहित जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि ११) कार्यान्वयन नहुने भएको छ।
शनिबार बसेको सचिवालय बैठकले उक्त अपानि रोक्ने निर्णय गरेको हो। सम्मानित नेता झलनाथ खनालले भदौ ५-७ मा बसेको पार्टीको केन्द्रीय समिति बैठकपछि जारी अपानिको कार्यान्वयन रोक्ने निर्णय भएको जानकारी दिए। ‘अस्ति जारी भएको अपानि कार्यन्वयनमा रोक लगाइएको छ त्यो अपानि कार्यान्वयन हुँदैन। अब परिमार्जन गरेर मात्रै कार्यान्वयनमा जाने गरी अर्को अपानि जारी हुन्छ’, नेता खनालले भने, ‘रोक्ने निर्णय भएपछि कार्यान्वयनमा जाने कुरै भएन।’ उनले के–के विषय परिमार्जन हुने भन्नेबारे भने खुलाएनन् ।
अध्यक्ष नेपालले छलफलबिनै अपानि-११ जारी गरेको भन्दै नेताहरूले चर्को असन्तुष्टि जनाउँदै कतिपयले राजीनामा नै दिएका थिए। अध्यक्ष नेपालले २१ जना नेतालाई केन्द्रीय समितिमा मनोनयन र धेरै नेताहरुको कार्यविभाजन गरेको अपानि जारी गरेका थिए। तर उक्त अपानिप्रति सम्मानित नेता खनालले समेत आपत्ति जनाएका थिए।
समाजवादीको महाधिवेशन आउँदो माघमा तोकिएको छ। महाधिवेशनबाट खनाल र नेपाल नै नेतृत्वमा जान चाहन्छन्। यही कारण आफूलाई बलियो देखाउन दुवै नेता एकअर्काको विरोधमा उत्रिएको समाजवादी निकट स्रोतको दाबी छ।