आन्दोलन र वार्ता सँगसँगै अघि बढाउँदै शिक्षक महासंघ

हिमाल प्रेस ५ असोज २०८० ६:४९
12
SHARES
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउँदै शिक्षक महासंघ

काठमाडौँ-  विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा राजधानी केन्द्रित सडक आन्दोलनमा सहभागी शिक्षकहरूले वार्ता र विरोधका कार्यक्रम सँगसँगै अघि बढाउने भएका छन्। नेपाल शिक्षक महासंघको अगुवाइमा शुक्रबार पनि माइतीघरमा विरोध प्रदर्शनका कार्यक्रम जारी रहने महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए। साथै उनले वार्ताको तयारीका लागि अनौपचारिक छलफल जारी रहेको बताए।

उनले भने, ‘सरकारले वार्ताका लागि औपचारिक रूपमा पत्र पठाएपछि हामी वार्तामा बस्नेछौँ। अहिले हामी आन्तरिक तयारीमा छौँ।’ विधेयकमा आफूहरूको माग नसमेटिएपछि शिक्षकहरू विद्यालय बन्द गरेर  बुधबारदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी छन्।

सरकारले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गर्ने तयारी गरेको छ।

महासंघ टोली र सरकारबीच बिहीबार वार्ता भएको थियो। बिहीबार भएको वार्तालाई महासंघले अनौपचारिक भनेको छ। वार्तामा सरकारका तर्फबाट उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा. प्रकाशशरण महत, शिक्षा विज्ञान प्रविधिमन्त्री अशोककुमार राई, कानुनमन्त्री धनराज गुरुङ र सम्बद्ध मन्त्रालयका सचिवहरू सहभागी थिए।

कानुनमन्त्री गुरुङले बिहीबार साँझ सिंहदरबारमा भएको छलफल सकारात्मक भएको  बताएका थिए। ‘कुरा सकारात्मक छ,’ उनले भने, ‘बिहान भएको कुरामा थप बुँदागत रूपमा छलफल भयो। वार्ता शुक्रबार फेरि हुनेछ।’

सरकारी टोली गठन भएर औपचारिक पत्र आएपछि महासंघले पनि वार्ता टोली गठन गरिने महासंघमा आबद्ध एक घटक नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष सोमनाथ गिरीले जानकारी दिए। ‘सरकारका तर्फबाट उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा टोली गठन गर्ने र सोही टोलीले हामी (शिक्षक महासंघ)लाई पत्र लेख्नेछ। ’  गिरीका अनुसार सरकारी टोलीको पत्र पाएपछि महासंघले पनि टोली गठन गर्नेछ। सुवेदीले भने, ‘वार्ता निष्कर्षमा नपुगुन्जेल आन्दोलन जारी रहनेछ।’

प्रकाशित: ५ असोज २०८० ६:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 9 =