प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यति बेला चीन भ्रमणमा छन्। संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई असोज ४ गते सम्बोधन गरेपछि उनी संयुक्त राज्य अमेरिकाको न्युयोर्कबाट असोज ५ गते जन गणतन्त्र चीन पुगेका हुन्। प्रधानमन्त्री प्रचण्ड चीनको हाङचौ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने र हाङचौमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरी बेइजिङ भ्रमण गर्ने कार्यक्रम छ।
वर्तमान समयमा चीन अमेरिका बीचको तिक्त सम्बन्धबीच अमेरिकाको बाटो भएर चीन नजान आग्रह नेपाली राजनीतिक नेता र कूटनीतिज्ञहरूले नगरेका भने होइनन्। अब यो अमेरिका हुँदै चीन भ्रमण र चिनियाँ राष्ट्रप्रमुख तथा सरकारप्रमुखसँग भेटवार्ता पनि निश्चित भइसकेको अवस्थामा भ्रमणको सफलताको कामना गर्नु उचित ठहरिन्छ। यसबाहेक भ्रमणलाई सफल बनाउने मानक र एजेन्डाहरूलाई प्राथमिकता दिनु नै सर्वोत्तम लाभका विषय हुन्।
नेपालले केकस्ता विषयको उठान गर्ने, कुनकुन क्षेत्रमा के कस्तो सहयोग माग गर्ने यस्ता विषयमा बहस र छलफल पनि भइसकेका छन् भने नेपालका विभिन्न मन्त्रालय र निकायले विभिन्न एजेन्डा तयार गरिसकेका छन्। यसैगरी दुई देशबीच भएका सन्धि, सम्झौता र समझदारीहरुलाई कार्यान्वयनमा जोड दिनुपर्नेछ। साथै केही नवीकरण र साझा हित तथा जितका नयाँ सन्धिसम्झौता पनि हुने नै छन्।
यसरी दुई देशबीच वार्ता टेबलमा विविध सम्झौता हुनेछन् र नेपालले आर्थिक सहयोगका प्याकेज पनि प्राप्त गर्ने नै छ। नेपालका तर्फबाट विविध मागहरू पनि राखिने नै छ। नेपालले चीनसँग विशेषतः गरिबी निवारण, दिगो विकास लक्ष्य प्राप्तिका लागि सहयोग, जलवायु परिवर्तन, विज्ञान तथा प्रविधि, स्वास्थ्य, लगानी, पर्यटन विकास, भौतिक पूर्वाधार, कृषि क्षेत्रको आधुनिकीकरण, कृषि तथा पशुजन्य वस्तुको निर्यातमा सहजीकरण, यी क्षेत्रहरूमा सहयोगको माग गर्नुपर्छ।
यसबाहेक सीमा नाका सञ्चालनलाई प्रभावकारी बनाउने र नेपाली संसद्बाट पारित भएको नेपालको नयाँ चुच्चे नक्सा चीनलाई स्वीकार गराउने पक्षमा पनि लबिङ गरिनुपर्छ।
चीनको गरिबी निवारण र यसका लागि भएका कार्यक्रमलाई नेपालमा के कसरी लागू गर्न सकिन्छ, त्यसतर्फ विशेष माग रहोस्। चिनियाँ उखान र चिनियाँले लागू गरेसरह माछा मार्ने तरिका मात्रै होइन माछापालनको तरिका ल्याउन जरुरी छ।
यस्तै चीनले प्रविधिका क्षेत्रमा लामो फड्कोसँगै विश्वमा अग्रणी भूमिका निर्वाह गर्न थालिसकेको छ। यस क्षेत्रमा पनि सहयोग लिने र हातेमालो गर्न सकियोस्। यद्यपि यसपटकको नेपाली प्रधानमन्त्रीको चीन भ्रमण र नेपालले माग्नुपर्ने आर्थिक सहयोगको सूची नभई चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री प्रचण्डबीच कतिपटक भेटवार्ता भयो र वार्तामा के भए त भन्ने संक्षिप्त जानकारी दिने यो आलेखको उद्देश्य हो।
प्रधानमन्त्रीका रूपमा प्रचण्ड तेस्रोपटक चीन भ्रमणमा आएका हुन्। साथै प्रधानमन्त्रीको हैसियतमा अब तेस्रोपटक चिनियाँ राष्ट्रपति सीसँग भेट गर्दैछन्। हाङचौ भेट दुई नेता बीचको पाँचौँपटकको भेट हुनेछ।
हालसम्म चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच चारपटक भेट भइसकेको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको हैसियतमा अब तेस्रोपटक चिनियाँ राष्ट्रपति सीसँग भेट गर्दैछन् भने सीको प्रचण्डसँगको चारपटकको भेट चीनको राष्ट्रपति भएपछिको हो।
यी दुईबीच पछिल्लो भेट चिनियाँ राष्ट्रपतिका तर्फबाट २३ वर्षपछिको नेपाल भ्रमण क्रममा भएको थियो। सन् २०१९ अक्टुबरमा चिनियाँ राष्ट्रपति सीको नेपालको ऐतिहासिक दुईदिने राजकीय भ्रमण क्रममा नेपाल कम्युनिस्ट पार्टीका नेताका रूपमा प्रचण्ड र सी बीच काठमाडौँमा भेट भएको हो। त्यस समय प्रचण्ड नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्षमध्येका एक थिए।
उक्त भेटमा चिनियाँ राष्ट्रपति सीले प्रचण्डले चीन नेपाल सम्बन्धको विकासमा महत्त्वपूर्ण योगदान दिएको बताएको सिन्ह्वाले लेखेको थियो। ‘तपाईँ नेपालका एक अनुभवी राजनेता हुनुहुन्छ र चिनियाँ जनताको असल मित्र र पुरानो साथी पनि हुनुहुन्छ,’ सीले भनेका थिए।
चिनियाँ राष्ट्रपतिले भनेजस्तै प्रधानमन्त्री प्रचण्डको चीनसँगको सम्बन्ध पुरानो, असल र सदा मित्रवत् देखिन्छ। उनी पहिलोपटक संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्री हुँदा क्रमभंग गर्दै आफ्नो पहिलो विदेश भ्रमण उत्तरी छिमेकी चीनबाट सुरु गरेका थिए।
प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्रीको हैसियतमा पहिलोपटक सन् २००८ मा बेइजिङ ओलम्पिक पारेर आएका थिए। त्यसपर्यन्त आजसम्म पनि प्रधानमन्त्री प्रचण्डको चीनबाट थालेको पहिलो विदेश भ्रमणको बारम्बार चर्चा हुने गरेको पाइन्छ। पहिलोपटक प्रधानमन्त्री हुँदा नै चीनसँग निकट सम्बन्ध गाँस्न चाहेका उनी भित्रबाहिरको दबाब र कटवाल काण्डका कारण सत्ताबाट विस्थापित हुन पुगेका थिए।
प्रधानमन्त्रीको रूपमा प्रचण्डको दोस्रो चीन भ्रमण सन् २०१७ मा भएको थियो। प्रधानमन्त्री प्रचण्ड चीनको हाइनान प्रान्तमा आयोजित बोआओ फोरम फर एसिया सम्मेलनमा सहभागी हुन आएका थिए। सम्मेलन समुद्घाटन समारोहपछि उनी बेइजिङ पुगेका थिए।
पूर्वतयारीबिना र बडो हतारमा न कुनै एजेन्डा न त कुनै सम्झौताको थैली नै बोकेर उनी चीन आइपुगेका थिए। मन्त्री परिषद्मा सो भ्रमणलाई आफैँले स्वीकृत गरेका थिए भने कुनै सम्झौता नहुने पनि उनले बताएका थिए। सो भ्रमणकालमा चिनियाँ प्रधानमन्त्री साथै विदेशमन्त्री बेइजिङमा थिएनन्। जसकारण पनि यस्तो अवस्था सिर्जना भएको मान्न सकिन्छ।
सीसँगको भेटमा नेपालको स्थानीय चुनावका लागि नौ मिलियन युआन सहयोग प्राप्त भएको थियो। यो भेटवार्ता चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्रीका रूपमा प्रचण्डले दोस्रो र समग्रमा तेस्रोपटक भेट गरेका थिए।
चिनियाँ राष्ट्रपति सीसँग प्रचण्डको प्रधानमन्त्रीको हैसियतमा पहिलो र समग्रमा दोस्रोपटकको भेट भारतको गोवामा सम्पन्न ब्रिक्स सम्मेलनमा भएको थियो। प्रचण्ड पुनः प्रधानमन्त्री भएपछिको यो भेटको चर्चा निकै चुलिएको पनि थियो।
पछिल्लो भेट नेपाल भ्रमण क्रममा भए तापनि अघिल्लो दुई भेट त्यति उपलब्धिमूलक भने भएको देखिँदैन। यद्यपि दुई नेताबीचको भेट अर्थपूर्ण नै मान्न सकिन्छ। यसबाहेक प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी बीचको सम्बन्धमा एक आकर्षण भने देखिन्छ। यसको प्रमाण प्रचण्ड र चिनियाँ राष्ट्रपति सी बीचको प्रथम भेट हो।
सन् २०१३ अप्रिलमा नेपालमा दोस्रो संविधानसभा निर्वाचनको तयारी र सत्ता बाहिर रहेको अवस्थामा प्रचण्डले चीनको यात्रा गरेका थिए। वर्तमान समयमा विश्वकै एक दूरदर्शी तथा शक्तिशाली नेताका रूपमा परिचित सी चिनफिङ त्यस बेला चिनियाँ कम्युनिस्ट पार्टी महासचिव र जन गणतन्त्र चीनको राष्ट्रपति बनेका थिए। उनी राष्ट्रपति भएलगत्तै तत्कालीन एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष प्रचण्डलाई निमन्त्रणा गरेका थिए। यसरी प्रचण्डको चीन भ्रमणसँगै दुई नेताबीच पहिलो भेट भएको थियो।
चीनको राष्ट्रपति बनेपछि सीको कुनै दक्षिण एसियाली नेतासँगको त्यो भेट पनि पहिलो थियो। यी दुई नेताबीचको पहिलो भेटले विश्वकै ध्यान आकृष्ट पनि गरेको थियो। विश्वका सञ्चारमाध्यमहरूले भेटलाई महत्त्व दिएका थिए।
भेटमा राष्ट्रपति सीले ‘चीन नेपालसँग छिमेकी मित्रतालाई सुदृढ गर्न र दुई देशबीचको व्यापक सहकार्य साझेदारीलाई अझ अगाडि बढाउन पारस्परिक सहयोगलाई प्रवर्द्धन गर्न तयार छ, जसमा स्थायी मित्रताको विशेषता रहेको छ’ भनेका थिए। सीले चिनियाँ कम्युनिस्ट पार्टीले दुई पक्षबीचको मित्रतालाई थप मजबुत बनाउन नेकपा माओवादी तथा नेपालका अन्य प्रमुख राजनीतिक पार्टीहरूसँगको आदानप्रदान बढाउन चाहेको पनि बताएका थिए।
भेटमा प्रचण्डले नेपाल चीन सम्बन्धलाई उच्च स्तरमा पुर्याउन चीनबाट धेरैभन्दा धेरै आर्थिक तथा प्राविधिक सहयोग र समर्थनको खाँचो रहेको बताउँदै दुई पक्ष बीच पूर्वाधार, जल संरक्षण परियोजना र पर्यटन क्षेत्रमा व्यावहारिक सहकार्य गर्न जोड दिएका थिए।
भेटवार्तालगत्तै प्रचण्डलाई बेइजिङस्थित दूतावासमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको तर्फबाट अन्तर्वार्ता लिने मौका यो पङ्क्तिकारलाई मिलेको थियो।
त्यो भेटपछि यो पङ्क्तिकारले अलौकिक चीन नामको पुस्तकमा प्रचण्डसँग साक्षात्कार शीर्षकमा एउटा लेख सङ्ग्रहीत गरेको छ। सो लेखको केही अंश यहाँ अनुकूल देखिएकोले साभार गरिएको छ।
…यिनै व्यक्तित्वसँग सार्वजनिक भएको करिब आठ वर्षपछि साक्षात्कार गर्ने अवसर मैले पाएको थिएँ, सन् २०१३ मा बेइजिङस्थित चीनका लागि नेपाली दूतावासमा। धर्मपत्नी सीतासँग थिए उनी र मसँग थिए मेरा सीआरआईका चिनियाँ सहकर्मीहरू। तिनीहरू सबै नेपाली माओलाई भेट्न इच्छुक थिए।
हुन त गृहयुद्धको बेला या भूमिगत अवस्थाको जस्तो चार्म त हुने कुरा भएन यसअघि नै शान्ति सम्झौतापछि संविधान सभाको निर्वाचन अनि प्रधानमन्त्री यसरी सार्वजनिक भइनै सकेको हो, थियो। तापनि चीनमा भेट्नपाउनु अनि त्यो पनि प्रश्नसमेत तेर्स्याउने अवसर पाएकोले म भने निकै गद्गद पनि थिएँ। साँच्चै भन्नुपर्दा नेपालमा भएको भए यस्तो क्रेज पनि हुन्न थियो कि या कतै कुनै कार्यक्रममा भेट भए पनि समय लिएर कुरा गर्ने अवसर पनि मिल्दैन थियो, सायद।
विश्वको दोस्रो आर्थिक शक्ति चीनको राष्ट्रपतिको जिम्मेवारी सम्हालेको एक महिना पुगेकै दिन सीले दक्षिण एसियाका पहिलो नेताका रुपमा माओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए।
सन् २०१३ मा सी चिनफिङ चिनियाँ राष्ट्रपति भइसकेपछि दक्षिण एसियाली नेताहरूमा नै पहिलो नेताका रूपमा भेटको अवसर मिलेको भनेर प्रचार पाएको यस भ्रमण क्रममा चिनियाँ राष्ट्रपतिसँगको भेटपछिको सम्बन्धमा जिज्ञासा तथा प्रश्नोत्तर राख्ने अवसर मिलेको थियो। त्यसैबेला धेरैपछि यिनै व्यक्तित्वको अनुहारमा फेरि एकपटक रौनकता देखेको थिएँ। विजय उन्मादको समयमा प्रचण्डको अनुहार निकै नै तेजिलो थियो। देखिन्थ्यो। तर पछिल्लो समयमा या हाल त्यो चमक हराइसकेको छ। तपाईँले पनि अनुभूत गर्नुभएकै होला। तापनि मैले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तापछिको मेरो भेटमा उहाँमा केही रौनक देखेँ। मुहार स्पष्ट रूपमा उत्तेजित थियो। पहिलो दक्षिण एसियाली नेताका रूपमा नवचिनियाँ नेतृत्वको निम्तो पाएकाले साथै आफ्नो नयाँ आर्थिक क्रान्तिको आवाजमा समर्थन पाएर पनि हुनसक्छ। यसै भेटमा प्रचण्डले सीसमक्ष केरूङसम्म पुग्ने रेललाई लुम्बिनीसम्म पुर्याउने प्रस्ताव राखेका थिए। जहाँसम्म लाग्छ यसलाई सर्वप्रथम उठाउने काम प्रचण्डले गरेका हुन्।… (अजय अलौकिकको अलौकिक चीन पुस्तकबाट)
दूरगामी सोच र सशक्त रूपमा आफ्नो विचार राख्नसक्ने चिनियाँ नेताले प्रचण्डलाई यसरी त्यसबेला निम्तो दिनुको अर्थ उनको सम्बोधनमा सदा पाइने छिमेकी मुलुकको विकास र उत्थान तथा चीनको दक्षिण एसियामा प्रवेशका लागि हुनसक्छ। यस्तै अग्रगामी सोचलाई नेतृत्वको क्षमता राख्नसक्ने नेता भएकाले या दुवैको विचारमा एकरूपता या सहमति जुट्न सक्ने सोचेर नै त्यस बखत भेट्न चाहेको हुनुपर्छ।
सोही बेला, यस पङ्क्तिकारसँगको अन्तर्वार्ताको क्रममा प्रचण्डले सीसँगको पहिलो भेटमा चिनियाँ रेल लुम्बिनीसम्म पुर्याउने प्रस्ताव राखेको बताएका थिए। राष्ट्रपति सीले भारतसँगै मिलेर त्रिदेशीय साझेदारीका रूपमा अघि बढ्न सुझाएको पनि उनले सुनाएका थिए।
हुन त तत्कालीन चिनियाँ राष्ट्रपति हु चिनथावो र तत्कालीन प्रधानमन्त्री वन च्यापाउसँगको भेटमा नै नेपालमा रेल लैजानेबारे कुरा उठाएको उनले बताएका थिए। प्रचण्डले भनेका थिए ‘त्यतिबेला यो सपनाजस्तो लाग्थ्यो। तर अबचाहिँ यो सपना रहेन, विपना र यथार्थ भइसकेको छ। छिट्टै केरुङ–काठमाडौँ रेलमार्गकालागि ठोस कार्यक्रम बन्दैछ।’
तर सी र प्रचण्ड बीचको चौथो भेटसम्ममा यी सुनाएका बताएका कुरा अगाडि बढ्न सकेको छैन। यसपटकको पाँचौँ भेटमा अवश्य पनि ब्रेकथ्रुको अपेक्षा गर्न सकिन्छ। नेपालबाट एमसीसी अनुमोदनपछि त्यसमाथि प्रधानमन्त्रीको अमेरिकाको बाटो भएर भएको चीन भ्रमण सफल हुनेमा शंका गर्ने ठाउँ पनि छ। यी दुई शीर्षस्थ नेताको भेटले दुई पक्षीय विश्वासलाई भर दिनेछ। कोभिड–१९ र भूराजनीतिक उथलपुथल तथा सङ्कट र समस्या बीच यो भेट दुई नेता र दुवै मुलुकलाई अर्थपूर्ण रहनेछ।
भूपरिवेष्टितबाट भूजडित मुलुक बनेको नेपालसमक्ष नेपाल, भारत र चीन बीच त्रिदेशीय सम्बन्धको विकासको ढोका खोल्ने सम्भावना पनि नकार्न सकिन्न। हिमाल, पहाड, नदी नालाले जोडेको नेपाल चीन बीचको प्रागैतिहासिक कालदेखिको मित्रता र सम्बन्धलाई प्रधानमन्त्री प्रचण्डको यो भ्रमण र भेटले अझै प्रगाढ, थप सौहार्दपूर्ण र सुमधुर बनाउन सफल हुने र ठोस उपलब्धि हासिल गर्ने आशा गर्न सकिन्छ।